बलिको राँगो मार हान्न तीन लाख १५ हजार कबुल

म्याग्दी :एउटा राँगो काट्न पनि बोलकबोल गरेर लाखौँ पैसा तिर्नुपर्छ भन्दा अचम्म पर्नुहोला । तर अचम्म मान्नु पर्दैन यहाँको एक कोत मन्दिरमा बलि दिइने राँगोको मार हान्न गाउँलेहरू भेला भएर बोलकबोल गर्छन् । यो यहाँको वर्षौँदेखि चलेको चलन हो ।

म्याग्दीको रघुगंगा गाउँपालिका–२ को भगवती कोत मन्दिरमा नवमीका दिनमा बलि चढाइने राँगोको मार हान्न (काट्न) तीन लाख रुपैयाँको बोलकबोल भएको छ । यो सरकारी तवरबाट उपलब्ध राँगो हो ।

सोमबार भएको कालरात्रिमा खुला बढिबढाउ मार्फत सरकारी राँगोको मार हान्ने छिनोफानो गरिएको हो ।

बढिबढाउमा सहभागी भगवतीको वख्नेका सचिन केसीले सबैले भन्दा धेरै र ३ लाख १५ हजार रकम तिर्ने कबोल गरेर बलिको मार हान्ने हुनुभएको छ । सोमबार राती बोलकबोल गरिएको थियो ।

केसीले सोमबार नै कबोल रकम पूजा व्यवस्थापन समितिलाई उपलब्ध गराइसक्नुभएको छ । यस अघि २०७८ सालको दशैँको नवमीमा भगवतीमा ३ लाखमा सरकारी मारको बढिबढाउ भएको थियो ।

नवमीको दिन बलि दिइने राँगो मार हान्ने व्यक्तिहरूको मनोकाङ्क्षा पूरा हुने जनविश्वासका कारण आकाङ्क्षीहरू धेरै हुने भएकाले खुला बढिबढाउ मार्फत छनौट गरिएको भगवती कोतमन्दिर पूजा व्यवस्थापन समितिका सचिव कृष्णबहादुर शाहीले जानकारी दिनुभयो ।

भगवती कोत मन्दिरमा कालरात्रिको राति कोटमन्दिरमा सर्वसाधारणको बिचमा खुला बोलकबोल गर्ने परम्परागत चलन रहेको छ । यो क्षेत्रकै ऐतिहासिक कोत मन्दिर रहेको र यहाँको सरकारी राँगो काटेपछि मनले आँटेको पुग्छ भन्ने जनविश्वास रहेको छ ।

हरेक वर्ष सरकारी मार हान्न आकाँक्षा राख्नेहरूको सङ्ख्या र बोलकबोल रकम समेत बढ्दै गएको पूजा व्यवस्थापन समितिका अध्यक्ष देवेन्द्रबहादुर मल्लले बताउनुभयो ।

यहाँ सरकारी मार हानेका व्यक्तिहरू सबैको उन्नति प्रगति भएको छ, त्यसैले पनि भगवती कोतमा दुर्गाभगवतीलाई बली चढाइने राँगो मार हान्न ठूलो हानथाप नै हुँदै आएको उहाँले बताउनुभयो । तत्कालीन बाइसे र चौबिसे राज्यकालदेखि यहाँको कोतमन्दिरमा बढिबढाउ गरी राँगो हान्ने चलन छ ।

नवमीका दिन कोत मन्दिरमा सरकारी मार हानेपछि पूजा व्यवस्थापन समिति, आफन्तजन र गाउँलेहरूले सरकारी मार हान्ने व्यक्तिको टाउकोमा फेटा गुथाएर बाजागाजासहित सम्मान गर्ने चलन रहेको छ ।

यहाँ सरकारी मार हान्न हुने बोलकबोल नेपालकै सबैभन्दा धेरै रहेको मानिएको छ । म्याग्दीको प्रमुख शक्तिपीठमध्येमा पर्ने भगवती कोत मन्दिरलाई पुरातत्त्व विभागले दुई वर्ष अघि रु ६९ लाख खर्चेर पुनर्निर्माण गरेको छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?