पाल्पाका वन डढेलोको जोखिममा

रामपुर (पाल्पा): डढेलोका कारण वनका उपभोक्ताले सास्ती खेप्नु परेको छ । वन पैदावार जलेर नष्ट हँुदा घाँसदाउरा गर्न समस्या भएको छ । खडेरीयाम रहेकाले वनमा सल्केको आगोले स्थानीयलाई त्रसित समेत बनाइरहेको छ ।

यस वर्ष मात्रै पाल्पा जिल्लाका एक हजार ६ सय ८५ हेक्टर क्षेत्रफल वनमा डढेलो लागेको छ । सामुदायिक वन ८३, निजी वन तीन र एक धार्मिक वनमा डढेलो लागेको जिल्ला वन कार्यालय पाल्पाका डढेलो फोकल पर्सन उपेन्द्र अर्यालले जानकारी दिनुभएको छ ।

उहाँका अनुसार रामपुर नगरपालिकामा ३७, तानसेन नगरपालिकामा १५ पटक डढेलो लागेको छ भने गाउँपालिकातर्फ रिब्दिकोट ५८, रैनादेवीछहरा ७५, रम्भा आठ, पूर्वखोला ७६, तिनाउँ एक सय एक, निस्दी ५३, बगनासकाली तीन, माथागढीमा ९३ पटक डढेलो लागेको छ ।

रामपुर नगरपालिकाभित्रका ६० प्रतिशत बढी सामुदायिक वनमा डढेलो लागेको छ । गत चैत १५ देखि हालसम्म लागेको वन डढेलोले नगरभित्रका ३८ वटा वन क्षेत्र प्रभावित बनाएको छ । नगरमा रहेका सबैजसो वन डढेलोको जोखिममा रहेको रामपुर सबडिभिजन वन कार्यालयका प्रमुख सुजनराज भण्डारीले जानकारी दिनुभयो ।

“विगतका वर्षमा भन्दा यसवर्ष धेरै ठाउँमा डढेलो लागेको छ, यो वर्षको तुलनामा गत वर्ष १० प्रतिशतमा मात्रै डढेलो लागेको थियो । अहिले धेरै स्थानको आगो नियन्त्रणमा आए पनि दक्षिणतर्फका वनहरु डढेलोको जोखिममै छन्”, उहाँले भन्नुभयो ।

रामपुर नगरपालिकाभित्र वडा नं १ स्थित नाम्लेसाल र लुचनडाँडा सामुदायिक वन, २ स्थित सेराबास सामुदायिक वन, ३ स्थित लामटाङ सामुदायिक वन र ठूलोवन सामुदायिक वन, ४ स्थित गाबुडाँडा सामुदायिक वन र देउराली सामुदायिक वन, वडा नं ७ स्थित ठाँडी उकाली सूर्यवास सामुदायिक वन, रानीवन तथा वडमान सामुदायिक वन र गोर्खे आरुखरक सामुदायिक र वडा नं १० स्थित गेब्दीखोला सामुदायिक वन क्षेत्रका विभिन्न भूभाग यस वर्ष डढेलोबाट धेरै प्रभावित बनेका छन् ।

वन कार्यालय रामपुरले डढेलो नियन्त्रणका लागि गोष्ठी, सञ्चारमाध्यमबाट सूचना, विद्यालयमा पुगेर डढेलो रोकथामसम्बन्धी सचेतनासम्बन्धी कार्यक्रम गर्दै आएको छ । डढेलोका कारण खरबारी तथा बारीमा लगाइएका घाँसपात, पिँडालुलगायत वस्तु डढेर नष्ट भएको ठाडी उकाली सूर्यवास सामुदायिक वन समूहका अध्यक्ष कर्णबहादुर लुइँटेलको भनाइ छ ।

“वनमा लागेको आगो स्थानीयले समयमा नै नियन्त्रणमा ल्याएकाले ठूलो क्षति हुनबाट जोगियो”, उहाँले भन्नुभयो”, “खरबारीबाट सल्केको आगो कसले लगायो केही पत्तो भएन, यसपटक वन क्षेत्रको करिब ४० हेक्टर क्षेत्रफलमा डढेलो लागेको छ” ।

अध्यक्ष लुइँटेलका अनुसार वन क्षेत्रको ब्लक ३ र ४ पूरै जलेको छ भने ब्लक नं ५ को केही भाग जलेको छ । करिब ९९ हेक्टर क्षेत्रफलमा फैलिएको यस वनमा एक सय १६ घरपरिवारका उपभोक्ता आबद्ध छन् । नगरभित्रको ७२ सामुदायिक वनमध्ये ३८ सामुदायिक वनमा डढेलो लागेको छ । जसमा १४ सामुदायिक वनमा आंशिक र २४ सामुदायिक वन पूर्णरुपमा आगलागी भएको छ ।

बर्सातपछि आगलागीको घटना कम भए पनि जोखिम अझै कायम रहेकाले सावधानी अपनाउन वन कार्यालयले अनुरोध गरेको छ । रामपुर नगरभित्रका सामुदायिक वनमध्ये कालीगण्डकी किनार क्षेत्रका वन डढेलोबाट जोगिए पनि माथिल्लो भागका अधिकांश जङ्गलमा डढेलोले वन प्रभावित बनाएको छ ।

वनमा लागेको आगो बस्तीमा सल्किएर गत वैशाख २६ मा रामपुर नगरपालिका–९ स्थित मधुकोटमा चार घर जलेर पूर्णरुपमा नष्ट भएका छन् । रामपुरभित्र ७२ सामुदायिक वन तीन हजार तीन सय ४७ हेक्टरमा फैलिएको छ ।

केही सामुदायिक वनमा उपभोक्ताहरु आगो निभाउन निकै सक्रिय भए पनि कतिपय स्थानमा भने उपभोक्ताहरु उपस्थित कम हुनाका साथै भिरालो जमिनमा लागेको आगो नियन्त्रणमा समस्या हुँदा वन जोगाउन समस्या भएको छ । जनप्रतिनिधि, नेपाली सेना, प्रहरी, वनका कर्मचारी र उपभोक्ताहरु खटिए पनि भिरालो जमिनमा आगो लाग्नाका साथै सो समयमा हावा चल्दा समस्या हुने गरेको छ । अधिकांश स्थानमा बस्ती बचाउन ब्याक फायर विधि प्रयोग गरिएको छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?