बाढीका कारण दर्जनौँ स्थानमा क्षति

बाढीपहिरो

बाजुरा: सोमबार रातिदेखि परेको अविरल वर्षाका कारण आएको बाढीले बाजुराका दर्जनौँ स्थानमा अन्नबालीदेखि भौतिक संरचनामा क्षति पुर्याएको छ। रातभर परेको मुसलधारे वर्षाका कारण बूढीनन्दा र बूढीगङ्गा नगरपालिका तथा जगन्नाथ र खप्तड छेडेदह गाउँपालिका क्षेत्रमा बढी क्षति पुगेको छ ।

बाढीका कारण खप्तड छेडेदह गाउँपालिका–६ र ७ मा विद्युत्, नहर र अन्नबालीमा क्षति पुगेको छ। आटीचौरको सुर्का बजारमा दुईवटा पसलसमेत बाढीले बगाएर क्षति पुर्याएको छ। बाढीले सुर्खा बजारमा धनबहादुर खड्का र खगेन्द्र खड्काको पसलमा पूर्ण क्षति पुगेको छ ।

यस्तै, चाम्डेबगर लघुजलविद्युत् आयोजनाको विद्यत्को नहर बगाएर क्षति पुगेपछि विद्युत् सेवा अवरुद्ध बनेको छ। सेवा अवरुद्ध बनेपछि सिङ्गो गाउँ नै अँध्यरोमा बस्न बाध्य भएका छन्। यस्तै, सोही गाउँपालिका–६ मैतोलामा बस्ने हेमन्तनाथ, मनेनाथ, चन्द्रनाथलगायत स्थानीयवासीका खेतबारी र अन्नबाली सबै बगाएर क्षति पुर्याएको छ ।

वर्षाका कारण सोही वडाका भरत गुयाल, अङ्गेनाथसहितका घरसमेत उच्च जोखिममा रहेको स्थानीयवासीसमेत रहेका व्यापारी मनवीरनाथले जानकारी दिए। अधिकांश बस्तीमा बाढी पसेको र घरका आँगनसमेत पहिरो लागेर चिराचिरा परेका छन् ।

यस्तै, वर्षाले जगन्नाथ गाउँपालिकाका विभिन्न ठाउँमा पहिरो जाँदा हिँड्ने बाटाहरुसमेत भत्किएका छन्। जगन्नाथ गाउँपालिका–१ स्थित भवानी आधारभूत विद्यालयसम्म जाने गोरेटोबाटो भत्किएपछि बालबालिकालाई विद्यालय जान समस्या भएको त्यहाँका स्थानीयवासीले बताएका छन्। दिनमा चर्किलो घाम लाग्ने र रातिमा ठूलो पानी पर्ने गरेका कारण बाजुराका सयौँ बस्ती बाढीपहिराको उच्च जोखिममा छन् ।

साउन भदौमा वर्षाका कारण खासै समस्या नभएपनि विगत केही दिनदेखिको निरन्तर वर्षाले धानबाली भित्र्याउन समेत समस्या भएको किसान डबल रोकायाको भनाइ छ। नजिकै दसैँ आइरहेको छ, विगत चार महिनादेखि साँफे मार्तडी सडक र विभिन्न स्थानीय सडकमा यातायतातका साधनहरु सञ्चालन हुन सकेको छैन् ।

यातायातको साधन सञ्चालन नहुँदा दैनिक उपभोग्य वस्तुको ढुवानी हुन नसकेर ती सामानको मूल्य आकासिएको स्थानीयवासीको भनाइ छ। सोमबारदेखि सडक खुलाउन पहल भए पनि लगातार पानी परेका कारण समस्या भएको सडक डिभिजन कार्यालय अछामले जनाएको छ । रासस

0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?