गाँजा र घरेलु रक्सीलाई कानुनी दायरामा ल्याएर आम्दानीको स्रोतसँग जोड्नुपर्छ

गोरखा:गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले गाँजा र घरेलु रक्सीलाई कानुनी दायरामा ल्याएर आम्दानीको स्रोतको रुपमा जोड्न सकिने बताउनुभएको छ । गृहजिल्ला गोरखामा पत्रकारसँग कुराकानी गर्दै उहाँले गाँजा खेतीलाई खुला गरेर जनताको आयआर्जन र गण्डकी प्रदेश सरकारको आर्थिक वृद्धिसँग जोड्न सकिने बताउनुभयो ।

मुख्यमन्त्री पाण्डेले गाँजा औषधि हो वा लागुऔषध हो भन्ने विषयमा बहस गरी एउटा निष्कर्षमा पुग्नुपर्ने बेला आएकोसमेत बताउनुभयो । “गाँजा लागुऔषध हो कि औषधि हो यसबारेमा बहस हुनुपर्छ’, उहाँले भन्नुभयोे, “यदि यो औषधि पनि हो भने नियमनकारी निकाय निर्माण गरेर यसलाई औषधिको रुपमा प्रयोग किन नगर्ने भन्ने हो ।”

गाउँबाट ठूलो जनशक्ति बाहिर गइरहेको भन्दै मुख्यमन्त्री पाण्डेले जनताको आयआर्जन र प्रदेश सरकारको आम्दानीको स्रोतको रुपमा पनि गाँजा खेती र घरेलु रक्सीलाई उद्योगको रुपमा जोड्न सकिने बताउनुभयो । “यसलाई सङ्घीय कानुनले पनि बन्देज गरेको छ, अब बहस चलाउनु आवश्यक छ”, उहाँले भन्नुभयोे, “यसलाई औषधिको रुपमा पनि प्रयोग गरिन्छ भने यसको खेतीको बारेमा नयाँ सोचाइबाट अघि बढ्नुपर्छ भन्ने हाम्रो धारणा हो ।” गाँजा खेतीलाई उत्पादनसँग जोड्न सकिने मुख्यमन्त्री पाण्डेको भनाइ छ ।

मुख्यमन्त्री पाण्डेले स्थानीयस्तरमा उत्पादन हुने घरेलु रक्सी र गाँजालाई कानुनी दायरमा ल्याउनुपर्ने समेत बताउनुभयो । “लोकल रक्सीलाई रिफाइन गरेर ब्राण्डिङ गर्न सकियो भने गाउँघरमा समेत रक्सीको सानातिना उद्योग पनि सञ्चालन हुन्छ”, उहाँले भन्नुभयो, “यसबाट स्वरोजगार सिर्जना हुन्छ र आर्थिक स्थितिमा सुधार पनि गर्न सकिन्छ ।” मुख्यमन्त्री पाण्डेले गाँजा र घरेलु रक्सीलाई कानुनी दायरामा ल्याउने सन्र्दभमा केन्द्र सरकारसँग पनि छलफल गर्ने योजना रहेको बताउनुभयो । उहाँले गाँजालाई वैधानिकता दिन गण्डकी प्रदेश सरकारले मात्र कानुन बनाएर नहुने भन्दै सङ्घ सरकारले कानुन बनाउनका लागि पहल गरोस् भन्ने प्रदेश सरकारको चाहना रहेको बताउनुभयो ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?