दूध र मासु उत्पादनमा विकेन्द्रीकृत आयोजना प्रभावकारी बन्दै

वालिङ: स्याङ्जामा दूध र मासुको उत्पादन वृद्धिमा नेपाल लाईभस्टक सेक्टर इनोभेसन आयोजनाको भूमिका प्रभावकारी देखिएको छ ।जिल्लामा दूध र मासुजन्यपदार्थ उत्पादन गर्ने गरी सञ्चालनमा रहेका समूह।सहकारी तथा व्यक्तिगत फार्मलाई थप व्यवस्थित बनाउने उद्देश्यले काम गर्दै आएको उक्त आयोजनाको पोखरास्थित विकेन्द्रीकृत आयोजना सहयोग इकाइका प्रमुख डा रेशमराज ज्ञवालीले बताउनुभयो ।

विकेन्द्रीकृत आयोजनाअन्तर्गत गण्डकी प्रदेशमा ७४ वटा आयोजनामा सम्झौता भएकामा यस जिल्लाका २७ वटा आयोजना परेका थिए । तीमध्ये १८ वटा समूह÷सहकारी तथा नौ वटा व्यक्तिगत फार्म तथा प्रालिलाई अनुदान उपलब्ध गराइएको उहाँको भनाइ थियो। विकेन्द्रित आयोजनाले दूध र मासु उत्पादनमा काम गर्दै आएका १८ वटा समूह तथा सहकारीलाई रु चार करोड ९२ लाख अनुदान उपलब्ध गराएको थियो । “अठार वटा समूह। सहकारीलाई ५० प्रतिशतका दरले रु चार करोड ९२ लाख अनुदान उपलब्ध गराइएको छ” प्रमुख डा ज्ञवालीले भन्नुभयो, “यसमा तीस प्रतिशत बैंकबाट कर्जा र २० प्रतिशत किसानले नगद भुक्तानी गर्नुपर्छ ।”

व्यक्तिगत नौ वटा फार्मलाई रु तीन करोड अनुदान उपलब्ध गराइएको र बाँकी रु तीन करोड अनुदान पाएका फार्महरुले ब्यहोर्नुपर्ने उहाँले बताउनुभयो । आयोजना कार्यान्वयन हुँदा गाईभैँसीको दूधमा ४० प्रतिशत वृद्धि हुने, खसी बोकाको मासु उत्पादनमा २० प्रतिशत वृद्धि हुने उक्त आयोजनाको अपेक्षा छ । उत्पादित दूध तथा मासुको बजारीकरणमा समेत थप टेवा पुग्ने विश्वास रहेको प्रमुख डा ज्ञवालीले उल्लेख गर्नुुभयो ।
विकेन्द्रित आयोजनामार्फत अनुदानप्राप्त भएसँगै किसानलाई थप व्यावसायिक बन्न प्रेरित गरेको गल्याङ नगरपालिका पशुसेवा शाखा प्रमुख सुशील अर्यालले बताउनुभयो ।“दूध तथा मासु उत्पादनका क्षेत्रमा काम गर्न यस आयोजनाले महत्वपूर्ण भूमिका निर्वाह गरेको छ” उहाँले भन्नुभयो, “पशुपालनका क्षेत्रमा थप लगानी आकर्षित गराउन सकिएको छ ।”

विकेन्द्रित आयोजना सञ्चालनमा आएसँगै नगरपालिका भित्र दूध र मासुजन्य पदार्थको उत्पादन वृद्धि भएको प्रमुख डा ज्ञवालीको भनाइ थियो । नगरपालिकाभित्र विकेन्द्रित आयोजना सञ्चालन भएका समूह÷सहकारी तथा व्यक्तिगत फार्ममा पशुपालन व्यवसाय आधुनिक र थप व्यवस्थित तरिकाले अगाडि बढ्दै गएको छ ।

पशुसेवा क्षेत्रको क्षमता अभिवृद्धि, आधुनिकीकरण र सुदृढीकरण गर्ने, दूध तथा खसीबोकाको मासुको उत्पादकत्व तथा उत्पादन वृद्धि गर्ने, दूध खसीबोकाको मासुको मूल्य वृद्धि गराउने र पशुपालनका क्षेत्रमा थप लगानी आकर्षित गराउने उद्देश्यसहित सो आयोजना सञ्चालनमा ल्याइएको उहाँले बताउनुभयो ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?