मौसमी प्रणाली र रोग कीराको चपेटामा अलैँची

ताप्लेजुङ: हिमाली तथा पहाडी जिल्लाको प्रमुख नगदेबालीका रुपमा रहेको अलैँचीमा रोग किराको प्रकोपसँगै खडेरी र असिनाका कारण बोट र पात सुक्न थालेपछि किसान चिन्तित बनेका छन् । लामो समयसम्म परेको खडेरीका कारण फस्टाउन नसकेका बोटमा रोग कीरासँगै केही दिनअघि परेको असिनाले थप क्षति पु¥याएकाले अलैँची खेती गरिरहेका किसान चिन्तामा परेका हुन् ।

“यसपालि खडेरीले बोट फस्टाउन सकेनन्, त्यही माथि केही दिनअघि असिनाले क्षति पुग्यो, हिजोआज हरियो रङ्गको झुसुले जस्तै देखिने कीरा लाग्न थालेको छ, अलैँची सखाप हुने भयो”, मेरिङ्देन गाउँपालिका–४ लिङ्तेपका किसान ईन्द्रकुमार हाङ्गामले भन्नुभयो । उहाँका अनुसार आसपासमा रहेका छिमेकीका बगान रोग कीराको प्रकोपमा परेका छन् ।

यता सिरीजङ्घा गाउँपालिकाको तेल्लोक, पेदाङ, खेवाङलगायत ठाउँमा अलैँचीका बोट सुक्न थालेका छन् । तीन दिनसम्म लगातार साँझपखमा परेको असिनाकै कारण पेदाङलगायतका ठाउँमा आधाजसो अलैँचीका बोट भाँचिएको यहाँका वडा अध्यक्ष बमबहादुर गौतमले बताउनुभयो । “केही दिनअघि लगातार तीन दिन साँझपखमा असिना प¥यो, आधाजसो अलैँचीका बोट भाँचिएका र सुक्न थालेका देखिन्छन्, अलैँचीसँगै किबी र मकै बालीमा समेत क्षति पुग्यो”, गौतमले भन्नुभयो ।

अलैँची खेती गर्दै आएका सिदिङ्वा, मिक्वाखोला, फक्ताङलुङ गाउँपालिकाका किसानले समेत खडेरी, असिना र रोगकिराले अलैँचीमा क्षति पुगेको बताएका छन् । गत असोजदेखि फागुनसम्म ताप्लेजुङमा प्रयाप्त वर्षा भएको थिएन । फागुनको मध्यदेखि सामान्य वर्षासँगै हिमपात सुरु भएको थियो । लामो समय वर्षा नहुँदा भएको खडेरीले विशेषगरी अलैँची बालीमा त्यसको असर पुगेको किसानले बताएका छन् । खडेरीले जमिन सुक्खा हुँदा अलैँचीका बोट सुकेको र सिँचाइ उपलब्ध क्षेत्रमा समेत प्रयाप्त वर्षा नहुँदा बोट फस्टाउन नसकेको सिरीजङ्घा ७ खेवाङका कषक लक्ष्मण अधिकारीले बताउनुभयो । “पछिल्लो समय मूल्यमा पनि सुधार छैन, यो पटक खडेरी, असिना र रोग किराले गोडमेलकै खर्च नउठ्ला भन्ने चिन्ता छ”, अधिकारीले भन्नुभयो ।

पछिल्ला दिनमा परेको वर्षाले किसानलाई सामान्यतया राहत मिले पनि सुकेका अलैँचीका बोट भने उठ्न सकेनन् । त्यसैमाथी केही दिनअघि जिल्लाका अधिकांश क्षेत्रमा परेको असिनाले अन्य बालीनालीसँगै अलैँचीमा थप क्षति पुग्यो । लगातार र बाक्लो असिना परेको क्षेत्रमा अलैँचीका बोट भाँचिएका छन् । कतै पात सुक्दै गएकाछन् भने कतै बोट नै मर्न थालेका छन् । यो समयमा हरियाली देखिनुपर्ने अलैँचीका बगान उजाड देखिन थालेको स्थानीयले बताएका छन् ।

यता कृषि ज्ञान केन्द्र ताप्लेजुङका प्रमुख सन्तोष थापाले समेत केही दिन अघि परेको असिनाले अलैँची बालीमा निक्कै क्षति पुगेको पाईएको बताउनुभयो । “फिल्डमा जाँदा अधिकांश अलैँची बगानमा असिनाका कारण क्षति पुगेको देखियो, यसले गत वर्षको तुलनामा उत्पादन घट्न सक्ला भन्ने अनुमान छ, तर के कति घट्छ भन्ने यकिन गरिसकेका छैनौँ”, थापाले भन्नुभयो । यस पटक भएको खडेरी, असिना लगाएतले हिउँदे बालीनालीमा क्षति भएको उहाँको भनाइ छ ।

यस्तै आकस्मिक रुपमा आएको रोग किरा जस्ता प्रकोपको न्यूनीकरणमा कृषि ज्ञान केन्द्रले सहयोग गर्ने कार्यालय प्रमुख थापाले बताउनुभएको छ । अलैँचीमा मात्र नभई अन्य बालीनालीमा समेत नयाँ रोग किराको प्रकोप देखिए किसानले कृषि ज्ञान केन्द्रमा सम्पर्क गर्न सक्ने र त्यसको निदानका लागि कार्यालयले सहयोग गर्ने थापाको भनाइ छ । यसका लागि बजेट र जनशक्तिको व्यवस्थापन गरेर समेत सहयोग गर्न सकिने उहाँले बताउनुभयो । ताप्लेजुङका अधिकांश क्षेत्रमा अलैँची खेती गरिन्छ । यहाँका ६१ वटा वडाहरुमध्ये फक्ताङलुङ गाउँपालिकाको ओलाङ्चुङगोला बाहेकका सबै ठाउँमा अलैँचीको खेती गरिँदै आएको छ । प्राय किसान अलैँची खेतीमा नै आत्मनिर्भर छन् । तर मूल्यमा आएको गिरावटसँगै मौषमी प्रणाली र रोग किराको प्रकोपले उत्पादन घट्ने भन्दै चिन्तित छन् । आजभोलि ताप्लेजुङमा प्रतिमन अलैँचीको मूल्य ३५ हजार रहेको छ । केही दिनअघि रु ३६ हजारसम्म पुगेको मूल्य फेरी घटेर ३५ मा कारोबार भइरहेको अलैँची व्यवसायीले बताउनुभयो ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?