व्यावसायिक फूलखेती :तिहार नजिकिएसँगै माला उन्न वनमाला टोलका बासिन्दालाई भ्याइनभ्याइ

भक्तपुर: तिहार नजिकिँदै छ । बारीभरि ढकमक्क फुलेका सयपत्रीदेखि राताम्मे देखिने मखमली फूल पनि बिक्री गरेर सिध्याउनु छ । चाँगुनारायण नगरपालिका–९ ताथलीका वनमाला टोलका बासिन्दालाई यतिखेर भ्याइनभ्याइ भएको छ ।

बारीभरि लगाएको मखमली फूल टिपेर दिउँसो र साँझ माला उन्दै बस्छन्, यहाँका वनमाला । विगतमा वनमालाले मात्रै व्यावसायिक फूलखेती गर्दै आएपनि यसबाट राम्रो आम्दानी हुने भएपछि पछिल्ला केही वर्षदेखि वनमाला बाहेकका अरु जातजातिले पनि फूलखेती गर्न थालेका छन् । वर्षौदेखि पुख्र्यौली पेसाको रुपमा फूलखेती गर्दैआएका स्थानीयवासी श्याम वनमालाले फूलखेतीबाट चित्त बुझ्दो कमाइ हुने बताउँछन् ।

धेरैवर्ष यहाँ वनमालाले मात्रै फूलखेती गर्ने गरेको भए पनि अहिले धेरैले फूलखेती गर्न थालेकाले वनमालाको आम्दानीलाई असर नपरेको उनी बताउँछन् । पुख्र्यौली पेसाकै रुपमा फूलखेती गर्दै आएकी पार्वती वनमाला आफ्ना बाजे ससुराको पालादेखिनै फूलखेती गर्दै आएको थाहा पाएको बताउँछन् । कतिपय वनमालाले फूलखेती छाडे पनि धेरैले भने गरिरहेको बताउदै उनले १५ वर्ष अगाडिसम्म यहाँ वनमालाले मात्रै फूलखेती गर्ने भएकाले फूल र माला खोज्न वनमालाको घरमा टाढाटाढादेखि आउने गरेको बताउँछन् ।

विगत १० वर्षदेखि मखमली फूलको खेती गर्दै आएका स्थानीयवासी शोभा बालाले यहाँ दुईआना जग्गामा फूलखेती गर्नेले पनि एक सिजनमा ३० हजार कमाउने गरेको बताउँछिन् । राम्रोसँग फूलखेती गर्न सके एक रोपनी जग्गामा ७० हजारदेखि रु एक लाखसम्म आम्दानी गर्न सकिने उनी बताउँछिन् ।

भारतबाट आयात हुने फूल र माला रोकेर सरकारले नेपालकै मात्र फूल बिक्री गर्ने नीति बनाए यहाँ अहिलेको भन्दा दोब्बर आम्दानी हुने र धेरै किसानले विदेशिनु नपर्ने उनको तर्क छ । रोजगारीका लागि मलेसिया गएका श्रीमान्लाई नेपाल फर्काएर विगत चारवर्षदेखि श्रीमान्ले पनि फूलखेतीमै साथ दिएपछि विदेशमा भन्दा राम्रो कमाइ भएको उनी बताउँछिन्।

स्थानीयवासी सन्तमाया बालाले पनि यसवर्ष रु ८२ हजारको माला उत्पादन गरेकी छन् । उनले भनिन्, “घरघरमै फूलको माला लिन आउनेलाई ४२ हजारको माला बेचियो, अझै ४५ हजार जतिको माला तयार छ, केही दिनमै बिक्री हुन्छ ।” मखमली फूलको खेती गर्ने जग्गामा मकै र भटमाससमेत उत्पादन गर्न सकिने भएपछि किसानले एउटै सिजनमा एउटै जग्गाबाट दोहोरो आम्दानी हुनेभएकाले यसतर्फ आकर्षण बढेको हो ।

बाला गाउँकै दीलमाया बालाले आधा रोपनी जग्गामा गरेको मखमली फूलबाट रु ४० हजार आम्दानी गरेको बताइन्। किसानले बजारमा आफैले माला लैजाँदा एउटा मालाको ४० देखि १०० रुपैयासम्म बिक्री गर्न सक्छन् भने गाउँमै लिन आउने व्यापारीले भने एउटा मालाको रु २५ देखि ३५ रुपैयासम्म दिने गरेका छन् ।

नजिकिँदै गरेको तिहारका लागि आवश्यकपर्ने मखमली फूलको माला गाँस्न र बजारमा लैजान व्यस्त स्थानीय बासिन्दा मखमली फूलबाटै मनग्ये आम्दामी गर्न थालेका हुन् । पाँच वर्ष कतारमा र सात वर्ष मलेसिया बसेर स्वदेश फर्किएका स्थानीय युवा अहिले विदेशिन छाडेर फूलखेतीमै रमाउन थालेको शोभा बताउँछिन्।

फूलखेतीमा रोग लाग्न थालेपछि भने किसानले फूलमा औषधि राख्न थालेका छन् । एक रोपनी जग्गामा फूलखेती गर्दा करिब २५ हजार खर्च हुन्छ, भने आम्दानी रु एक लाखसम्मको हुने गरेको छ । धान खेतमा चौगुणा आम्दानी हुने भएपछि किसान यसतर्फ आकर्षित भएका हुन् । फूल र माला खोज्दै गाउँमै उपत्यकादेखि पोखरासम्मका व्यापारी आउने गरेपछि बजारको अभाव पनि छैन । रासस

0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?