दिनभर मकैबारी रुँग्दै वडाध्यक्ष

बाँदर नियन्त्रण

पर्वत:पर्वतको कुश्मा नगरपालिका–९ का वडाध्यक्ष रामशर्मा लामिछाने हरेक महिनाको १५ गते र ३० गते वडा कार्यालयमा भेटिनु हुन्न । उहाँ बिरामी भएर वा अन्यत्र गएर वडा कार्यालय नआउनुभएको होइन । हरेक महिनाको दुई दिन लामिछाने खेतबारी रुँगेर बस्नुहुन्छ । यसको कारण हो बाँदर धपाउन ।

लामिछाने मात्र हैन कुश्मा नगपालिका–९ का १५ परिवारको एउटै फाँट रहेको छ । ती फाँटमा लगाइएका मकै जोगाउन वडाध्यक्षलगायत १५ जनाले आलोपालो गरेर मकै जोगाउन लाग्नुभएको छ । वडाको कामसँगै खेतबारीमा लगाएको मकै, बोडी, सिमी पनि जोगाउनुपरेको अध्यक्ष लामिछानेले बताउनुभयो ।

खेतबारीमा मकैले भर्खरै घोगा हाल्दै गरेका छन् तर किसानलाई भने ती घोगा जोगाएर घर भित्र्याउने पाइने हो कि होइन भन्ने चिन्ता छ । आफूले भन्दा पहिल्यै बाँदरले मकै खाला भन्ने डर भएपछि खेतबारीमै छाप्रो हालिएको छ, जहाँ प्रत्येक दिन गाउँका कोही न कोही हेरालो बस्नुपर्ने बाध्यता परेपछि आफूसमेत महिनामा दुई दिन खेतबारी रुगेर बस्ने गरेको उहाँ बताउनुहुन्छ ।

त्यस्तै पत्रकार राजबाबु पिसीले आफू पनि महिनाको दुई दिन बाँदर धपाउने पालोमा खेतबारी कुरेर बस्नुपर्ने बताउनुभयो । महिनाको दुई दिन पत्रकारिताको काम छाडेर खेतबारीमा बाँदर धपाउनुपर्ने बाध्यता रहेको उहाँले बताउनुभयो ।

खेतबारीमा लगाएका बाली जोगाउन कटुवा चौपारीवासीलाई हम्मेहम्मे परेको छ । यहाँको करिब साढे दुई सय रोपनीमा मकै लगाइएको छ । मकैले घोगा हाल्दै छन्, बाँदर भने दैनिकजसो खेतबारीको आसपासमा आउन थालेका छन् । बाँदर आतङ्क बढेपछि कटुवा चौपारीवासी पालो नै छुट्याएर बाँदर धपाउन लागिपरेका छन् । कुश्मा नगरपालिका–९ कटुवाचौपारीका वडाध्यक्ष लामिछाने गाउँले बाँदरबाट बाली जोगाउन पालो लगाएर खेतबारीमै बस्न थालेको बताउनुभयो ।

“अब एक महिना बाँदरबाट बाली जोगाउन एकदमै कठिन हुन्छ, बाली पाक्नै लाग्दा बाँदर खेतबारीमा पसेर सबै खाइदिन्छ”, उहाँले भन्नुभयो, “यसपालि चाहिँ पालो नै बनाएर बाँदर धपाउन खेतबारीमै बसेका छौँ ।”

उक्त क्षेत्रमा बाँदर आतङ्क नयाँ भने होइन । विगत वर्षमा पनि बाँदरले बालीनाली नष्ट गर्ने गरेको वडाध्यक्ष लामिछानेले बताउनुभयो । “यसअघि पनि बाँदरले बाली खाइदिन्थ्यो, बाँदरबाट जोगाउन धेरै कोसिस गरियो तर, नसकेपछि यसपालि पालो गरेर खेतबारीमै बसे गरेका छौँ”, उहाँले भन्नुभयो, “बाँदर आएपछि कराउने हल्ला गर्ने अनि बाँदर भाग्छ, त्यसरी बालीनाली जोगाउन सकिन्छ ।”

बाँदरबाट बालीनाली जोगाउन खेतबारीमा छाप्रो बनाइएको छ । पालो परेको व्यक्ति सोही छाप्रोमा आएर बस्ने र बाँदर आएपछि सङ्केत गर्ने गरिन्छ । “हामी खेतबारीको छेउमा सानो छाप्रो बनाएका छौँ । सबैको पालो लगाएका छौँ, कसले कति गते पालो परेको छ, त्यतिअनुसार छाप्रोमा बस्नुहुन्छ, र बाँदर आयो भने त्यहाँबाट सङ्केत गरिन्छ, सङ्केत पाउँदा बित्तिकै सानो झुन्ड रैछ भने आफैँ धपाउछन्, ठूलै भुन्ड रैछ भने सबै गाउँले गएर धपाउँछौँ”, वडाध्यक्ष लामिछानेले भन्नुभयो, “७० घरको खेती यसरी नै जोगाउँछौँ ।”

बाँदर धपाउने कृत्रिम उपाय अपनाए पनि नभागेपछि उक्त उपाय अपनाएको वडाध्यक्ष लामिछाने बताउँनुभयो । “बाँदर धपाउन धेरै उपाय अपनाऔँ, पड्काउने, बजाउने सबै गरियो तर, भागेन”, उहाँले भन्नुभयो, “अहिले पालो लगाएर खेतबारीमा बसेपछि बाली जोगाउन सकिएको छ ।”

0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?