कोदो र मकै मासेर अलैंची ब्लक

बाग्लुङ — ताराखोला गाउँपालिका २ अर्गलका मानबहादुर विकले वर्षभरि दु:ख गर्दा १० पाथी कोदो फलाउन धौधौ पथ्र्यो । मकै पाक्न पनि समय लाग्दा दुई बाली भित्र्याउन समस्या थियो । लेकाली बारीमा दु:ख गरेअनुसार फल नमिल्दा दैनिकी कष्टकर थियो ।

केही वर्षयता विकसँगै यहाँका किसानले कोदो र मकै मासेर अलैंची लगाएका छन् । खेती गर्नै छाडिएको जमिनमा वनमाराले झाडी बनेको थियो । उक्त झाडीसमेत फाँडेर किसानले अलैंची ब्लक बनाउन थालेका छन् ।

छिटफुट रूपमा चार वर्षअघिदेखि अलैंची फलाउन थालेका किसानले बजार सजिलै पाउने भएपछि ब्लक निर्माणमा लागेका हुन् । ‘वर्षभरि दु:ख गर्दा १० हजार रुपैयाँको अन्न नफल्ने बारीले २ लाखदेखि ५ लाख रुपैयाँ कमाउने भयो,’ विकले भने, ‘अब सबै पाखोलाई अलैंची उत्पादनको क्षेत्र बनाउने हो ।’

गाउँपालिकाले पनि किसानको मिहिनेत र चाहनालाई पूरा गर्न बिरुवा र प्रविधिमा साथ दिने निर्णय गरेको अध्यक्ष प्रकाश घर्तीले बताए ।

गाउँपालिकाले अलैंची ब्लकको नीति बनाएको छ । यो नीति ल्याएपछि किसानले पनि अभियानकै रूपमा अलैंची रोपेका छन् । ‘कोदो, मकै लगाएर ज्याला पनि उठेको थिएन, अहिले राम्रो कमाइ सुरु भइसक्यो,’ अर्की किसान तुलसी रोकाले भनिन्, ‘अब यसैमा मिहिनेत गरियो भने रोजगारी खोज्दै भौंतारिनु पर्दैन ।’

तीन वर्षअघि परम्परागत खेती मासेर उनले अलैंची रोपेकी थिइन् । ताराखोला १ को ठूलो क्षेत्रफलमा पूर्वेली युवाहरू आएर अलैंची लगाएपछि स्थानीय पनि आकर्षित भएका हुन् । ती युवाले गाउँलेको उत्पादन पनि सजिलै बजार पठाइदिने आश्वासनसमेत दिएका छन् ।

रोकाले अहिले वार्षिक ४ लाख कमाउने गरी उत्पादन लिन थालेको बताइन् । रोकाको घरका ४ जनाले अलैंची गोडमेल गर्ने र टिपेर बिक्री गर्ने काममै समय बिताउन थालेका हुन् । अझै रोकाले १ हजार बिरुवा थप्ने योजना बनाएको सुनाइन् । ब्लक निर्माणका लागि गाउँपालिकाले ६ हजार हेक्टर जमिन अलैंचीका लागि तयार गरिसकेको छ ।

वडा नं. १ को भुस्कात र २ को अर्गल बढी सम्भावना भएका ठाउँ हुन् । अन्य वडामा पनि छिटफुट लगाउने तयारी भइरहेको छ । केही किसानले बिरुवा उत्पादनको काम थालिसकेका छन् । गाउँपालिकाले कम्तीमा ४ हजार युवा रोजगार बनाउने योजना अगाडि सारेपछि व्यावसायिक कृषिको कामले तीव्रता पाएको हो । ‘कृषि, घरेलु उद्योग र खानी सञ्चालनलगायतबाट रोजगारी बढाउने योजना छ,’ घर्तीले भने, ‘आलुको जोन बनाउन सकिने गरी काम थाल्न लागेका छौं ।’ जोन बनाउन सकेमा सयौं युवालाई रोजगारीका अवसर भित्र्याउने उनले बताए ।

अलैंचीको मूल्य बेलाबेलामा घटी बढी हुने भएकाले किसानको उत्पादन संकलन गर्ने र मूल्य पाउँदा बिक्री गर्ने योजना पनि उनीहरूले बनाएका छन् । स्थानीय अमरबहादुर रोकाले संकलनको काम थालिसकेको बताए । योजनाअनुसारको काम गर्न कृषि प्राविधिकहरूलाई खटाइसकेको समेत प्रमुख घर्तीले बताए । ‘हामीले कर्मचारी टिकाउन स्थानीय रूपमा केही सुविधा पनि थपेका छौं,’ उनले भने, ‘कृषि प्राविधिकहरू पनि किसानको आवश्यकताका आधारमा काम गर्दै छन् ।’

अलैंचीलाई पोखरा र झापाका व्यपारीले सम्पर्क गरेर खरिद गर्न थालेका छन् । ‘यो वर्ष डेढ क्विन्टल मात्र फलाएको थिएँ, अर्को वर्ष दोब्बर बनाउने योजना छ,’ स्थानीय दिलबहादुर रोकाले भने, ‘अर्को वर्ष तीन क्विन्टल फलाउने गरी तयारी छ ।’ उनको झन्डै १० रोपनी जमिनको अलैंची फल्ने तयारीमा छ ।

उनले कम्तीमा २० रोपनी जमिनमा अलैंची विस्तार गर्ने योजना बनाएको सुनाए । चिसो मौसम भएकाले धान उत्पादन हुँदैन । मकै र कोदोको उत्पादन भन्दा अलैंचीबाट दस गुणा बढी आम्दानी हुने किसानहरूकोअनुभव छ ।कान्तिपुर

0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?