बाँकेमा हस्तकलाका सामग्रीको माग बढ्दै

नेपालगञ्ज:बाँकेमा हस्तकलाका सामग्रीको माग बढ्न थालेको छ । हातले बुनेर निर्माण भएका आर्कषक सामग्रीको माग बढेपछि थारु समुदायका महिला उत्साहित भएका छन् ।

हस्तकलाका सामाग्रीलाई व्यवसायीकरण गर्ने उद्देश्यले नेपालगञ्जमा विसं २०६७ मा स्थापना भएको पञ्चशील हस्तकला केन्द्रले माग अनुसार हस्तकलाका सामाग्री निर्माण गरिरहेको केन्द्रका अध्यक्ष निरु चौधरीले बताउनुभयो । “हस्तकलाका सामाग्री उत्पादन गर्ने कामबाट थारु समुदायका महिला स्वरोजगार भएका छन्”, उहाँले भन्नुभयो । उहाँका अनुसार संस्थाले हडकेस, टी, म्याट, पेन होल्डर, ट्रेलगायत विभिन्न हस्तकलाका सामग्री उत्पादन गर्दै आएको छ ।

अध्यक्ष चौधरीले हस्ताकला बनाउने थारु समुदायको पुख्र्यौली पेसा भएकाले पनि महिलाहरु यसतर्फ आकर्षित भएका बताउनुभयो । “खेतबारी तथा नदी किनारमा पाइने मोज र काँश प्रजातीको वनस्पतिलाई प्रशोधन गरेर त्यसबाट यस्ता हस्तकलाका सामग्री निर्माण गर्दछौँ”, उहाँले भन्नुभयो, “खेतबारीमा खेर गएको वस्तुलाई हामीले उपयोग गरेका छौँ ।” हस्तकलाका सामग्रीबाट मनग्य आम्दानी भएको तथा थारु समुदायका महिलाले रोजगारी पाएका भन्दै अध्यक्ष चौधरीले हस्तकला सामग्री उत्पादनको उद्योग नै स्थापना गरेर सञ्चालन गरिएको बताउनुभयो ।

उहाँका अनुसार उद्योगमा चारजना थारु महिला उद्यमी सदस्य हुनुहुन्छ । एक्लैले हस्तकलाका सामान पु¥याउन नसक्ने भएपछि अन्य उद्यमी महिलालाई सदस्य बनाएको उल्लेख गर्दै अध्यक्ष चौधरीले भन्नुभयो, “उद्योगका सबै महिलालाई जिम्मेवारी बाँडफाट गरेका छौँ, आ–आफ्नो जिम्मेवारी अनुसारको काम गर्छौँ ।”

व्यावसायिक हस्तकलाका सामाग्री उत्पादनले हराउँदै जान थालेका हस्तकलाका सामाग्रीको जगेर्ना हुनुका साथै आम्दानीको दरिलो स्रोत भएको केन्द्रकी सचिव मनु चौधरीले बताउनुभयो । “एकातिर हराउँदै गएका थारु हस्तकलालाई जीवन्त राख्न सहयोग भएको छ भने व्यवसायबाट राम्रो आम्दानी भएको छ”, उहाँले भन्नुभयो । हस्तकला व्यवसायमा लागेका महिलाले मासिक रू ३५ हजार आम्दानी गर्दै आएका छन ।

सचिव चौधरीले माग बढ्दै गएपछि सामान पुर्‍याउन नसकिएको बताउनुभयो । “माग अनुसार सामग्री पुर्‍याउन सकेका छैनौँ । पछिल्लो समय माग बढ्दै गएको र उत्पादन गर्न समय लाग्ने भएकाले माग अनुसार सामान पुर्‍याउन सकिरहेका छैनौँ”, उहाँले भन्नुभयो ।

नेपालगञ्ज–९ खट्कनपूर्वाकी सरिता चौधरीले पनि थारु हस्तकलालाई व्यवसाय बनाउनुभएको छ । केन्द्रकी सदस्यसमेत रहनुभएकी चौधरी घरको कामधन्धा सकेर फुर्सदको समयमा हस्तकलाका सामान बनाउने गरेको बताउनुभयो । पेन होल्डर, गमला, हट्केस, ज्वेलरी, डस्टबिन, ट्रेलगायत सामान उत्पादन गरेर बजारमा पठाउँने गरेको उहाँको भनाइ थियो ।

हस्तकलाका सामग्री विदेश पुग्दै

थारु हस्तकलाका सामग्री नेपालगञ्ज बाहेक काठमाडौँ, पोखरा र बुटवलमा निर्यात हुने गरेको छ । पञ्चशील हस्तकला केन्द्रकी अध्यक्ष चौधरीले विदेशमा अमेरिका, जापान, अस्ट्रेलिया, क्यानडा, डेनमार्कलगायत देशमा पनि यहाँबाट उत्पादन गरिएका सामाग्री निर्यात हुने गरेको जानकारी दिनुभयो । “केही सामान विदेशमा गए पनि अधिकांश सामान काठमाडौँमा खपत हुन्छ”, उहाँले भन्नुभयो । घरमा प्रयोग गर्नका लागि मात्र हस्तकलाका सामान बनाउने महिलाले अहिले यसलाई व्यवसायका रुपमा सञ्चालन गरेका उहाँको भनाइ थियो ।

अध्यक्ष चौधरीले पछिल्लो समय बजारमा पाइने आधुनिक र चलनचल्तीका प्लास्टिक, तामा र सिसाका भाँडाजस्तै डिजाइनमा हस्तकलाका सामान बनाउन थालिएको बताउनुभयो । हस्तकलाका सामाग्रीको माग विदेशमा पनि बढ्दै गएको केन्द्रले जनाएको छ । केन्द्रका अनुसार स्वदेश तथा विदेशका साथै मेला, महोत्सव र विभिन्न कार्यक्रममा पनि यस्ता सामान बिक्री वितरण हुने गरेको छ ।

“नेपालगञ्जमा उपहारको रुपमा थारु हस्तकलाका सामान दिने संस्कारको विकास हुँदै गएको छ । हामीले थारु हस्तकलाका सामानलाई नेपालगञ्जको पहिचानको रुपमा स्थापित गर्ने अभियानमा छौँ”, नेपालगञ्जका व्यवसायी सञ्जय थापाले भन्नभयो ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?