नवलपुरमा चैतेधान लगाउने क्षेत्रफलमा वृद्धि

नवलपुर:नवलपरासी (बर्दघाट–सुस्तापूर्व)का कृषक चैतेधान खेतीतर्फ आकर्षित भएका छन् । यसले खेती गर्ने क्षेत्रफल बढेको कृषि ज्ञान केन्द्रले जनाएको छ ।

आर्थिक वर्ष २०७८÷७९ मा जिल्लामा एक हजार २०० हेक्टर क्षेत्रफलमा चैते धान लगाइएकामा चालू आर्थिक वर्ष २०७९÷८० मा क्षेत्रफल विस्तार भएको कृषि ज्ञान केन्द्रका सूचना अधिकारी शङ्कर पौडेलले बताउनुभयो । उहाँले भन्नुभयो, “यस वर्ष करिब २२ हेक्टर क्षेत्रफल बढेको छ ।”

हिउँदे वर्षा नहुँदा चैते धान खेती गर्ने क्षेत्रफल अझ बढ्न नसकेको उहाँको भनाइ छ । गत वर्ष छ हजार एक सय २३ मेट्रिकटन धान उत्पादन भएको थियो । यस वर्ष छ हजार एक सय ७१ मेट्रिक टन उत्पादन हुने अनुमान छ । “चैतेधान खेती प्रवद्र्धन गर्न केन्द्रले ब्लक क्षेत्र, स्थानीय तहबाट पकेट क्षेत्र कार्यक्रम लागू हुँदै आएको छ”, उहाँले भन्नुभयो, “चैतेधान लगाउने कृषकलाई सिँचाइ, मल तथा बीउमा अनुदान उपलब्ध गराइने भएकाले पनि कृषकको आकर्षण बढेको हो ।” बर्खेधानको भन्दा चैतेको उत्पादन बढी हुने भएकाले कृषक यो खेतीमा आकर्षित भएको पौडेलको भनाइ छ ।

केन्द्रले जिल्लाको गैँडाकोट नगरपालिका वडा नं ११, कावासोती नगरपालिका वडा नं १२, १३, १४ र १७ मा चैतेधानको ब्लक कार्यक्रम लागू गर्दै अनुदान दिँदै आएको थियो । “केन्द्रले लागू गरेको ब्लक कार्यक्रम दुई वर्षसम्म रहन्छ, यस वर्ष कार्यक्रम कावासोतीको १४ नम्बर वडामा मात्रै छ”, उहाँले भन्नुभयो, “ब्लक लागू भएका ठाउँमा सिँचाइ सुविधा उपलब्ध भइसकेकाले अन्य ठाउँमा कार्यक्रम सञ्चालन गर्नेबारे योजना निर्माण भइरहेको छ ।” वर्णशङ्कर जातका धानको गुणस्तर बढेकाले पनि कृषक चैतेधान खेतीमा आकर्षित हुनेक्रम बढ्दो छ ।

“चैतेधान बिक्रीमा त्यति समस्या छैन, चिउरा बनाउन तथा खानसमेत चैतेधान प्रयोग हुन्छ”, उहाँले भन्नुभयो, “चैतेधान काट्ने बेलामा बर्सेनि पानी पर्ने भएकाले धान सुकाउने मेसिन अभाव हुँदा कृषकले केही क्षति भने व्यहोर्नु परेको छ ।” जिल्लामा चैतेधानको रुपमा चैते–५, टाइचिन, हर्दिनाथ–१ र स्थानीय जातका धानको बीउ लगाउने गरिएको छ । जिल्लाको कावासोती, गैँडाकोट, मध्यबिन्दु, विनयी त्रिवेणीका साथै बुलिङटार गाउँपालिकाको बेँसी क्षेत्रमा चैतेधानको उत्पादन हुन्छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?