गौसंरक्षण केन्द्रको घाँसे मैदान उजाडिँदै, हरियाली बनाउन श्रमदान

दमौली:तनहुँको शुक्लागण्डकी नगरपालिका–९ घारीस्थित गौसंरक्षण केन्द्रमा शनिबार बिहानैदेखि सर्वसाधारणको भीड थियो । कसैले हातमा कुटो, कोदाली त कसैले खन्ती, गैँची बोकेका थिए ।

किशोर–किशोरी, युवा–युवतीदेखि वृद्ध–वृद्धासम्मको भीड बिहानैदेखि बाक्लिएको थियो । उनीहरु गौसंरक्षण केन्द्रको घाँसेमैदान हरियाली बनाउने उद्देश्यसहित घाँस रोपणका लागि श्रमदानमा सहभागी हुन आएका थिए । श्रमदानका लागि आएका सर्वसाधारणको सङ्ख्या सयौँमा थियो । विभिन्न वडाका सर्वसाधारण स्वतःस्फुर्तरूपमा श्रमदानमा सहभागी हुन आइपुगेका थिए ।

विगत केही समयदेखि गौ संरक्षण केन्द्रको घाँसेमैदान उजाडिएको छ । घाँसेमैदान उजाड हुँदा गौ संरक्षण केन्द्रका गाई भोकै हुनुपर्ने अवस्था आउन थालेको छ । आहाराको अभावमा केही गाईको मृत्युसमेत भएपछि सुशासन तथा समृद्ध शुक्लागण्डकीका लागि युवा अभियान केन्द्रमा घाँसेमैदान बनाउन अग्रसर भएको छ ।

अभियानको आह्वानमा केन्द्रमा घाँस रोप्ने अभियानमा श्रमदानका लागि सर्वसाधारण ओइरिन थालेका छन् । अभियानका संयोजक शङ्कर पन्तले गौ संरक्षण केन्द्र हराभरा र गाई भोकले मर्न नपर्ने समयसम्म घाँस रोप्ने कार्य चलिरहने बताउनुभयो । उहाँले भन्नुभयो, “हामीले यो अभियानका लागि आह्वान गरेकामा युवायुवती, वृद्धवृद्धासमेत आएर सहयोग गरिरहनुभएको छ ।”

यसअघि पाँच श्रमदान कार्यक्रममा अनावश्यक झाडी फाँड्ने, ढुङ्गा पन्छाउने, खनजोत गर्नेलगायतका सफाइको काम गरी घाँस रोप्ने जमिन तयार पारिएपछि असारको पहिलो हप्तादेखि बृहत् घाँस रोपण सुरु भएको छ ।

शनिबार करिब २० रोपनी जग्गामा नेपियर, मुलाटो, सख्खर लगायतका भुईघाँस, दबदबे, पाखुरी, काउरो, इपीलिपी लगायतका डाले घाँस रोपिएको छ ।

पन्तले भन्नुभयो, “गौ संरक्षण केन्द्रमा घाँस नहुँदा गाई भोकै मर्नुपरेको दुःखद् अवस्था देखेपछि हामीहरूले यो अभियान सुरु गरेका हौँ । गौ संरक्षण केन्द्रलाई घाँसले हरियाली बनाएपछि मात्रै अभियान सम्पन्न हुनेछ ।”

बृहत् सरसफाइ तथा घाँस रोपण कार्यक्रमको छैटौँ शृङ्खलामा युवा अभियन्ताहरूसँगै नेपाल प्रहरी, माछापुच्छ्रे टोल, गाछेपानी साँखर टोल, हरियाली आमा समूह, जनहित आमा समूह, पञ्चमुनिदेव माविका विद्याथी सहभागी थिए ।

शुक्लागण्डकी नगरपालिकाले छाडा चौपाया व्यवस्थापनमा लागि गौ संरक्षण केन्द्र सञ्चालन गरेको थियो । नगरपालिका क्षेत्रभित्र जथाभावीरूपमा चौपाया छाड्दा दुर्घटनाको जोखिम बढेपछि नगरपालिकाले गौ संरक्षण केन्द्र सञ्चालनमा आएको थियो ।

दूध दिन छाडेपछि कृषकले जथाभावी गाईवस्तु छाडिदिने गरेको र पोखरा महानगरपालिकाबाट गाईवस्तु शुक्लागण्डकीमा भित्रिन थालेको थियो । तर गौ संरक्षण केन्द्रमा घाँसेमैदान नहुँदा समस्या हँुदै आएको छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?