जाडो छल्न बेँसी झार्दै भेडीगोठ

भेडी गोठ

मनाङ: चिसो बढेसँगै मनाङका भेडापालक जाडो छल्न बेँसी झर्न थालेका छन्। उच्च हिमाली क्षेत्रमा अत्यधिक चिसो बढ्न थालेपछि भेडीगोठ बेँसीतर्फ झार्न थालिएको हो। यहाँका चामे र नासो गाउँपालिका भेडापालक चरनका लागि चिसो बढेसँगै थानचोक ताल हुँदै लमजुङको घनपोखरा र घलेगाउँ पुर्याउने गर्दछन् ।

बर्खायममा चार हजार मिटरभन्दा अग्लो पाटनमा भेडा चराउनु यस क्षेत्रका भेडापालकको दिनचर्या भएको र चिसो बढेकाले मङ्सिरमै बेँसीतिर झर्न थालेका हुन्। नासो गाउँपालिकाका भेडापालक यादव घलेले आफ्ना डेढसय भेडा लिएर जाडो छल्न बेँसी झरेको बताए ।

भेडा चराउने गरेको हिमाली पाटनमा चिसो बढ्न थालेपछि सँगै गएका अन्य भेडापालक झरेको उनको भनाइ थियो। घलेसँगै भेडापालक किसानलगायतले छ महिना नाम्के, ड्रोना र लमजुङ हिमालको बेसक्याम्पमा बिताएको वीरबहादुर गुरुङले बताए। उनीहरु एक हजार ५०० भन्दा बढी भेडाबाख्रा लिएर जेठको पहिलो साता भेडा चराउन पाटनतिर गएका थिए ।

वर्षौँदेखि पाटनमा भेडा चराउने गर्दै आएका उनीहरुले यस वर्ष चिसो निकै बढेको बताए। चिसो बढेसँगै भेडा मर्न थालेपछि यसपालि छिट्टै भेडालाई बेँसी झारिएको हो। चिसो बढेसँगै भेडाले बेँुसीतिर झर्ने सङ्केत गर्ने गरेको अर्का भेडापालक अजय गुरुङले बताए। उनले भने, “गर्र्मी बढेपछि बेँसीबाट लेकतिर जान खोज्छन् भने लेकमा जाडो बढेपछि बेँसीतर्फ झर्छन्। उच्च हिमाली क्षेत्रमा बस्न रुचाउने भेडाले धेरै चिसो पनि सहँदैनन् र बढी गर्मी पनि मन पराउँदैनन्। सोहीअनुसार हामीले पनि गोठ सार्ने गर्नुपर्छ ।”

कात्तिकदेखि फागुन लाग्दासम्म उच्च क्षेत्रमा अत्यधिक चिसो हुने भएकाले बेँसीतिर झर्ने गरेको जयको भनाइ थियो। गुरुङले भने, “जाडोयामका केही समय लेकाली क्षेत्रमा टम्म हिउँ पर्छ। भेडापालक घुमन्ते शैलीमा हिमाली क्षेत्रमा हिउँ पर्न थालेसँगै बेँसी झर्ने र गर्मी बढेसँगै हिमाली भेगतिर जाने गर्दछन् ।”

फागुन अन्तिमसम्म बेँसीमै रहने र गर्मी बढेसँगै चैत महिनामा लेकतिर जाने गुरुङको भनाइ छ। चर्को गर्मी र ज्यादै चिसो सहन नसक्ने भेडालाई अहिले जाडोबाट बचाउनकै लागि बेँसी झार्न थालिएको समेत उनले बताए। वर्षभरि लेकबेँसी गरेर भेडापालन व्यवसायमा लागिरहेकालाई हिँउदयाममा भने सास्ती हुने गरेको छ। चरनका लागि लेकाली क्षेत्र खुला हुने भए पनि बेँसी झर्दा सामुदायिक वन उपभोक्ता समूहले चरन सुविधा उपलब्ध नगराउँदा हिउँदमा समस्या भोग्नुपरेको भेडापालकले गुनासो गरेको छ ।

पहिलेदेखि भेडा चर्ने, हिँड्ने र बास बस्ने ठाउँमा स्थानीयवासीले वन संरक्षण गर्ने भन्दै चरिचरन गर्न नदिएपछि बेँुसी झार्दा भेडा चराउन समस्या भएको हो। सामुदायिक वनमा भेडा चराएवापत सामुदायिक वनलाई शुल्क तिर्नुपर्छ। अहिले यो पेशाप्रतिको आकर्षण क्रमिकरूपमा घट्दै गएको छ। चरन क्षेत्रको अभावले र पछिल्ला पुस्ताका युवाको वैदेशिक रोजगारको मोहका कारण पनि यो पेशा सङ्कटमा परेको नासो–८ का राज घलेको भनाइ छ । रासस

0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments