आँपमा मधुवा रोग लागेपछि किसान चिन्तित

सर्लाही:जिल्लाको उत्तरी क्षेत्रमा गरिएको व्यावसायिक आँप खेतीमा ढुसी लाग्न थालेपछि किसान चिन्तित भएका छन् । आँप खेतीमा ढुसी लाग्न थालेकाले जिल्लाका किसान चिन्तित बनेका हुन् । आँपको पात नै नदेखिने गरी बोटै ढपक्क ढाँकेर फुल्दा खुशी भइएकामा अहिले मजुराफूलमा मधुवा किराका कारण ढुसी लाग्न थालेकाले चिन्ता बढेको हरिवन नगरपालिका–२ का किसान रामपुकार महतोले बताउनुभयो ।

उहाँका अनुसार मधुवा कीराले खाएर गुलियो लेसिलो पदार्थ आँपको मजुराफूलमा ओकलेपछि मजुराफूलमा ढुसी लागेर झर्ने र दाना नलाग्ने समस्या बढ्न थालेको हो । “पहाडमा लालीगुराँस फुलेझै आँपमा ढकमक्क मजुराफूल फूलेको देख्दा मन रमाएको थियो तर मजुराफूलमा ढुसीको प्रकोप देखिएपछि आशा निराशामा बदलिएको छ ।” उहाँले भन्नुभयो ।

हरिवन नगरपालिका–३ डाबरीका विनय आलेले पनि आफ्नो दसकठ्ठा जमिनमा लगाएको आँपका बोटमा मधुवा कीराको प्रकोप देखिएको बताउनुभयो । उहाँले मधुवाका कारण मजुराफूल झरेर दाना नलागेकाले यसवर्ष आर्थिक समस्यामा परिने हो कि चिन्ताले पिरोलिरहेको बताउनुभयो । ईश्वरपुर नगरपालिका–७ का रामखेवन महतोको आँप बगैँचामा पनि मधुवाको प्रकोप देखिएको छ । फागुन महिनाको अन्तिम सातादेखि मजुराफूलमा मधुवा कीराको प्रकोप देखिएकामा अहिले ढुसी देखिन थालेको उहाँको भनाइ थियोे ।

लालबन्दी नगरपालिका–१ स्थित बागबानी केन्द्रमा रहेको एक सय २० बिघा जमिनमा रहेका करिब छ हजार आँपका रुख सुरक्षित र स्वस्थ रहेको केन्द्रका निमित्त प्रमुख रामकुमार यादवले बताउनुभयो । उहाँका अनुसार रोगका किरा र ढुसी लाग्न नदिन सुरुमै किराको प्रकोप नियन्त्रणको उपाय अपनाइएका कारण केन्द्रका आँपका रुख सुरक्षित रहेका हुन् ।
मजुराफूल फुल्नुअघि आँपको रुखको जरा वरिपरी खनेर पानी हाल्ने र फेददेखि ३ फिट माथिसम्मको भागमा चुन दल्ने प्राकृतिक उपचारले पनि मधुवा कीराको प्रकोप रोक्न सकिने कृषि ज्ञान केन्द्रका प्रमुख कमलदेवप्रसाद कुशवाहले बताउनुभयो, उहाँले भन्नुभयो, “जिल्लाका प्रायः अधिकांश किसानले प्राविधिक ज्ञान विना नै विषादी प्रयोग गर्छन्, जुन पसलबाट विषादी ल्याएको हो, त्यही पसलेको सल्लाहअनुसार विषादी प्रयोग गर्दा कहिलेकाहीँ फल झर्ने र फूल डढ्नेजस्ता समस्यासमेत देखिने गर्छ ।” प्रमुख कुशवाहले बताउनुभयो ।

मधुवा किराको प्रकोप देखापरेपछि विषादीबाहेक अर्को विकल्प नरहेकाले पीडित किसानले प्रक्रिया पु¥याइ कार्यालयमा आएमा औषधि एवम् प्राविधिक सहयोग उपलब्ध गराइने उक्त केन्द्रले जनाएको छ । जिल्लाको बलरा, हथिऔल, ईश्वरपुर तथा चुरेपर्वतीय भावर क्षेत्रको करिब आठ हजार हेक्टरभन्दा बढी जग्गामा व्यावसायिकरूपमा आँपखेती हुने गरेकामा ईश्वरपुर, लालबन्दी, हरिवन र बाग्मतीलगायत क्षेत्रमा भने मधुवा किराको प्रकोप देखिएको हो ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?