नमूना कृषि फार्म : कोरियाबाट फर्केर बहुउद्देश्यीय कृषि फार्म सञ्चालन

गलकोट :

विसं २०४२ मा पर्वतको मल्लाजबाट बागलुङ बजार बसाइँ सर्नुभएका ४८ वर्षीय वीरेन्द्रकुमार पुन रोजगारीका लागि कोरिया जानुभयो । केही वर्ष कोरिया बिताएर नेपाल फिरे पनि पुनः २०६० सालमा कोरिया नै जानुभयो । त्यसपछि श्रीमती सादगी केसी थापाले बागलुङ बजारमा फेन्सी पसल सञ्चालन गर्नुभयो ।

तेह्र वर्षको कोरिया बसाइ सकेर बागलुङ बजार फर्कनुभएका पुन र उहाँकी श्रीमती अहिले बागलुङका काठेखोला गाउँपालिका–५ स्थित बिरौटा गाउँमा बस्नुहुन्छ । बजारको सुखसयलमा बिताएका दिनहरु बिस्तारै गाउँले जीवनमा घुलमिल हुँदै हुनुहुन्छ । एकान्त गाउँमा जम्मा पाँच घर रहेको बिरौटाका मानिसहरु बिस्तारै बसाइँसराइ गरेका कारण घरहरु रित्ता जस्ता देखिन्छन् ।

कोरियामा परिश्रम गरेको बानीले वीरेन्द्रलाई सहरको कोलाहल खासै मन परेन । फलस्वरुप डेढ वर्ष काठमाडौँको फर्पिङमा बिताउनुभयो । कोरियामा कम्पनीमा काम गरे पनि कृषिलाई नजिकबाट नियाँल्नु भएका वीरेन्द्रले नेपालमा कृषिको राम्रो सम्भावना देख्नुभयो । फार्म विकास गर्ने योजना कोरियामा रहँदा बनाउनु भएको भने थिएन । फर्पिङमा साथीहरुसँग मिलेर कृषि पेसाका लागि टनेल जस्ता फार्मका लागि आवश्यक काम गरेर बिताएपछि उहाँलाई गाउँ गएर नमूना कृषि फार्म स्थापना गर्न सकिन्छ भन्ने मनमा लाग्यो ।

उहाँलाई लाग्यो अब यो सहरको कोलाहलभन्दा केही टाढा एकान्त गाउँमा जाने योजना बनाउनुभयो । उहाँले २०७६ सालदेखि जग्गा खोज्दै भौँतारिनुभयो । अन्ततः काठेखोला गाउँपालिकाको एक समथर भूभाग रहेको बिहुँ बिरौटामा राजु खड्कासँग मिलेर ७० रोपनी जग्गा खरिद गर्नुभयो । निकै शान्त वातावरणमा कृषि कर्म गर्ने उद्देश्यले राजु खड्कासँग मिलेर पुनले जग्गा खरिद गरी बागलुङ कालिका कृषि तथा पशुपक्षी फार्म स्थापना गर्नुभएको छ ।

एक वर्षदेखि बिरौटाान पुन बस्दै आउनुभएको छ । “एकान्तमा बसेर कृषि कर्म गर्ने रहर लाग्यो, कृषिका केही अनुभव र फार्म विकासको कोरियामा देखेको नमूना सदुपयोग गर्ने भनेर एक वर्षदेखि यहाँ आएर बसेको छु,” उहाँले भन्नुभयो “कृषि र पशुपालन गर्ने उद्देश्य छ, अहिले बाख्रा, कुखुरा र हाँसबाट फार्मको सुरुआत भएको छ, अहिलेसम्म जग्गासहित एक करोड लगानी पुगिसकेको छ ।” पुनका अनुसार फार्ममा अहिले भौतिक पूर्वाधारको कामसमेत धमाधम चलिरहेको छ । फार्म तारबार गर्ने, सडकको पहुँच निर्माण गर्ने लगायतका काम भइरहेको छ ।

सहरमा बस्दै आउनुभएको श्रीमती केसीले गाउँमा बस्दा निकै आनन्द लागेको सुनाउँदै अब सहरमा भन्दा गाउँमै बस्ने बताउनुभयो । “फेन्सी पसलसमेत धेरै समय सञ्चालन गरे, अहिले फार्ममा बस्दै आएका छौँ, यहाँ अर्कै आनन्द मिल्दोरहेछ,” उहाँले भन्नुभयो, “चाडबाडको समयमा बजारमा आफन्तसमेत भएकाले उतै जाने हो, अघिपछि यही बस्ने र सके कृषिमा पसिना बगाउने योजना छ ।”

उहाँ त्यही जग्गाभित्र रहेको एक खाली घरमा बस्दै आउनुभएको छ । उहाँहरु बस्न थालेपछि बसाइँसराइले खाली भएको अर्को घरमा समेत अलँैची खेती गर्ने गरी किसान आएर बसेका छन् । २०० बाख्रा क्षमताको फार्म निर्माण भइसकेको छ । अहिले स्थानीय जातका १६ बाख्रा फार्ममा छन् । स्थानीय जातका ५० कुखुरा, अमेरिकन हाँस ५० रहेका छन् । टनेलमा तरकारी रहेको छ । केही रोपनी खेतमा धान फलिरहेको छ भने केही खरबारी छ । बाख्रापालनका लागि उहाँहरुले खरबारीसमेत खरिद गर्नुभएको छ ।

“एउटा नमूना फार्मका रुपमा विस्तार गर्ने उद्देश्य छ, फार्ममा दूधदेखि मासु उत्पादनमा सबै पशुपालन गर्ने, तरकारीमा मौसमी र बेमौसमी सबै प्रकारका,” उहाँले भन्नुभयो, “गाउँमा आनन्दले बस्दै जाने कमाई भएको रकमले फार्मलाई बढाउँदै लैजाने, पछि ७० रोपनी जग्गालाई नै फार्मका रुपमा विकास गरिने योजना छ, कति सकिन्छ ।” जस्तैः बाख्राका लागि चाहिने अन्न तथा घाँस त्यही उत्पादन गर्ने, कुखुरालाई दाना अन्नबाटै निर्माण गर्ने लगायतका योजना रहेको छ ।

वीरेन्द्रले अघि सारेको योजनामा हातमा हात मिलाएको खड्काले बताउनुभयो । उहाँले कोरानापछि कृषिमा केही गर्ने सोच पलाएको र दीर्घकालीन योजनासहित गाउँपालिकाको एउटा कुनोमा घर जग्गा खरिद गरेको बताउनुभयो । खड्काले बागलुङ नगरपालिका–१३ कालाखोला बगरमा समेत नौ रोपनी जग्गामा कृषि कार्य थाल्नुभएको छ । कोरोनाअघि उक्त जग्गा बाँझै रहेको भए पनि कोरोनापछि त्यहाँ धान र तरकारी खेती गर्नुभएको छ । खड्काले उक्त जग्गामा कफी खेती गर्ने योजनासमेत बनाएको बताउनुभयो ।-रासस

0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?