अट्ठाइस लाखको आलु बिक्री गर्दै सकियो महोत्सव

कास्की:आलु गाउँका रुपमा देशमै प्रख्यात पोखरा महानगरपालिका–२५ हेमजामा आयोजना भएको राष्ट्रिय आलु महोत्सवमा रु २८ लाख बराबरकोे बिक्री भएको छ ।

स्थानीय विष्णु पादुका युवा क्लबले ‘सुन्दर ठाउँ हेमजा जाऔँ, आलुका स्वादिष्ट परिकार खाउँ, आलु एक परिकार अनेक’ को नारासहित गत चैत २६ गतेदेखि महोत्सव सञ्चालन गरेको थियो । महोत्सव आज सकिएको हो ।

महोत्सवस्थलमा आलुको पहाड निर्माण गरिएको थियो । सोही पहाडमा बिक्री गरिएको हो । महोत्सवस्थलबाट ८० टन आलुको बिक्री भएको आलु सङ्कलन तथा कृषि परिचालन उपसमिति संयोजक जयराज तिमिल्सिनाले बताउनुभयो । महोत्सवमा प्रतिकेजी रु ३५ मा बिक्री गरिएको थियो ।

कृषक तिमिल्सिनाले हेमजाको आलु छिटो पाक्ने, विषादी कम प्रयोग हुने तथा स्वादिष्ट रहेकाले उपभोक्ताको माग बढी भएको बताउनुभयो । उहाँका अनुसार यहाँको आलुको माग पोखराभन्दा बाहिर पनि बढी हुने गरेको छ । हेमजा आलुसहित तरकारी उत्पादनमा समेत अग्रणी स्थानमा रहेको छ ।

हेमजाले पोखरा बजारलाई २५ देखि ३० प्रतिशत ताजा तरकारी आपूर्तिमा योगदान गरेको छ । महोत्सवमा कूल रु पाँच करोड बराबरको कारोबार भएको बताइन्छ । महोत्सव समापनका अवसरमा अग्रज कृषकहरुलाई सम्मान गरिएको छ । पोखरा महानगरपालिका कृषि तथा पशु विकास महाशाखाको समन्वयमा विभिन्न वडाका उत्कृष्ट २४ किसानलाई सम्मानपत्र र नगदसहित सम्मान गरिएको हो ।

हेमजाका आलु उत्पादक कृषकहरु देवीरमण पौडेल, अमृत पौडेल, वीरबहादुर कार्की, सुनिता श्रेष्ठ, शिलशोभा नेपाली र निरज तिमिल्सिना सम्मानित हुनुभयो । कार्यक्रममा पोखरा महानगरपालिका प्रमुख धनराज आचार्यले क्लबले आगामी वर्षदेखि आलु महोत्सवलाई रातो किताब नै व्यवस्था गरी बजेट विनियोजन गर्ने प्रतिबद्धता जनाउनुभयो ।

एक वडा एक उत्पादनका लक्ष्यसहित महानगर अगाडि बढिरहेको प्रमुअ आचार्यले बताउनुभयो । उहाँले भन्नुभयो, “कृषिलाई आयआर्जनसँग जोड्न सकेमात्रै समृद्धि हासिल हुनसक्छ ।”

महोत्सवमा आलु तथा ताजा तरकारीको बृहत् प्रदर्शन, आलुको पहाड निर्माण, आलुका विभिन्न परिकार प्रदर्शन तथा प्रशिक्षण, माटो, बोटबिरुवाको परीक्षण तथा रोगको निदान, कृषिसम्बन्धी विविध सांस्कृतिक कार्यक्रम, कृषि झाँकी प्रदर्शनी, विभिन्न कृषि उपज, बीउ बिजन तथा अन्य कृषियन्त्रको प्रदर्शनी गरिएको थियो ।

कोरोना भाइसरका कारण विगत ३ वर्षसम्म हुन नसकेको महोत्सवलाई यस वर्षदेखि क्लबले निरन्तरता दिएको हो ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?