चार महिनादेखि किसानले पाएनन् दूधको भुक्तानी

दूधमा अनुदान

बागलुङ: बागलुङको बलेवा क्षेत्रका व्यावसायिक दुग्ध उत्पादक किसानले चार महिनादेखि दूधको भुक्तानी पाएका छैनन् । बागलुङ नगरपालिका–१२ को कालीगण्डकी, नवनमूना, वडा नं १४ को नारायणस्थान र जैमिनी नगरपालिका–१ कुश्मीशेराको पल्लोपाखाका दुग्ध उत्पादक सहकारीले मङ्सिर महिनायताको भुक्तानी नगरेका हुन् ।

यहाँका चारवटै सहकारीले बिक्री केन्द्र गठन गरेर सोही केन्द्रमार्फत बजारमा दूध पठाउने गरेका छन् । स्थानीय बजारमा दूध बिक्री नभएको भन्दै पोखराको लभकुश डेरीलाई दूध बिक्री गर्दै आएका संस्थाले डेरीले पैसा नदिएको भन्दै किसानको पैसा भुक्तानी नगरेका हुन् ।

सहकारीमार्फत बिक्री हुँदै आएको दूधको भुक्तानी समयमा नपाउने यो नयाँ घटना भने होइन । गत वर्षसमेत बागलुङ र पर्वतका डेरी पसलले भुक्तानी नदिएको बहानामा किसानको दूधको भुक्तानी रोकिएको थियो । बागलुङ र पर्वतमा बिक्री गर्दा समस्या भएको भन्दै पोखराको डेरी पसललाई दूध उपलब्ध गराएका सहकारीले यो वर्ष पनि किसानलाई समयमा भुक्तानी दिन नसकेका हुन् ।

बिक्रीबाट आउने रकम भुक्तानी नपाउँदा किसानलाई दैनिकी चलाउन कठिन भएको बागलुङ–१२ का किसान बाबुदेव पौडेलले बताए । पौडेलले चार महिनाको ५५ हजार बढी रकम भुक्तानी पाउन बाँकी छ । ‘अरु आयस्रोत भएकाका लागि त समस्या नहोला तर हाम्रो त चल्ने स्रोत भनेकै दूध हो’, पौडेलले भने, ‘समयमा दूधको भुक्तानी नआउँदा सहकारीले चासो दिएन ।’ उनले सहकारीले चासो दिएर डेरीसँग भुक्तानी मागेको भए समस्या नआउने बताए ।

किसानले गाईभैँसीका लागि आवश्यक दाना चापटको समयमा भुक्तानी गर्न नसक्दा समस्या आएको भन्दै चिन्ता व्यक्त गर्न थालेका छन् । ‘हामीले सहकारीलाई जानेर दूध दिने हो, बजारमा के भएको छ भनेर उनीहरुले खोज्ने कुरा हो’, किसान पौडेलले भने, ‘बेच्न नलैजाउँ भने कहाँ फाल्नु, सहकारीलाई दिएको दूधको पैसा पाउन सधैँ कठिन हुने गरेको छ ।’ सहकारीले जगेडा कोषको व्यवस्था गरेरै भए पनि किसानलाई समयमा भुक्तानी दिनुपर्ने उनले बताए ।

सहकारीले भने बिक्री केन्द्र र लभकुश डेरीले पैसा रोकेका कारण किसानलाई भुक्तानी दिन नसकेको बताउँदै आएका छन् । ‘हामीले दूध दिएको पोखराको लभकुश डेरीले मङ्सिरदेखिको पैसा दिएको छैन, पैसा आए हामी रोक्दैनौँ”, कालीगण्डकी दुग्ध उत्पादक सहकारीका अध्यक्ष कृष्णप्रसाद लामिछानेले भने ‘हाम्रो किसानको भुक्तानी रोक्ने कुनै मनसाय होइन, हामी पनि किसान हौँ, बजारमा समस्या भएकाले रोकिएको हो ।’ लभकुश डेरी पोखराले महामारीका समयमा बजारमा बिक्री भएको भुक्तानी पाउन बाँकी रहेको भनेर समयमा भुक्तानी नदिएको लामिछानेले बताए ।

लभकुश डेरी पोखराले भने सहकारीलाई दिने रकमका विषयमा हिसाब हेरेपछि मात्रै थाहा हुने बताएको छ । ‘के कति बाँकी छ हिसाब नहेरी थाहा हुँदैन’, डेरीको लेखा शाखामा काम गर्ने वैकुण्ठ ढुङ्गानाले भने । सहकारीले डेरीकातर्फबाट ४० देखि ४५ लाख पाउन बाँकी रहेको एक सदस्यले बताए । दैनिक दूध गइरहेको र भर्खरै मात्र दूधको मूल्य बढेकाले पाउनुपर्ने रकम तलमाथि हुने उनले बताए । यहाँका सहकारीले दैनिक एक हजारदेखि एक हजार ५०० लिटर दूध पोखरा, कुश्मा र स्थानीय बजारमा बिक्री गर्दै आएका छन् । रासस

0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?