व्यवसायी मारमा : रोकिएन कुखुरा र माछाको तस्करी

कुखुरा र माछाको तस्करी

राँझा:

भारतबाट अवैध रुपमा कुखुरा र माछाको तस्करी हुँदा बाँकेका व्यवसायी मारमा परेका छन्। नेपाल–भारत सीमाको मुख्य नाका जमुनाहहुँदै भारतबाट खुलेआम कुखुरा, अण्डा र माछा तस्करी हुँदै आएको छ ।

नेपाली बजारको तुलनामा भारतमा कुखुरा, अण्डा र माछाको मूल्य कम भएकाले नाफा कमाउन तस्करी हुँदै आएको कुखुरा व्यवसायी सङ्घका जिल्ला अध्यक्ष लालबहादुर खत्रीले बताए। व्यापारीले चोरीको बाटो प्रयोग गर्दै तस्करी गर्ने गरेका छन् ।

नेपालगञ्ज, खजुरा तथा कोहलपुरमा भारतबाट तस्करी गरी ल्याइएको कुखुरा र माछा बिक्रीवितरण भइरहेको छ। जानकी गाउँपालिका–१, साइगाउँ र खजुरा गाउँपालिका–१, राधापुर क्षेत्रबाट ठूलो परिमाणमा कुखुरा, चल्ला र माछा तस्करी हुनेगरेको पाइएको छ ।

यसरी तस्करी गरिएको कुुखुरा र माछालाई नेपाली उत्पादन भन्दै बिक्री भइरहेको खजुरा गाउँपालिका–२, सीतापुरका कुखुरा व्यवसायी लक्ष्मीबहादुर थापाले बताए। ग्रामीण क्षेत्रका नाका प्रयोग गरी दैनिक रुपमा ठूलो मात्रामा भारतीय कुखुरा र माछा नेपाल ल्याउन नरोकिएपछि आफ्नो व्यवसाय धरापमा परेको उनको भनाइ छ ।

बाँके र बर्दियाका विभिन्न नाकाबाट नेपाली र भारतीय सुरक्षाकर्मीसँगको मिलेमतोमा तस्करी हुने गरेकाले नेपाली किसान समस्यामा परेका छन्। भारतमा बेलाबखत फैलिने बर्डफ्लुलगायत पक्षीजन्य रोग नेपाल भित्रिने जोखिम भएका कारण सरकारले भारतीय कुखुरा, अण्डा र चल्ला आयातमा प्रतिबन्ध लगाएको छ ।

नेपालगञ्जस्थित पशु क्वारेन्टाइन कार्यालयका सूचना अधिकारी इन्दु रेग्मीले भारतीय माछा मासु तथा पक्षीजन्य वस्तु आयात रोक्न आफूहरु क्रियाशील रहेको बताइन्। सम्भावित चोरी निकासी हुने ग्रामीण क्षेत्रमा समेत पुगेर सुरक्षाकर्मीको सहयोगमा दैनिकजसो गस्ती गर्ने गरेको उनको दाबी छ ।

पशु क्वारेन्टाइनले आर्थिक वर्ष २०७८-८९ को साउनदेखि हालसम्म अवैध रुपमा ल्याइएको २२२ किलो तयारी माछा, तीन हजार माछाका भुरा, २७० ब्रोइलर कुखुरा, आठ हजार ७९१ कुखुराका चल्ला र कुखुराको मासु १५० किलो नष्ट गरिएको रेग्मीले बताइन् ।

भारतीय ब्रोइलर कुखुरा, चल्ला, मासु र माछा भित्र्याउनेलाई कारवाही गर्ने क्रममा कार्यालयले चालु आर्थिक वर्षको हालसम्ममा रु पाँच लाख ६१ हजार राजस्व सङ्कलन गरेको छ । रासस

0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments