उत्कृष्ट छ जना किसान सम्मानित

त्रिशूली:नुवाकोट र रसुवाका उत्कृष्ट छ जना किसानलाई ‘राष्ट्रपति उत्कृष्ट कृषक पुरस्कार’ कार्यक्रममार्फत नगदसहित सम्मान गरिएको छ । दुई जिल्ला कार्यक्षेत्र रहेको कृषि ज्ञान केन्द्रले यी दुई जिल्लाबाट छनोट गरिएका तीन–तीन जना किसानलाई विदुरमा नगद रु १५ हजारसहित प्रशंसापत्रले सम्मान गरेको हो ।

उत्कृष्ट हुने किसानमा नुवाकोटबाट शिवपुरी गाउँपालिका–८ का रामप्रसाद पुडासैनी, म्यागङ गाउँपालिका–४ का सुरेन्द्र तामाङ र विदुर नगरपालिका–१३ का दीपक खड्का रहनुभएको छ । रसुवाबाट गोसाइँकुण्ड गाउँपालिका–५ का काल्साङ तामाङ, गोसाइँकुण्ड गाउँपालिका–६ का प्रमोदकुमार तितुङ र नौकुण्ड गाउँपालिका–६ का पासाङ लामा (तितुङ) रहेको कृषि ज्ञान केन्द्रका प्रमुख केशव खनालले जानकारी दिनुभयो ।

‘राष्ट्रपति उत्कृष्ट कृषक पुरस्कार’ कार्यक्रममार्फत दुई जिल्लाबाट उत्कृष्ट भएका किसानलाई जिल्ला समन्वय समिति नुवाकोटका प्रमुख रजिन्द्रविक्रमसिंह ठकुरी, नुवाकोटका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद रिसाललगायतले सम्मान गर्दै कृषि तथा पशुपालनबाट प्राप्त गरेको ‘उत्कृष्ट’ उपाधिलाई कायम राख्दै पेशालाई निरन्तरता दिन र अन्य युवा वर्गलाई कृषि कर्मप्रति आकर्षण हुने गरेर नमूना किसान बन्न सुझाव दिनुभयो ।

जिल्लाबाट छानिएका किसानलाई बागमती प्रदेशस्तरीय उत्कृष्ट किसान पुरस्कारका लागि सिफारिस गरिएको छ । प्रदेशबाट उत्कृष्ट भएमा केन्द्रीयस्तरीय प्रतिस्पर्धामा छनोट हुन पाइनेछ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?