मुस्ताङमा स्याउ टिप्ने चटारो:देखियो रोग किराको प्रकोप,खरिद गर्न पीसीआर रिपोर्ट अनिवार्य

मुस्ताङमा स्याउ टिप्ने चटारो

म्याग्दी : रसिला स्याउ फल्ने गतिलो ठाउँ हो मुस्ताङ । हिमालपारिको जिल्ला भनेर चिनिने मुस्ताङमा यतिबेला स्याउ टिप्ने चटारो सुरु भएको छ ।

मुस्ताङको मार्फा, टुकुचे, कागबेनी, मुक्तिनाथ, झोङ, छुसाङ, चैले लगाएतका ठाउँका स्याउ बगैंचामा लटरम्मै स्याउ फलेको छ । स्याउको राजधानी समेत भनिने मार्फा र टुकुचेका बगैंचाहरु स्याउले राताम्यै भएका छन् ।

पाँच वटा गाउँपालिका रहेको मुस्ताङको विभिन्न ठाउँमा लगाइएको स्याउ पाकेपछि किसानहरूले स्याउ टिप्ने र बजार पठाउने तयारी सुरु गरेका हुन् ।

मुस्ताङमा हिजो असोज १ गतेदेखि स्याउ टिप्न सुरु गरिएको स्थानीय कृषकहरुले बताएका छन् । विगतका वर्षहरुमा तीज अघि नै स्याउ टिप्ने गरिएकोमा गुणस्तर कम भएको गुनासो आए पछि यस वर्ष बोटमा नै राम्रासंग पकाएर असोज लागेपछि मात्र टिप्न सुरु गरएको मार्फाका स्याउ किसान दीपक लालचनले जानकारी दिनुभयो ।

अहिले स्याउ खरिद गर्नका लागि स्थानीय व्यापारीसहित बाहिरी जिल्लाका व्यापारीहरू स्याउ बगैँचामा पुगेको किसानहरूले बताएका छन् । मुस्ताङका किसानले फलाएका स्याउ खरिद गर्न व्यापारीहरूले स्याउको बगैँचा नै ठेक्कामा लिन्छन् । धादिङ, काठमाण्डौलगायतका ठाउँबाट व्यापारीहरू स्याउ खरिद गर्न मुस्ताङ पुगेका हुन् ।

मुस्ताङको स्याउ खरिद गर्न छिमेकी जिल्ला म्याग्दीसहित पोखरा, चिवतनलगायत ठाउँबाट पनि व्यापारीहरू पुग्ने गरेका प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन इकाइ मुस्ताङका कृषि अधिकृत शिवा अर्यालले बताउनुभयो । उहाँका अनुसार अहिले स्याउ खरिद गर्न पुगेका व्यापारी र कामदारले स्याउको बगैँचा कुरेर बसिरहेका छन् ।

स्याउमा देखियो रोग किराको प्रकोप

बगौंचामा लटरम्म फलेका स्याउमा ‘स्केल’ जातको रोग, किराको प्रकोप देखिएको छ । रोग र किराको प्रकोपका कारण यस वर्ष गएको वर्षको तुलनामा स्याउ उत्पादनका कमी आउने अनुमान गरिएको छ ।
जलवायु परिवर्तनका कारण वातावरणमा परेको असरले स्याउमा रोग किराको प्रकोप देखिएको र सोही कारण उत्पादनमा कमी आउने कृषि अधिकृत अर्यालले बताउनुभयो ।

स्याउ खरिद गर्न पीसीआर रिपोर्ट अनिवार्य
मुस्ताङमा यस वर्ष स्याउ टिप्न, खरिद गर्न र मुस्ताङ भ्रमणका लागि कोरोना परीक्षणको पीसीआर गरेको ७२ घण्टाको रिपोर्ट वा एन्टिजेन परीक्षणको रिपोर्टसहित कोरोनाविरुद्ध लगाएको खोप–कार्ड लिएर आउन अनिवार्य गरिएको छ । पीसीआर रिपोर्ट नेगेटिभ भएका र खोप कार्ड लिएर आएकाहरुलाई मात्र प्रवेश अनुमति दिइएको प्रमुख जिल्ला अधिकारी श्रीनाथ पौडेलले बताउनुभयो ।

मुस्ताङमा १२ सयभन्दा बढी हेक्टरमा व्यावसायिक रूपमा स्याउ खेती गरिएको छ भने वार्षिक झन्डै ६ हजार मेट्रिक टन स्याउ उत्पादन हुँदै आएको छ । मुस्ताङमा गोल्डेन, रोयल र रेड डेलिसियस, रिचारेड तथा फुजी डेलिसियस जातका स्याउको उत्पादन हुँदै आएको छ ।

केही समयदेखि उच्च घनत्वको इटालियन जातको स्याउसमेत लगाइएको छ । मुस्ताङमा उत्पादित स्याउ म्याग्दीको सदरमुकाम बेनीबजार हुँदै बागलुङ, कुस्मा, पोखरा, काठमाण्डौ, नारायणगढ, बुटवल र भैरहवासहित नेपाली र विदेशी बजारमा पुग्ने गरेको छ ।

समुद्री सतहदेखि चार हजार मिटरभन्दा माथिको उचाइसम्म स्याउ खेती हुने गरेको छ भने राम्रो व्यवस्थापन गर्न सकेमा एउटै बोटबाट तीन क्विन्टलसम्म स्याउ उत्पादन गर्न सकिन्छ । किसानहरूले स्याउबाट जुस, ब्रान्डी, जाम, चिप्स, सुकुटी, क्यान्डी, स्लाइडर जस्ता चिज बनाएर बिक्री गर्ने गरेका छन् । – इमेजखबर

0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?