गरे के हुँदैन ? च्याउको अन्तर्राष्ट्रिय बजार खोज्दै तुलसा

दाङ :गरे के हुँदैन ? भन्ने भनाइ नेपाली समाजमा निकै सुनिन्छ । तर काम गरेर देखाउनेको सङख्या भने निकै कम हुन्छ । तर सामान्य काममा पनि निरन्तरको मेहनत र लगाव हुने हो भने स्वदेशमै पनि राम्रो आम्दानी गर्न सकिन्छ भन्ने उदाहरण बन्नुभएको छ दाङ तुलसीपुर उपमहानगरपालिका–६ मोतिपुरकी ५८ वर्षे तुलसा बुढा मगर ।

पछिल्लो डेढ दशकदेखि च्याउखेती गरिरहनुभएकी मगरले हाल वार्षिक यसैबाट रू आठ लाखसम्म बचत गर्नुहुन्छ । चौध वर्ष स्वयम्सेविकाका रुपमा विभिन्न जिल्ला पुगी सेवा गर्नुभएकी उहाँले चितवन च्याउखेती देखेपछि आफू यो खेतीतर्फ आकर्षित भएको बताउनुहुन्छ ।

दुई सन्तानकी आमा मगरलले शिक्षाका नाममा सामान्य लेखपढ मात्रै गर्नुभएको छ भने व्यवसायमा श्रीमानको राम्रो साथ पाउनुभएको छ । च्याउखेतीबाट राम्रो आम्दानी गरिरहनुभएकी उहाँले केन्द्रीयस्तरका धेरै पुरस्कार समेत प्राप्त गरिसक्नु भएको छ । गत वर्ष पनि उहाँलाई तुलसीपुर उपमहानगरपालिले पनि उहाँलाई उत्कृष्ट महिला उद्यमीका रुपमा पुरस्कृत गरेको थियो ।

“धेरै महिला तथा पुरुष अहिले बेरोजगारी भए भन्दै विदेश जानुहुन्छ, तर स्वदेशमै पनि केही गर्न सकिन्छ”, उहाँले भन्नुभयो, “गाउँमै पनि थोरै लगानीमा आयआर्जनमूलक व्यवसाय गर्न सकिन्छ ।” उहाँले च्याउ बिक्रीबाट हालसम्म आफूले लाखाँै रकम बचत गरी पक्की घर तथा सम्पत्ति जोडिसक्नुभएको छ ।

विगत डेढ दशकदेखि च्याउखेतीमा संलग्न उहाँले अहिले च्याउ उद्योगमा चार जनालाई रोजगारी दिनु भएको छ । एक सफल उद्यमी महिलाको रुपमा स्थापित हुनुभएकी मगरले उत्पादन गर्ने च्याउबाट अचार, सुकुटीलगायतका उत्पादन दाङ तथा जिल्ला बाहिर पनि जाने गरेको छ ।

“अबको चाहना आफूले उत्पादन गरेको सामग्री अन्तर्राष्ट्रिय बजारसम्म पु¥याउने हो”, उहाँले भन्नुभयो, “यसका लागि सबैको सहयोग आवश्यक छ ।” अहिले ताजा च्याउप्रति प्रतिकेजी रू दुई सयदेखि रू दुई सय बीससम्म बिक्री गर्नुहुन्छ । साथै च्याउको सुकुटी प्रतिकेजी रू तीन सयदेखि तीन सय ८० सम्म र च्याउको अचार प्रतिकेजी पाँच सयदेखि ६ सयसम्म बिक्री गदै आउनुभएको छ ।

अहिले च्याउको सिजन भएकाले पनि उहाँको उद्योगमा च्याउ खरिद गर्ने जानेको सङ्ख्या बढ्दो छ । उहाँ बिहानैदेखि बेलुकासम्म च्याउ बिक्रीमै व्यवस्त देखिनुहुन्छ ।

सुरुका दुई वर्षसम्म गङ्गामाला समूह खोलेर च्याउखेतीको सुरुआत गर्नुभएकी उहाँले हाल आफनै च्याउ प्रशोधन केन्द्र समेत सञ्चालन गर्नु भएको छ । रू तीन लाखबाट निजी च्याउ उद्योगको सुरुआत गर्नुभएकी उहाँले हालसम्म च्याउखेतीबाट गरेको आम्दानीले रू एक करोड मूल्य बराबरको पक्की घर खरिद तथा च्याउखेतीका लागि आवश्यक सामग्री खरिद गर्नुभएको छ ।

त्यसैगरी उहाँलाई उत्कृष्ट महिला उद्यमी भनि साना तथा मझौला उद्योगबाट निःशुल्क रुपमा च्याउ प्रशोधन मेसिनसमेत प्राप्त भएको छ । “अहिले आफनै च्याउ उद्योग तथा प्रशोधन केन्द्र सञ्चालनमा ल्याएकी छु । यसबाट पनि सफल भए जिल्लाका अन्य स्थानमा च्याउखेतीको तालिम दिन जाने योजना बनाएकी छु ।”

0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments