बागवानी केन्द्रमा फुल्यो आँप

सर्लाही: दक्षिण एशियाकै ठूलो उष्ण प्रादेशीय बागवानी केन्द्र नवलपुर सर्लाहीले यसवर्ष अहिलेसम्मकै धेरै राजस्व सङ्कलन गर्ने लक्ष्य लिएको छ । लालबन्दी नगरपालिका–१ स्थित केन्द्रमा यसवर्ष अहिलेसम्मकै धेरै ढकमक्क आँप फूलेपछि राजस्व वृद्धि हुने अनुमान गरिएको केन्द्रका निमित्त प्रमुख रामकुमार यादवले बताउनुभयो ।

उक्त सरकारी बगैँचामा करिब छ हजार आँपका रुख ढकमक्क फुलेका छन् । फुलेअनुसार फल पनि राम्रो लाग्ने अनुमान गरिएको छ । करिब एक सय ८५ दशमलव पाँच हेक्टर अर्थात् तीन सय बिघा क्षेत्रफलमा फैलिएको बागवानी केन्द्रमा छ हजार आँप र छ सय २१ लिचीका बोट छन् । केन्द्रमा विभिन्न ३५ जातका आँपका रुख छन् । आठ जातका लिचीका बोट रहेका छन् । केन्द्रमा भारतीय, पाकिस्तानी, थाइल्याण्ड र अमेरिकन देशका आँप छन् ।

त्यसमा भारतीय जातका बम्बई, मालदह, दसहरी, अम्रपालिका, कलकतीया, निलम, मलिका, सुखतारा, सिपिया, कुष्ण भोग र जर्दा तथा पाकिस्तानीमा अमन, दसहरी, फुजिली, अनबरतौल, नुरजाहा र अवमात जातका रहेका छन् । साथै थाइल्याण्डका आँपका जातमा डकमाइ र अमेरिकन जातको आँपमा हेडेन तथा केन्ट छन् भने अर्लिलाजैरडे, साही, मोजफपुर, सिपिलेस, म्याम्लीन, बम्बई, कलकतिया र चाइन गरी आठ प्रजातिका लिची बगैँचामा रहेका छन् ।

यस वर्षका लागि लिची रु १२ लाख १८ हजारमा ठेक्का लगाइसकेको केन्द्रका निमित्त प्रमुख यादवले बताउनुभयो । “केन्द्रमा यस वर्ष अरु वर्षको तुलनामा फरक तरिकाबाट र अत्यधिकरुपमा आँप र लिची फुलेका छन्, यसरी यो बगैँचामा यसअघि कहिल्यै आँप र लिची फुलेको थिएनन्”, यादवले भन्नुभयो, “हामीले बगैँचा व्यवस्थापनमा गरेको मेहनतको प्रतिफल यस वर्ष राम्रै हुने अनुमान गरेका छौँ, कहिले नफुलेको आँप यस वर्ष फुलेका कारण फल लाग्दासम्म जोगाउन सकिएमा यस वर्ष करिब तीन करोडको आँप बिक्री गर्ने अनुमान छ ।”

उक्त बगैँचाबाट अहिलेसम्म एक वर्षमा धेरै भनेको करिब रु सवाँ करोडसम्मको मात्रै आम्दानी भएको बताइएको छ । यस वर्ष आँप र लिचीका सबैजसो बोट झपक्कै फुलेकाले करिब रु तीन करोड आम्दानी हुने अनुमान गरेको निमित्त प्रमुख यादवले बताउनुभयो ।

विगतका वर्षमा केन्द्रमा जतिसुकै आँप फले पनि एउटै ठेकेदारलाई ठेक्का लगाउने गरिएको थियो । यस वर्ष तीन ब्लक निर्धारण गरेर फरकफरक ठेकेदारलाई आँप र लिचीको बगैँचा ठेक्का दिने तयारी केन्द्रले गरेको छ । यस वर्ष आँपको फूल र फलमा औषधि तथा विषादी छर्कन करिब रु २४ लाख खर्च गरेर आधुनिक मेसिनसमेत खरिद गरेर ल्याएको केन्द्रले जनाएको छ । जमिनबाट ६० फिट उचाइसम्म सजिलै विषादी छर्न सकिने यो मेसिन नेपालमै पहिलो पटक प्रयोग भइरहेको केन्द्र प्रमुख यादवले बताउनुभयो ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?