दुध उत्पादन बढाउन कृषकहरूलाई निःशुल्क घाँसको बिउ वितरण
कञ्चनपुर : कञ्चनपुरको पुनर्वास नगरपालिकामा दुध उत्पादन बढाउन एक सहकारीले कृषकहरूलाई निःशुल्क घाँसको बिउ वितरण गरेको छ ।
पुनर्वास नगरपालिका–८, पृथ्वी बस्तीस्थित शिव शक्ति दुग्ध सहकारी संस्था लिमिटेडले सहकारीमा आबद्ध दुग्ध कृषकहरूलाई निःशुल्क घाँसको बिउ वितरण गरेको हो ।
१ देखि ५ लिटरसम्म दूध ल्याउने कृषकलाई २ केजी र सोभन्दा बढी दूध ल्याउने कृषकलाई ४ केजी गरी १ सय १० जना दुग्ध कृषकहरूलाई घाँसको बिउ वितरण गरेको संस्थाका व्यवस्थापक पुष्पराज ओझाले जानकारी दिनुभयो ।
कृषकलाई व्यावसायिक रुपमा पशुपालन गरी दुग्ध उत्पादनलाई बढवा गर्ने, दूधबाटै कृषकहरूलाई आत्मनिर्भर बनाउने संस्थाको मुख्य उद्देश्य रहेको उहाँले बताउनुभयो ।
चिस्यान केन्द्रको व्यवस्था भएपश्चात् अहिले संस्थाले बिहान र साँझ गरी दैनिक दुई सय लिटर खरिद गर्दै आएको संस्थाका अध्यक्ष चक्रप्रसाद ओझाले बताउनुभयो ।
सहकारीले कृषकबाट दैनिक सङ्कलन गरिएको दूध डिडिसी दुग्ध संस्थान अत्तरियालाई बिक्री गर्दै आएको छ ।
