पश्चिमी वायुको प्रभाव: बुधबारसम्म वर्षा र हिमपातको सम्भावना

काठमाडौँ: पश्चिमी वायुको प्रभावले देशभर आंशिकदेखि सामान्य बदली रही उच्च पहाडी तथा हिमाली क्षेत्रका केही स्थानमा हल्का हिमपात तथा पहाडी भूभागका एक वा दुई स्थानमा हल्का वर्षाको सम्भावना देखिएको छ ।

यस प्रणालीको प्रभाव आगामी बुधबारसम्म कायम रहने जल तथा मौसम विज्ञान विभागका मौसमविद् सविना शाक्यले बताइन्। उनका अनुसार पश्चिमी वायुको प्रभावले अधिकतम र न्यूनतम तापक्रममा गिरावट आई चिसो बढ्ने छ ।

सोमबार गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत अन्य पहाडी भूभागमा सामान्य बदली रही बाँकी भूभागमा आंशिक बदली रहनेछ। सुदूरपश्चिम, कर्णाली प्रदेशलगायत अन्य प्रदेशका पहाडी भूभागका थोरै स्थानमा हल्का वर्षाको सम्भावना रहेको साथै उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्कादेखि मध्यम हिमपातको पनि सम्भावना रहेको बताइएको छ ।

मौसम पूर्वानुमान महाशाखाले देशका उच्च पहाडी तथा हिमाली क्षेत्रका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको तथा देशका पहाडी भूभागका एक वा दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको र तराईका भूभागमा बिहानको समयमा हुस्सु÷कुहिरो लाग्नाका साथै देशभर चिसो बढ्नेक्रम रहेकाले चिसोबाट बच्न आवश्यक सुरक्षा एवं सतर्कता अपनाउनसमेत सबैमा अनुरोध गरेको छ ।

मौसम पूर्वानुमान महाशाखाको पछिल्लो विवरणानुसार आज काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम चार दशमलव एक डिग्री र अधिकतम तापक्रम १७ दशमलव चार डिग्री सेल्सियस रहेको छ। त्यस्तै, आज सबैभन्दा कम जुम्लाको न्यूनतम तापक्रम माइनस चार दशमलव नौ डिग्री र सबैभन्दा धेरै भैरहवाको अधिकतम तापक्रम २८ दशमलव तीन डिग्री सेल्सियस रहेको छ । रासस

0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?