चोया र कप्टेरासँगको दैनिकी:डोम समुदायलाई ढकी,डाली, नाङ्लो बनाउन भ्याइ नभ्याइ

महोत्तरी: राति काम गर्दागर्दै झपक्क निदाउने श्याम मरिकको हातमै कप्टेरा र चोया हुन्छन् । बिहान आँखा खुल्नासाथ फेरि चोया र कप्टेरासँगै उनको दैनिकी सुरुआत हुन्छ । यहाँको भङ्गाहा नगरपालिका–५ सीतापुरबजार र सिद्धपुर बस्तीको माझमा रेल्वे लिक नजिकैको उहाँका घरमा भएका सबै परिवार अहिले चोया र कप्टेरासँग गाँसिएका छन् ।

“के गरौँ हजुर, चाडपर्वको बेला छ, आफ्नो सीप बिक्ने बेला यही हो,” घर पुगेका आगन्तुकसँग भलाकुसारी गर्दा पनि हात भने छिटी बुन्नमै व्यस्त राख्नुभएका उनले भने, “यस बेला गरेको मिहिनेतले वर्षभरिको नगद खर्चको जोहो हुने आश छ ।”

जिल्लासहितका मिथिला क्षेत्रमा दीपावली र छठ पर्वमा पूजा सामग्री राख्न बाँसको चोया र कप्टेराले बनेका नयाँ छिटी (ढकी), सानाठूला डाली, नाङ्लो/ चाल्नोसहितका सामग्री प्रयोग गरिने परम्पराले यस्ता सामान बनाउने पुख्र्यौली पेसाका डोम समुदायको अहिले व्यस्तता बढेको हो ।

परम्परागत जातीय छुवाछूतको कुप्रथाले तल्लो जात भनिएर शैक्षिक, सांस्कृतिक, सामाजिक र आर्थिक रुपमा अवसरबाट वञ्चित रहँदै आएका डोम समुदायको सरसर्ती हेर्दा सुँगुर पाल्नु, बाँसका चोयाका सामान बनाउनु नै जीवन गुजाराको पेसा देखिन्छ । यसबाहेक हिन्दू मैथिल परम्पराको मृत्यु संस्कारभित्रको मृतकलाई मुखाग्नी दिनेबेला हुनेखाने (सम्पन्न) परिवारले डोमको हातबाट आगो किन्ने परम्परा छ । मेटिँदै ९हराउँदै० गएको यो परम्पराबाट अब आम्दानीको आश खासै नहुने डोम समुदायका अगुवा बताउँछन् ।

पछिल्लो जनगणना अनुसार जिल्लामा सो समुदायका एक हजार ५० मात्र र जनसङ्ख्या रहेको छ । अहिले तीन हजार नाघेको अनुमान गरिन्छ । प्रत्येकजसो बस्तीका पुछारमा छुट्टै झाप्राझुप्रीमा बसोबास गर्ने यो समुदायबाट जिल्लामा माध्यमिक शिक्षा परीक्षा उत्तीर्ण गरेका एकाध मात्र छन् । छ÷ सात वर्ष उमेर टेकेपछि ती समुदायका बालबालिका सुँगुर चराउन हिँड्ने भङ्गाहा–५ का वडाध्यक्ष शिव महतो जानकारी दिए । अभियानसँग जोडेर डोम बालबालिकालाई विद्यालय कैयौं पटक पु¥याइए पनि उनीहरु पढाइमा टिक्न नसकेका उनको भनाइ छ ।

दीपावली र छठका क्रममा सानातिना काम गर्नसक्ने उमेरका डोम बालबालिका बाँसका चोया बनाउन बाबु/आमाका सहयोगमा तल्लीन देखिन्छन् । “हामीले बुनेका छिटी, डाली, सुपा (नाङ्ला), चल्नी (सानो चाल्नो), पङ्खा र ससाना खेलौना बिकेपछि छठमा नयाँ लुगा लगाउनेछौँ,” १४ वर्षीय झगरुले भने । रासस

0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?