सहरमा माग बढेपनि गाउँमा कोदोखेती घट्दै

कोदो खेती

गलेश्वर: म्याग्दीमा बर्सेनि कोदोखेती गर्ने क्रम घट्दै गइरहेको छ। केही समय पहिलेसम्म मालिका, मङ्गला, रघुगङ्गा, अन्नपूर्ण, धौलागिरि र बेनी नगरपालिकाका सबै गाउँमा प्रशस्त कोदोखेती हुन्थ्यो। आजभोलि कोदोखेतीप्रति किसानको मोह घट्दै गएको छ ।

जिल्लाका किसानले लगाएको कोदो प्रशस्तै मात्रामा फल्ने गरेको थियो। उत्पादन धेरै भए पनि बिक्री हुन छाडेपछि किसान कोदो खेतीप्रति निरुत्साहित हुँदै गएका हुन्। कोदोका परिकारको विविधिकरण र बजारीकरणमा देखिएको समस्याले किसान कोदो खेतीप्रति आकर्षित हुन छाडेका उनीहरु बताउँछन्। ग्रामीण क्षेत्रको जमिन कोदो खेतीका लागि निकै उपयुक्त मानिन्छ ।

त्यहाँका किसानले कोदोखेतीलाई भने उपयुक्त मान्न छाडेका छन्। त्यसैले अहिले कोदोका लागि योग्य जमिन त्यसै बाँझै छाडेका छन्। कोदोमा मानव स्वास्थ्यको लागि अत्यावश्यक पौष्टिक तत्व भरपुर मात्रामा पाइन्छ। जसकारण बेनी, पोखरा, काठमाडौँलगायतका सहरी क्षेत्रमा कोदोको माग बढ्दै गएको छ । बजारसम्म पहुँच नभएपछि कोदोबारी बाँझै छाड्न किसान बाध्य भएका हुन् ।

कोदोखेती विस्तार र संरक्षणमा सम्बन्धित निकायले खासै ध्यान नदिएको किसानको आरोप छ। प्रदेश र स्थानीय सरकारले समेत स्थानीय उत्पादनको बजार व्यवस्थापन र व्यावसायिकरणका लागि कुनै योजना नै बनाएको छैन। म्याग्दीका ६ वटै स्थानीय तहमा कोदोको राम्रो उत्पादन हुन्छ। थोरै बिउमा समेत धेरै उत्पादन गर्न सकिने कोदो पाखो जमिनमा लगाउने गरिन्छ ।

अहिलेसम्म व्यावसायीक रुपमा कोदोखेती गर्ने किसान छैनन्। खानका लागि मात्र उत्पादन गरिने गरेको छ। उर्वर माटोका कारण थोरै बिउमा रोपिए पनि कोदो धेरै फल्छ। खाएर मात्रै सकिँदैन। बेच्ने बजार नै छैन। भएको बजारसम्म पुग्न र पुर्याउन यातायातको सुविधा नहुँदा कोदो खेतीप्रति आकर्षण घटेको देवीस्थानका इन्द्रमाया फगामीले बताइन् ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?