कृषि क्षेत्रलाई व्यवस्थित गरी मुलुकमा आयात प्रतिस्थापन गर्नुपर्छ : माधवकुमार नेपाल

काठमाडौँ नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले कृषि क्षेत्रलाई व्यवस्थित गरी मुलुकमा आयात प्रतिस्थापन गर्नुपर्ने बताउनुभएको छ ।

किसान सङ्गठनका प्रतिनिधिमण्डलको ज्ञापनपत्र बुझ्दै अध्यक्ष नेपालले मुलुकमा आत्मनिर्भर हुने कृषि उत्पादन वृद्धि गरी अर्थतन्त्रलाई गतिशील बनाउन सकेमा देशको विकास सम्भव भएको बताउनुभयो ।

पूर्व प्रधानमन्त्री समेत रहनुभएका अध्यक्ष नेपालले कृषि र वनसँग सम्बन्धित थुप्रै कार्यक्रमलाई किसानको आय स्तर वृद्धिसँग जोड्नुपर्ने बताउँदै देशको अर्थतन्त्र आत्मनिर्भर गर्न कृषिलाई जीवनोपयोगी बनाउनु जरुरी भएको विचार व्यक्त गर्नुभयो । अत्याधुनिक प्रविधिको प्रयोग गरी उत्पादन गरेर रूपान्तरण गर्नुको विकल्प नभएको औँल्याउँदै उहाँले कृषि क्षेत्रको रूपान्तरणको लागि प्रतिनिधिमण्डलले ल्याएका मागप्रति आफ्नो पार्टीको ऐक्यबद्धता प्रकट गर्नुभयो ।

अखिल नेपाल किसान महासङ्घका अध्यक्ष बलराम बाँस्कोटा, अखिल नेपाल किसान महासङ्घ (क्रान्तिकारी) का अध्यक्ष चित्रबहादुर श्रेष्ठ, अखिल नेपाल किसान महासङ्घ (अप्फा) का अध्यक्ष भैरव रेग्मी, अखिल नेपाल किसान महासङ्घ (क्रान्तिकारी) का अध्यक्ष सीताराम तामाङ, अखिल नेपाल किसान युनियनका अध्यक्ष रामदुलार महतो र अखिल नेपाल प्रगतिशील किसान सङ्घका अध्यक्ष दुर्गाप्रसाद जैसीले संयुक्त रुपमा ज्ञापनपत्र बुझाउनुभएको थियो ।रासस

0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?