दसैँ, तिहार मनाउन बेँसी झर्न थाले भेडी गोठ

भेडी गोठ

रुकुमपूर्व:

गत वैशाख महिनामा बुकी पाटन उक्लेका भेडी गोठ अहिले बेँसी झार्न थालिएको छ। रुकुमपूर्वको पुथाउत्तरगङ्गा गाउँपालिकामा फिरन्ते जीवनशैलीका भेडी गोठालाले धमाधम गोठ बेँसीतीर झार्न थालेपछि मानिस सँगसँगै बस्तुभाउको चहलपहल गाउँमा पनि बढ्न थालेको छ ।

हिन्दू धर्मावलम्बीका पर्व दसैँ, तिहार नजिकिएसँगै पाटनबाट भेडी बथान गोठालासहित बेँसी झर्नेक्रम सुरु भएको हो। गएको वैशाखमा बुकी पाटनमा उक्लिएका भेडी बथान र जेठको महिनामा उक्लिएका गाईको बथान गाउँमा झर्नेक्रम चलिरहेको पुथाउत्तरगङ्गा गाउँपालिका–१० का विकास बुढामगरले बताए ।

बेँसी अर्थात् गाउँघरमा घाँसपात र चरन क्षेत्रको अभाव भएपछि हरेक वर्षमा पुथाउत्तरगङ्गा गाउँपलिकाका सबै कृषक आफूले पालेका बस्तुभाउसहित वैशाखमा बुकी पाटनमा उक्लने गरेका छन्। अब चिसो मौसम सुरु हुन थालेसँगै बुकी पाटनबाट गोठाला भेडाबाख्रा र गाईको बथानसहित बेँसी झर्न सुरु गरेको बुढाले बताए ।

तकसेराकै अर्का भेडी गोठाला जोडे बुढाका अनुसार वैशाखदेखि असोजसम्मको करिब ६ महिने अवधि पाटनमा गएका गोठालाले गोठ र त्रिपालमुनि भेडाबाख्रासँगै बिताउने गर्छन्। सुरक्षाका लागि कुकुर साथमा राख्ने गरेका उनीहरुले खाद्यान्नसहित त्यहाँ जाने गर्छन्। उनीहरुले भेडालाई नै खाद्यान्न बोकाएर लगेका हुन्छन्। उनीहरु बुकीमा दुइ÷दुई महिनाको अवधिमा ठाउँ फेर्दै हिँड्ने गरेको बुढाले बताए ।

पुथाउत्तरगङ्गा गाउँपालिकाका कृषकले माथिल्लो क्षेत्र भिरकोटी, चौँरी, रेबाङ, नरसिङ, पुपाल, रानीखर्क, देउरालीलगायत पाटनमा भेडाबाख्रा र गाईको बथानसँग छ महिना बिताउने गरेको पुथाउत्तरगङ्गाका सुवा बुढामगरले बताए। पशुपालनको राम्रो सम्भावना भएको पुथाउत्तरगङ्गाका अधिकांश कृषकले भेडा र गाई पालेका छन्। कतिपयले बाख्रा पनि पाल्ने गरेका छन् ।

पुथाउत्तरगङ्गा हिमाली क्षेत्र भएकाले पनि बाह्रै महिना एकै ठाउँमा बसेर व्यावसायिक पशुपालन (भेडापालन) गर्न भने सकिँदैन। चिसो मौसम सुरु हुन थालेसँगै बेसी झारिएका तीनै भेडी बथानलाई अबको एक महिनापछि तातो ठाउँ खोज्दै रुकुम (पश्चिम), रोल्पा, सल्यान, सुर्खेत, दाङलगायतका क्षेत्रमा झार्ने बुढाले बताए ।

उनका अनुसार तातो ठाउँ खोज्दै यी ठाउँमा पुगेका गोठालाले चैतको अन्तिम साता पुनः भेडी बथानलाई गाउँ फर्काउने गर्छन्। पुथाउत्तरगङ्गाका अधिकांश मानिसले घरमा ५०-६० देखि ५००-६०० सम्म भेडाबाख्रा पाल्ने गरेका छन् । रासस

0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?