लालीगुराँसले राताम्य सोलेडाँडामा पर्यटकको चहलपहल

ढोरपाटन:सिरसिर हावा चलिरहने । चिरबिर–चिरबिर चराको आवाज आइराख्ने सोलेडाँडाको विशेषता हो । हरियाली वनपाखा । त्यसमाथि राताम्य फुलेका लालीगुँरासले यहाँ पुग्ने जोकोहीको मन लोभ्याउने गर्छ । बागलुङ र म्याग्दी जिल्लाको सिमाना रहेको सोलेडाँडामा अहिले गुराँससँग रम्नेको घुइँचोनै लाग्ने गरेको छ । लामो समयको घडेरीपछि केही दिनदेखि परेको सिमसिमे वर्षाले गुराँस फूल वनैभरि फुलेको छ ।

वनैभरि फुलेका गुराँससँग रम्न बागलुङ र म्याग्दीबाट दैनिक आन्तरिक पुग्ने गरेका छन् । बाह्रै महिना पर्यटकले भरिने सोलेडाँडा यो समयमा कुनै पनि दिन खाली छैन । दुवै जिल्लाबाट मोटर बाटोले जोडिएको सोलेडाँडामा पर्यटक कतिपय गाडी लिएर त कति पैदलयात्रामार्फत यहाँ घुम्न आउने गरेका छन् । पुस माघमा हिउँले सेताम्य हुने यो ठाउँ यस वर्ष वर्षा नहुँदा हिउँ परेन । हिउँ नपर्दा खडेरीले सोलेडाँडा उराठिलो बन्यो । पर्यटक हिउँ खेल्न पाएनन् ।

पुस माघमा हिउँ खेल्न नपाएका पर्यटक यतिबेला गुराँस फूलसँग रमिरहेका छन् । बागलुङको दोस्रो व्यापारिक केन्द्र बुर्तिबाङ बजार नजिक रहेको सोलेडाँडामा पुग्ने सडक सहज हुँदा पर्यटकको आगमनमा बढेको पाइएको छ । केही दिनदेखि वनभोज, ‘क्याम्प फायर’ र पदयात्राका लागि टाढा–टाढादेखि पर्यटक आउने गरेको स्थानीय प्रेमबहादुर विकले बताउनुभयो ।

दुई हजार छ सय ३० मिटरको उचाइमा रहेको सोलेडाँडा घना जङ्गलको बिचमा हुँदा मनोरोगीलाई प्राकृतिक उपचारका उपयुक्त हुने उहाँको भनाइ छ । पछिल्लो समय प्राकृतिक उपचारका लागिभन्दा घुमफिर र रमाइलो गर्न आउने गरेको विकले बताउनुभयो । खासगरी बिदाका दिनमा शैक्षिक भ्रमणका साथै वित्तीय संस्थाका कर्मचारी वनभोजका लागि बढी आउने गरेको उहाँको भनाइ छ ।

विक भन्नुहुन्छ, “गाउँपालिकाले सोलेडाँडामा ठूलो लगानी गरेर राम्रो बनाएको छ, तमान आउने सजिलै सोलेडाँडा पुग्न सक्छन्, पहिलेको जस्तो अप्ठ्यारो बाटो छैन, गाडीमै त्यहाँसम्म पुग्न सकिन्छ, अहिले त झन गुराँस फुलेर वनै ढोकेको छ, त्यसले गर्दा धेरै मान्छे रमाउन आउँछन्, होटल, रेष्टुराँको व्यवस्था छैन, त्यसले गर्दा उनीहरु घुम्ने फर्किने गर्छन् ।”

गुल्मीको मुसिकोटबाट घुम्न आउनुभएको सुनिले घिमिरेले वनभरि फुलेको लालीगुराँसले मनै लोभ्याएको बताउनुभयो । सोलेडाँडा घुम्न दुई वर्ष अगाडि आएको सुनाउँदै पहिलेको तुलनामा अहिले धेरै परिवर्तन आएको बताउनुहुन्छ । पदयात्राका लागि सोलेडाँडा उपयुक्त गन्तव्य भएको भन्दै यहाँ पर्यटकीय संरचना निर्माण गर्नसके बाह्य पर्यटकलाई पनि भित्र्याउन सकिने उहाँको भनाइ छ ।

“सम्भवत यो बागलुङकै उच्च स्थान होला, पहाडको शिरमा यति सुन्दर समथर भाग वीरलै ठाउँमा हुन्छन् होला, हिमाल त आँखै अगाडि देखिँदो रहेछ”, घिमिरेले भन्नुभयो, “केही पूर्वाधार त बनेका रैछन्, बाहिर पर्यटक ल्याउने हो भने यहाँ यतिले मात्रै पुग्दैन, यसलाई थप व्यवस्थापन गर्न जरुरी देखिन्छ, म त पटक–पटक आएँ, तर घुमेर धितनै मरेन ।”

सोलेडाँडा आफैँमा सुन्दर छ, त्यसमाथि देखिने हिमशृङ्खला र दर्जनाँै प्राकृतिक मनोरम दृश्यले धेरैलाई लोभ्याउने गर्छ । यहाँबाट बागलुङ र म्याग्दीका सयौँ गाउँसँगै धौलागिरि, धौलाश्री, माछापुच्छ«े, मानापाथीलगायतका दर्जनौँ हिमशृङ्खलाको दृश्यावलोकन गर्न सकिन्छ । तमानखोला गाउँपालिका–४ मा पर्ने सोलेडाँडालाई उत्कृष्ट पर्यटकीय गन्तव्य बनाउने गाउँपालिकाका अध्यक्ष जोकलाल बुढा मगरले बताउनुभयो ।

अध्यक्ष बुढा मगरले पहिलोपटक निर्वाचित हुँदा सोलेडाँडाको विकासका लागि खाका तयार गरेको भन्दै अहिले विस्तारै यहाँ पूर्वाधार निर्माणका काम भइरहेको बताउनुभयो । आगन्तुकलाई लक्षित गरी यहाँ शौचालय र स्वच्छ खानेपानीको धारो निर्माण गरेको अध्यक्ष बुढा मगरको भनाइ छ । उहाँ भन्नुहुन्छ, “सोलेडाँडा तमानखोलाको मात्रै नभई समग्र जिल्लाकै उत्कृष्ट गन्तव्यमा पर्छ, विगतमा सरोकारवाला निकायको ध्यान पुगेको थिएन, हामी आएपछि केही परिवर्तन भएको छ ।”

0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments