तनहुँमा धान उत्पादनमा कमी

दमौली: तनहुँमा यसवर्ष धान उत्पादनमा कमी आएको छ। कृषि ज्ञान केन्द्र तनहुँका अनुसार यसवर्ष १६।४५ प्रतिशतले धान उत्पादनमा कमी आएको हो ।

यसवर्ष ४१ हजार ९६७ मेट्रिक टन धान उत्पादन भएको कृषि ज्ञान केन्द्र तनहुँकी कृषि अर्थविज्ञ प्रकृति न्यौपानेले बताउनुभयो । १० हजार ८९८ हेक्टर क्षेत्रफलमा धानखेती गरिएको थियो ।

त्यसमध्ये १२५ हेक्टर क्षेत्रफलमा लगाइएको धानखेतीमा बाढीपहिरो र वर्षाले क्षति पुगेको थियो। गतवर्ष जिल्लामा १२ हजार ६८० हेक्टर क्षेत्रफलमा धानखेती गरिएकामा ५० हजार २३ मेट्रिक टन धान उत्पादन भएको थियो ।

एक हजार ७८२ हेक्टर क्षेत्रफल घट्दा उत्पादन आठ हजार ५६ मेट्रिक टन कम भएको ज्ञान केन्द्रले जनाएको छ। बाढी पहिरोसँगै धान लगाउने क्षेत्रफल कम भएकाले बर्सेनि धान उत्पादन घटिरहेको कृषि ज्ञान केन्द्र तनहुँका प्रमुख कुलप्रसाद तिवारीले बताए ।

“यो वर्ष धान रोप्ने वित्तिकै आएको बाढी र पाकेर थन्क्याउने बेलामा भएको बेमौसमी वर्षाका कारण उत्पादन घटेको हो”, उनले भने, “अर्कोतर्फ बर्सेनि धान लगाउने क्षेत्रफल घट्दा पनि उत्पादन कम हुँदैछ।” गाउँका टारीखेत जनशक्ति अभावमा बाँझो हुँदै गएको छ ।

राजमार्ग छेउछाउ र बजार क्षेत्रमा रहेका उर्वर जमिन प्लटिङ भएर घडेरीमा रुपान्तरण हुँदा धान झुल्नुको सट्टा बडेमानका कङ्क्रिटका घर ठडिएको प्रमुख तिवारीले बताए। “बजार क्षेत्रको खेतमा धान फलाउनु भन्दा घडेरीमा बिक्री गर्दा राम्रो मूल्यपर्ने भएकाले धमाधम प्लटिङ भइरहेका छन्,” उनले भने, “यसले गर्दा पनि धानको उत्पादन घटिरहेको छ ।”

सरकारले भूमिसम्बन्धी नीति बनाएर खेतीयोग्य जमिनमा घरटहरा बनाउन नपाइने प्रावधान लागू नगरेसम्म बर्सेनि धान उत्पादन घट्ने र परनिर्भरता बढ्ने प्रमुख तिवारीको भनाइ छ। यो वर्ष चैते धान उत्पादनमा भने वृद्धि भएको छ। कार्यालयका अनुसार यसवर्ष छ हजार ८४५ हेक्टर क्षेत्रफलमा चैते धानखेती गरिएकामा १६ हजार ८९८ मेट्रिक टन चैते धान उत्पादन भएको छ ।

गत वर्ष चार हजार ३२५ हेक्टर क्षेत्रफलमा धानखेती गरिएकामा ११ हजार ३१ मेट्रिक टन उत्पादन भएको थियो। जिल्लाको शुक्लागण्डकी नगरपालिकास्थित ढोरफिर्दी, मान्द्रेफाँट, साँखे, ब्यास नगरपालिकास्थित शेराफाँट, बाह्रबिसे, साँगे, तनहुँसुर, भानु नगरपालिकास्थित सेपाबगैँचा, कलेस्ती, पुर्कोट, घिरिङ गाउँपालिकास्थित गजरकोटको अत्रौली, आँबुखैरेनी लगायतका फाँटमा धान उत्पादनका लागि उर्वर क्षेत्र हुन् ।

जिल्लाका किसानले सावित्री, मन्सुली, मकवानपुरे, रामधान सुख्खा १, सुख्खा २ लगायतका उन्नत जातका धान लगाउने गर्दछन्। टाइचिन, बास्मतीलगायतका केही रैथाने जातका धान पनि जिल्लाका किसानले छिटफुट रुपमा लगाउने गर्दछन् । तर रैथाने जातका धान किसानले निकै कम लगाउने कार्यालयले जनाएको छ । रासस

0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?