आमा समूहलाई कपास प्रशोधन गर्ने उपकरण

खोटाङ:हलेसी तुवाचुङ नगरपालिकाले आमा समूहलाई कपास प्रशोधन गर्ने उपकरण प्रदान गरेको छ । व्यावसायिकरुपमा कपास खेती गर्दै आएका वडा नं ७ महादेवस्थानस्थित कात्तिकेका जुनतारा आमा समूह र गोदावरी आमा समूहलाई नगरपालिकाले रु १४ लाख मूल्य पर्ने मेसिन प्रदान गरेको हो ।

कपासको रुवा र दाना छुट्याउन अत्यन्तै झन्झटिलो, ढिलो र समय लाग्ने भएकाले बोलपत्र आह्वान गरेर कपासको रुवा र दाना छुट्याउने मेसिन खरिद गरेर आमा समूहलाई प्रदान गरिएको नगर प्रमुख विमला राईले बताउनुभयो । “कपास र त्यसको दानालाई चाँडोभन्दा चाँडो छुट्याउने व्यवस्था मिलाएर महिलाको श्रम र समयको बचत गर्दै कपासको औद्योगीकरणको लक्ष्यका साथ नगरपालिकाले कपास प्रशोधन मेसिन उपलव्ध गराएको जनाएको छ”, उहाँले भन्नुभयो, “एक दिनमा सरदर एक केजी कपासबाट त्यसको दाना अलग गर्ने गरिएकामा प्रशोधन मेसिनको सहायतामा घण्टामै सयौँ केजी कपास र त्यसको दाना छुट्याउने वातावरण बनेको छ ।”

किराती सभ्यतासँग सम्बन्धित कपास र त्यसको सिड छुट्याउन एकदमै समय लाग्ने गरेको छ । दिनमा एक जनाले एक केजी मात्रै छुट्याउन सकिने भएकाले कपासबाट निर्मित कपडा र अन्य चिज महँगो हुन जाने गरेको थियो । जसका कारण श्रम र संस्कृतिबाट मान्छे टाढिने भएकाले मेसिनको व्यवस्था गरिदिएका नगर प्रमुख राईले बताउनुभयो ।

कपासको रुवा र दाना छुट्याउन सरल, सहज र छिटो हुने तथा कपासबाट विभिन्न आइटम (प्रकार) उत्पादन गर्दै उद्योगको रुपमा स्थापित गर्ने लक्ष्य राखिएको नगरपालिकाले जनाएको छ । नगरपालिकाले कपास खेतीका लागि अनुदान उपलब्ध गराउन थालेपछि कात्तिकेमा लोप भइसकेको कपास खेतीलाई आर्थिक वर्ष २०७६÷०७७ देखि पुनः जागृत गराइएको हो । नगर प्रवक्ता एवं वडा नं ७ महादेवस्थानका वडाध्यक्ष कमल गिरीले बताउनुभयो ।

साविकको महादेवस्थान–६ कात्तिकेस्थित जुनतारा आमा समूहमा आबद्ध ३४ महिला र साविकको महादेवस्थान–९ कात्तिकेस्थित गोदावरी आमा समूहमा आबद्ध ३१ महिलाले करिब ८० रोपानी जग्गामा कपास खेती लगाउँदै आएका छन् । यस वर्ष कात्तिकेमा करिब एक हजार पाँच सय केजी कपास उत्पादन भएको जुनतारा आमा समूहकी अध्यक्ष अम्बिका राईले जानकारी दिनुभयो ।

उत्पादित कपास प्रतिकेजी रु सात सयका दरले बिक्री गर्ने गरिएको जनाइएको छ । कतिपय कपासलाई सिरक, सिरानी र डसना बनाउने गरिएको छ । नेपाली पहिचान झल्काउने दौरासुरुवालको कपडा उत्पादन गर्दै महिलालाई आर्थिकरुपमा सवल बनाउने लक्ष्यका साथ कपास खेतीलाई पुनः जागृत गराइएको नगरपालिकाले जनाएको छ ।

दौरासुरुवालका लागि कपासको कपडाको माग उच्च छ, त्यसमा पनि ग्राहकको रोजाइमा कोगटीको कपडा पर्ने गरेको उद्योगीले बताएका छन् । कपासको काँचो धागो उत्पादन गरेर हलेसीमा बिक्री वितरण गरेर पनि आम्दानी लिने योजना बनाइएको छ ।

विश्व प्रसिद्ध त्रिधार्मिकस्थल हलेसी मन्दिर रहेकाले यो नगरपालिकामा कपासको बजारीकरणमा समस्या नरहेको नगर प्रवक्ता गिरी बताउनुभयो । “स्थानीयले जति कपास उत्पादन गरे पनि मन्दिरमा आवश्यक विभिन्न सामग्री निर्माणमा खपत हुन्छ”, उहाँले भन्नुभयो, “खाँडी कपडा बुन्न सकेमा झनै उनीहरुलाई फाइदा हुन्छ ।”

हलेसीका केही स्थानीय बासिन्दाले भने आफैँले उत्पादन गरेको कपासबाट खाँडी कपडा बुनिरहेका छन् । हलेसी क्षेत्रका स्थानीय बासिन्दाले उत्पादन गरेका खाँडी कपडा बाहिरी जिल्ला तथा विदेशसमेत निर्यात हुने गरेको छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?