तनहुँमा वार्षिक १७ लाख लिटर दूध बिक्री

दूध उत्पादन

तनहुँ:जिल्ला दुग्ध उत्पादक सहकारी सङ्घ तनहुँले वार्षिक १७ लाख लिटर दूध बिक्री गर्ने गरेको छ । व्यास नगरपालिका–११ रानीगाउँस्थित कार्यालय रहेको सङ्घले शुक्रबार पत्रकार सम्मेलन गरी सो जानकारी गराएको हो ।

सङ्घले यसबाट दुग्ध उत्पादक कृषकलाई वर्षिक रु १० करोड प्रदान गर्ने गरेको छ । सङ्का अनुसार एक हजार एक सय ५४ कृषक दुग्ध उत्पादक सङ्घमा आबद्ध छन् । कृषकले उत्पादन गरेको दूध बिक्री हुँदा रु चौध करोड बराबरको आर्थिक कारोबार भएको सङ्घका व्यवस्थापक राजु भुजेलले जानकारी दिनुभयो ।

रु १० करोड कृषकको हातमा फर्काउन सफल भई सङ्घले रु ३८ लाख मुनाफा गर्न सफल भएको उहाँले बताउनुभयो । दुई वर्षअघि दैनिक चौध हजार लिटर दूध सङ्कलन गर्दै आएको उक्त सङ्घले अहिले चार हजार पाँच सय लिटर दूध सङ्कलन गर्दै आएको छ । कोभिड र महँगो दाना चोकरका कारण कतिपय व्यावसायिक फार्म बन्द भइसकेको जिल्ला दुग्ध उत्पादक सहकारी सङ्घ तनहुँका अध्यक्ष अम्मरबहादुर कुँवरले जानकारी दिनुभयो ।

केही व्यावसायिक कृषकले पनि सङ्ख्या घटाएर गाईभँैसी पाल्ने गरेका कारण दूध उत्पादन ह्वात्तै घटेको उहाँले बताउनुभयो ।

दुग्ध उत्पादक कृषकको लागत प्रतिलिटर रु ८१ रहेको छ भने दूधको गुणस्तरको आधारमा प्रतिलिटर रु ६८ सम्म सहकारीले दिनेछ । उहाँले भन्नुभयो, “लागत बढी पर्न गएपछि कृषकले बाध्य भएर व्यवसाय छाड्ने अवस्थामा पुगेका छन् ।”

नेपाल सरकारसँग पटकपटक कृषक मारमा परेकाले दूधको उचित मूल्य वृद्धि गर्न आग्रह गरे पनि बेवास्ता गर्दै आएकाले कृषक निराश हुने अवस्थामा पुगेको अध्यक्ष कुँवरले जानकारी दिनुभयो ।

कृषकको माग सुनुवाइ नभए फागुन १ गतेदेखि दुग्ध उत्पादक सहकारी सङ्घले केन्द्रिय समितिसँग समन्वय गरी स्वघोषित आन्दोलन गर्ने योजना बनाएको उहाँले बताउनुभयो ।

व्यास–१० का पूर्ववडाध्यक्ष तुलसीराम सापकोटाले दूरदराजमा बसेर कृषकले उत्पादन गरेको दूधलाई सहकारी सङ्घले सङ्कलन गरी मिल्क होलिडेको समस्या समाधान गरेको बताउनुभयो । राज्यले कृषकलाई लागत उत्पादन घटाउने किसिमका कार्यक्रम ल्याएर प्रोत्साहन गर्न नसके विस्थापित हुनुपर्ने अवस्था आउन सक्ने खतरा रहेको उहाँको भनाइ थियोे ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?