किसानका लागि सामाजिक उद्यमशीलता अभियान

झाडी हटाएर खोर्सानी खेती

धनकुटा:किसानले उत्पादन गरेको कृषि उपज तथा तरकारी बजार सुनिश्चित गर्न धनकुटामा सामाजिक उद्यमशिलता अभियान सुरु गरिएको छ ।

लङ्खाली कृषि परामर्श तथा तालिम केन्द्रले हिलेस्थित व्यापारिक केन्द्रमा किसान र कृषिमा आधारित उद्यमी(ब्यपारी)बीच सहकार्यका लागि प्रारम्भिक छलफल गराएको छ । यो अभियानले जिल्लामा उत्पादित कृषि उपजका मूल्यलाई बिचौलिया र भारतीय बजारको कब्जाबाट विस्तारै मुक्त गराउन केन्द्रित रहेको अभियान्ताहरुले बताएका छन् ।

कार्यक्रममा भोजपुर र धनकुटाका किसान प्रतिनिधि तथा मोरङका उद्यमी व्यपारीबीच किसानले उत्पादन गरेका वस्तु उचित मूल्यसहित बजारमा कसरी खपत गर्न सकिन्छ भन्नेबारे छलफल भएको थियो । जिल्लामा व्यावसायिकरूपमा उत्पादित तरकारी नेपालमा मात्र खपत हुन नसकी भारत लैजाने गरिएको र साना किसानले उत्पादन गरेको तरकारी विचौलीयामार्फत बजार जाने र भारतीय बजारले तरकारी निर्यात तथा खपतमा मनोमानी गरेकाले जिल्लाका व्यावसायिक किसान मर्कामा परिरहेका छन् । यसैगरी साना किसानले बजार मूल्यभन्दा अधिक न्यून मूल्यमा बिचौलीयालाई आफ्नो तरकारी बेच्नु परेको अवस्था छ ।

यस्ता समस्या तत्काल समधान गर्न नसकिने भएकाले किसान र कृषि उद्यमीको सहकार्यबाट क्रमशः समधान गर्दै जान अभियान सुरुवात गरिएको आयोजक संस्थाका सञ्चालक तथा कृषि अभियान्ता जीवनकुमार राईले जानकारी दिनुभयो । कोरियाबाट फर्किएर हाल मोरङको बेलबारीमा सब्जी ब्यापारको ‘मार्ट’ सञ्चालन गरिरहनुभएका सुवास राईले आफू जिल्लाका किसानसँग प्रत्यक्ष जोडिएर काम गर्न उत्सुक रहेको जानकारी दिनुभयो ।

“बर्खा लागेसँगै तराईमा सब्जीको ‘अफ सिजन’ सुरु हुने भएकाले पहाडको सब्जीमा निर्भर हुनुपर्छ” उहाँले भन्नुभयोे, “किसानलाई लाभको सुनिश्चितता गराउन लिखित सम्झौता गरेर काम गर्ने मेरो लक्ष हो ।” जिल्लाका साना किसानले स्वदेशमै कृषि उपजमा आधारित उद्यमी तथा व्यवसायीसँग र ठूला व्यावसायिक किसानले ट्रेडमार्कसहित अन्तर्राष्ट्रिय बजारसम्म पहुँच स्थापित गरेमा मात्र किसान सुरक्षित हुने राईको भनाइ थियो । हाललाई अधिक मात्रा किसानका कृषि उपजको काम गर्न नसकिए पनि बजारमा माग भएका नयाँ तरकारी उत्पादनका क्षेत्रमा आफूले काम गर्न चाहेको उहाँको भनाइ थियो ।

त्यस्तै लामो समयदेखि सहरी कृषि क्षेत्रको अभियानमा लागिरहनु भएकी विराटनगरकी उद्यमी, मधु राईले आफ्ना ग्राहकले खोजेको ताजा कृषि उपज खोज्न आफू यहाँ आएको बताउनुभयो । आफ्ना छोरालाई अमेरिकाबाट फर्काएर मःमः पसल पनि सञ्चालन गर्न लगाइरहनुभएकी उहाँले नेपाली कृषि उपजलाई कृषि उद्यममा आधारित व्यापारमा जोड्न आफूले चाएको उल्लेख गर्नुुभयो ।

त्यस्तै हाल करिब एक सय ५० रोपनीमा अकबरे खुर्सानी लगाउँदै आउनुभएका भोजपुरस्थित प्रतिक्षा कृषि फर्मका हरिकुमार श्रेष्ठले खुर्सानी बजारको खोजीमा आफू भौतारिरहेको जानकारी दिनुभयो ।

वार्षिक १० हजार केजीसम्म अकबरे खुसानी उत्पादन गर्दै आउनुभएका उहाँले बजारको अभावमा आफूले उत्पादन गरेको खुर्सानी प्रतिकेजी ६५ मा बेच्न परेको गुनासो गर्नुभयो ।

धनकुटा नगरपालिका, भोजुर नगरपालिका, बेलबारी नगरपालिका मोरङ, साँगुरीगढी गाउँपालिकाको सहयोगमा सुरु भएको उक्त कार्यक्रम आगामी दिनमा किसान र कृषि उद्यमीबीच जोड्ने अभियानका रुपमा निरन्तर रहने अभियान्ता राईले जानकारी दिनुभयो । पाँच हजार नौ सय ८२ हेक्टरमा सब्जी खेती हुने धनकुमा गत वर्ष एक लाख ३३ हजार छ सय पाँच मेट्रिकटन तरकारी उत्पादन भएको कृषि ज्ञान केन्द्रको तथ्याङ्क छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?