गौशाला चलाउन महायज्ञबाट ८४ लाख सङ्कलन

बेवारिसे गाईबाच्छा

वालिङ:गाईको संरक्षणका लागि स्याङ्जाको वालिङमा महायज्ञ सञ्चालन गरी आर्थिक सङ्कलन गरिएको छ । वालिङ– ८ काफलडाँडामा हालै सञ्चालनमा आएको गौशालालाई थप व्यवस्थित गर्दै गाईको संरक्षण गर्ने उद्देश्यसहित आयोजना गरिएको महायज्ञबाट झण्डै रु ८४ लाख सङ्कलन गरिएको छ ।

आधुनिकतासँगै गाईपालनतर्फ रुचि हराउँदै गएकाले गौमाताको संरक्षण गर्ने मुख्य उद्देश्यसहित धुनी शिवालय फूलबारी गुठी गौशाला आश्रम वालिङ–८ काफलडाँडाले महायज्ञबाट उक्त रकम सङ्कलन गरेको हो । गौ संरक्षण गर्ने मुख्य उद्देश्यले आयोजना गरिएको महायज्ञबाट सङ्कलन भएको रकमलाई अक्षयकोषका रूपमा राखेर सोहीमार्फत गौशाला सञ्चालन गरिने महायज्ञ मूल आयोजक समितिका संयोजक दिलीपप्रताप खाँणले जानकारी दिनुभयो ।

“बाटोघाटोमा गाईलाई छाडा छाडिदिँदा सम्भावित सवारी दुर्घटनाका साथै खेतबारीमा बालीनाली खाइदिने समस्या भयो”, उहाँले भन्नुभयो, “गाईको संरक्षण तथा व्यवस्थापनका लागि महायज्ञमार्फत सङ्कलन भएको रकमबाट अक्षयकोष स्थापना गर्छाैँ ।” यसअघि स्वर्गाश्रममा गौशाला निर्माण गरी सञ्चालन गरिए पनि चरन अभावका कारण काफलडाँडामा गौशाला स्थानान्तरण गरिएको हो । काफलडाँडामा प्रशस्त चरन क्षेत्र रहेकाले गाईपालनका लागि खर्च कम हुने उहाँको विश्वास छ ।

“काफलडाँडामा स्थानान्तरण गरिएको गौशालाको दिगो व्यवस्थापनका लागि महायज्ञ गरेका हौँ, उठेको रकमबाट अक्षयकोष स्थापना गरी गौशालाको व्यवस्थापनमा खर्च गर्छौँ”, खाँण भन्नुहुन्छ । गौशालामा हाल एक सय २६ गाई छन् । गाई हेर्ने गोपाल, दानापानी, औषधोपचारका लागि हाल मासिक रु एक लाख खर्च लाग्ने गरेको छ ।

खर्च अभावका कारण गौशाला सञ्चालनमा समस्या भएपछि दिगो व्यवस्थापनका लागि अक्षयकोष स्थापना गरी सोहीमार्फत खर्च जुटाउने लक्ष्यसहित महायज्ञ गरिएको महायज्ञका प्रमुख वाचक पण्डित नेत्रप्रसाद पराजुलीले बताउनुभयो ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?