डोटीमा खानेपानीको समस्या:खोलानालाको दूषित तथा फोहर पानी पिउन बाध्य

खानेपानी

डोटी:

बेमौसमी वर्षाका कारण यहाँका खानेपानीका मुहान बगाउँदा जिल्लावासी खोलानालाको दूषित तथा फोहर पानी पिउन बाध्य छन्। बाढीले बगाएका खानेपानीका मुहान मर्मत हुन नसक्दा अहिले जिल्लामा खानेपानीको समस्या समेत उत्पन्न भएको छ ।

जिल्ला सदरमुकामसहित यहाँका ग्रामीण बस्तीमा बाढीले खानेपानीका पाइप बगाएकाले मर्मत गर्न नसकिएका कारण स्थानीयवासी खोलाको फोहर पानी पिउन बाध्य भएको जोरायल गाउँपालिका–५ गड्सेराका डम्बरबहादुर विष्टले जानकारी दिए ।

यहाँका अन्य ग्रामीण बस्तीका स्थानीयवासी गाउँमा पानीका धारा सुकेपछि घण्टौँ लामो दूरीबाट पानीको जोहो गर्न थालेका छन्। गत असोज अन्तिम साता आएको बेमौसमी बाढीपहिराका काराण जिल्लाका विभिन्न बस्तीमा निर्माण गरिएका खानेपानीका मुहान तथा पाइप लाइन बगाएका कारण अहिले यहाँ शुद्ध खानेपानीको समस्या उत्पन्न भएको हो। पानीको समस्या भएपछि यहाँका नागरिक खोलानाला, कुँवाको फोहर पानी पिउन बाध्य बनेको दिपायल गैराका स्थानीयवासी भरत कामीले जानकारी दिए ।

जिल्लाको दिपायल, सिलगढी, सेरी, राजपुर, तिखा, गड्सेरा, कुमालीकोटलगायतका ठाउँमा खानेपानीको समस्या उत्पन्न भएको स्थानीयवासी बताउँछन्। गाउँमा खानेपानीको समस्या आइपरेको र खोलानालाका पानीको भरमा खानेपानीको गुजारा चलाइरहेको शिखरनगरपालिका–१ सेरीका स्थानीयवासी भक्तबहादुर विकले बताए ।

वडाको दलित बस्ती सेरीगाउँमा सबैभन्दा बढी पानीको समस्या हुने गरेकोे स्थानीयवासी बताउँछन्। घरका एक जनाले पानी भर्नमै दिन बिताउनुपर्ने भएकाले प्रायः बालबालिका पानी भर्नका लागि घरमै बस्ने गरेको स्थानीयवासी बताउँछन् ।

खानेपानीका लागि बिहान ३-४ बजेदेखि लाइन बस्नुपर्ने बाध्यता रहेको स्थानीयवासी लक्ष्मी विकले बताइन्। उनले भनिन्, “घरमा खानलाई पानी हुँदैन, आफू खान र गाईवस्तुलाई दिन पानीका लागि लाइन बस्नुपरेको छ।” धेरैजसो बालबालिका विद्यालय नगएर पानी बोकिरहेको अवस्थामा भेटिन्छन्। पानीका लागि घण्टौँ लाइनमा बस्नुपर्ने वा दुई-तीन घण्टाको बाटो हिँडेर खोलाको पानी ल्याउनुपर्ने बाध्यता रहेको स्थानीयवासीको गुनसो छ ।

पानीका मुहान सुक्न थालेपछि यहाँको खानेपानी तथा सरसफाइ उपभोक्त समितिले दिनमा एकपटकमात्रै पानी वितरण गर्न थालेको छ। पानी नआउँदा यहाँका होटल व्यवसायीलाई होटल सञ्चालन गर्न निकै कठिन भएको पातली होटल दिपायल पिपल्लाका सञ्चालक मोहन पातलीले बताए। उनले भने, “धारामा पानी आउँदैन, ग्राहकलाई खाना खुवाउन पनि समस्या भएको छ ।”

होटलमा पानीको समस्या उत्पन्न भएपछि यहाँका कतिपय होटल व्यवसायी गाडी रिर्जभ गरेर खोला तथा नदीको पानी ल्याएर काम चलाउन थालेका छन्। नजिकै सेती नदी भए पनि नदीमा अहिलेसम्म बाढीका कारण धमिलो पानी बगिरहेकाले प्रयोग गर्न नसकिएको स्थानीयवासीको भनाइ छ । रासस

0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?