जङ्गली हात्तीको बथानले धानबालीमा नोक्सनी

हात्तीले धानबाली नष्ट

कञ्चनपुर: जङ्गली हात्तीका बथानले गएराति शुक्लाफाँटा नगरपालिका–२ गुल्लरपट्टिका किसानको धानबालीमा नोक्सनी पुर्याएको छ । खेतबाट काटेर घरमै कुन्यू बनाएर राखेको धानबाली हात्तीको बथानले खाएर नोक्सानी गरेको हो ।

चुरे क्षेत्रबाट बस्तीमा छिरेको हात्तीका बथानले धानबालीमा नोक्सनी पुर्याएकाले किसान मर्कामा परेका छन् । “दश कठ्ठा जग्गामा लगाइएको धानबाली काटेर घरमै थ्रेसिङ गर्न ल्याएका थियौं” स्थानीय किसान राजकुमार चौधरीले भने, “हात्तीका बथानले पूरै धानका बाला खाएको छ । निकै नोक्सानी भयो ।”

उनका अनुसार खेतमा उत्पादन भएको धानले पूरै परिवारका लागि वर्षभर खान पुग्दथ्यो । हात्तीले सबै खाएकाले धान खरिद गरेर परिवार पाल्नुपर्ने भएको छ । छ देखि नौको संख्यामा रहेको हात्तीका बथानले पाँच परिवारको झण्डै डेढ विघा जग्गाको धानबाली खाएर नोक्सानी पुर्याएको छ ।

यसैगरी हात्तीका बथानले वडा नं ११ का हिरा सिंह घटाल, दानबहादुर ऐर, कौशिला जोशीको धानबालीसंगै मनोज बिष्टको केरा बारीमा नोक्सानी पुर्याएको छ । सिद्धभीम आर्दश आधारभूत विद्यालयको घेरवारका साथै वडा नं ३ का किसानले लगाएको तरकारी बालीमा समेत हात्तीको बथानले नोक्सानी गरेको वडा अध्यक्ष नरेन्द्रप्रसाद चौधरीले बताए ।

“तरकारी बालीमा हात्तीको बथानले नोक्सानी गरेको खबर गरेका छन” उनले भने, “अनुगमन गर्नका लागि जाँदै छौँ । के कति क्षति भयो अनुगमन पछि थाहा हुन्छ ।”

धान खाए पछि हात्तीको बथान नजिकैको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जतर्फ लागेको स्थानीय बासिन्दाको भनाइ छ । रासस

0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments