एक भारी घाँसकै लागि आधा दिन

कावासोती:पूर्वी नवलपरासीको कावासोती नगरपालिका–१ की गमीसरा घर्ती उमेरले ४९ वर्ष पुग्नुभयो । काम गर्नसक्ने उमेरदेखि घरमा पलिएका गाई भैँसीलाई घाँस काट्न सुरु गर्नुभएकी उहाँलाई पछिल्ला केही वर्ष भने घाँसपात गरेर गाई भैँसीपालन गाह्रो हुँदै गएको छ । गमीसरालाई जस्तै लालमाया दलार्मीलाई पनि घाँसपात गरेर गाईभैँसी पाल्न निकै गाह्रो हुन लागेको छ ।

नजिकैको सामुदायिक वनले घाँस पात काट्नसमेत प्रतिबन्ध लगाएपछि कावासोती–१ हात्तीखोरका सुकुम्बासी बस्तीका महिलालाई दुई चार पैसा जोहोे गर्न पालेका वस्तु भाउलाई कसरी पाल्ने हो भन्ने चिन्ताले सताएको छ । बिहान नौ बजे नै हतार हतार खाना खाएर घाँसपात काट्न हिँड्नेहरुलाई घाँसको भारी बोकेर फर्कन पाँच÷छ घण्टा लाग्ने कावासोती–१ की लालमाया दलार्मीले बताउनुभयो ।

“घर नजिकैको वनमा घाँसपात काटे जरिवाना तिर्नपर्छ, गाई बाख्रा पाल्नै प¥यो, घाँसकै लागी आधा दिन बिताउनुपर्छ”, उहाँले भन्नुभयो । सुकुम्बासी बस्ती भएकाले यस ठाउँका अधिकांश परिवारसँग खेतीपाती गर्ने जमिनसमेत छैन । यो बस्तीको आम्दानीको स्रोत भनेकै गाई, बाख्रा, कुखुरा, बङ्गुरलगायतका घरपालुवा जनावर हुन् । गाई र बाख्राका लागि घर नजिकै चरनसमेत नभएकाले घाँसकै लागि आधा दिन खर्चिनुपरेको गमीसरा घर्तीले बताउनुभयो । “घर नजिकै वस्तु चराउने ठाउँ छैन, वनले घाँस काट्न दिँदैन, घाँस रोप्ने जग्गासमेत छैन, गाई बाख्राकै लागि भए पनि घाँस काट्न दिनभर जसो लाग्छ”, उहाँले भन्नुभयो ।

यो ठाँउमा घाँसपात गर्न जाने भने अधिकांश ४० वर्षमाथिका रहेका हुन्छन् । नयाँ पुस्ताले घर गोठको काममा मन नलगाउँदा बाध्य भएर आफूहरुनै घाँसपातमा हिँड्नुपरेको सोही स्थानकी टीका मगरले बताउनुभयो । “छोरी बुहारीले जाँगर गर्दैनन्, गाईबस्तु भोको राख्न भएन ५० वर्ष भइसके घाँस काट्ने दुःखले कहिलै छोडेन”, उहाँले गुनासो गर्नभयो, “छोराहरु कमाउन जान्छन्, छोरी बुहारी घाँसपात काट्न गोठमा काम गर्न जाँगर गर्दैनन् ।”

वन मासिने क्रम बढेपछि घाँसपातमा समेत प्रतिबन्ध लगाउनुपरेको बस्ती नजिकै रहेको महाराजा सामुदायिक वनका अध्यक्ष तेजेन्द्रकुमार सुनार बताउनुहुन्छ । अलि पहिलेपहिले घाँसपात काट्न दिइएको भए पनि घाँस काट्ने क्रममा सालको हाँगाबिगा र साना बोटहरुै काट्ने क्रम बढेकाले घाँसपातमा रोक लगाउन परेको अध्यक्ष सुनारले बताउनुभयो । “सालको पात र सामान्य घाँस काट्न दिँदा वननै मासिने डर भयो, दाउराका लागि समय मिलाएर वन खुला गर्र्ने गरे पनि घाँसपात रोकेका छौँ”, उहाँले भन्नुभयो ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments