किसानलाई अनुदानमा कृषि उपकरण वितरण

त्रिवेणी: नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको कावासोती नगरपालिकाले किसानलाई अनुदानमा कृषि उपकरण वितरण गरेको छ । नगरपालिकाले नगरभित्र रहेर व्यावसायिकरूपमा कृषि पेसा गर्दै आएका किसानलाई अनुदानमा कृषि उपकरण वितरण गरेको हो ।

कावासोती नगरपालिकाभित्र रहेका २२ वटा कृषक समूहमार्फत किसानका लागि विभिन्न प्रकारका कृषि उपकरण वितरण गरिएको कृषि शाखा प्रमुख शिवनारायण कुमालले बताउनुभयो । नगरपालिकामा रहेका कृषि सहकारी, कषक समूह, फार्मलगायतमार्फत व्यावसायिकरूपमा कृषि पेसा गर्दै आएका किसानलाई कृषि उपकरण वितरण गरिएको शाखा प्रमुख कुमालले बताउनुभयो ।

कृषि उत्पादनमा लागत घटाउँदै प्रतिफल धेरै लिन मद्दत पुगोस् भनेर नगरपालिकाले अनुदानमा कृषि उपकरण वितरण गरेको शाखा प्रमुख कुमालले बताउनुभयो । नगरपालिलकाले धान काट्ने मेसिन पाँच थान, दाना बनाउने मेसिन चार थान, छाटी काट्ने मेसिन २२ थान, पोखरीमा माछालाई अक्सिजन दिने मेसिन एरिएटर एक थान, हाते ट्र्याक्टर तीन थान, ड्याङ बनाउने मेसिन र पम्प दुई–दुई थान, मकै छोडाउने मेसिन एक थान, स्प्रेट्याङ्की १० थानलगायतका कृषि उपकरण र सामग्री वितरण गरिएको शाखा प्रमुख कुमालले बताउनुभयो ।

“हामीले मुख्यगरी परम्परागतरूपमा गरिएको कृषिलाई विस्थापन गरी कृषि उपकरणको सहयोगले कम लागतमा धेरै प्रतिफल किसानले लिन सकुन् भनेर कृषि उपकरण वितरण गरेका हौँ”, शाखा प्रमुख कुमालले भन्नुभयो, “अहिले किसानको उत्पादन लागत धेरै हुँदा बजारीकरणमा समस्या पर्ने, साथै कम प्रतिफल प्राप्त गर्न अवस्था छ ।”

कावासोती नगरपालिकाभित्र विभिन्न कृषि बालीका पकेट कार्यक्रम सञ्चालन गरी अनुदानहरू वार्षिकरूपमा प्रदान गर्दै आएको शाखा प्रमुख कुमालले बताउनुभयो । कावासोती नगरपालिकाभित्र रहेका १७ वटा वडामा फरक–फरक बालीको सम्भावना रहेकाले सोहीअनुसार पकेट क्षेत्र विकास कार्यक्रम सञ्चालन गरी कार्यहरू गर्ने गरिएको उहाँले बताउनुभयो ।

चालु आर्थिक वर्षको विनियोजित बजेटमार्फत नगरपालिकाको ७५ प्रतिशत अनुदानमा र किसानको २५ प्रतिशत लागत सहभागितमा कृषि उपकरण तथा सामग्री वितरण गरिएको हो । कुल रु १७ लाख ९८ हजार आठ सय मूल्य बराबरको कृषि उपकरण खरिद गरी किसानलाई वितरण गरिएको हो ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?