मौरी सहितको घार र महबाट आम्दानी

तनहुँ: ऋषिड गाउँपालिका–३ सोलुङका लालकुमार गरङ्जा मगरले मौरी सहितको घार र मह बिक्रीबाट रु एघार लाख आम्दानी गर्नुभएको छ । आफूले एक वर्षको अवधिमा मौरीसहितको घारबाट रु दस लाख र मह बिक्रीबाट रु एक लाख बराबरको आम्दानी गरेको उहाँले जानकारी दिनुभयो ।

तीन वर्षअघि मौरीपालन फर्म दर्ता गरी व्यवसायमा लाग्नुभएका किसान मगरले मौरीसहितको घार रु दस हजारमा बिक्री गर्ने गरेको जानकारी दिनुभयोे । यसवर्ष मह उत्पादन कार्यलाई भन्दा मौरीसहितको घार बिक्रीलाई प्राथामिकता दिइएका कारण मह उत्पादन घटेको भएको उहाँले बताउनुभयो ।

मह प्रतिमाना रु एक हजारमा बिक्री हुने गरेको छ । फार्ममै आएर मानिसले मह लैजाने गर्दा बिक्रीका लागि बजारको कुनै समस्या छैन्, किसान मगरले भन्नुभयो “आउँदा वर्षमा मह उत्पादन कार्यलाई प्राथामिकता दिने सोच बनाएको छु ।” सुरुमा रु तीन लाख खर्च गरेर सेरेना जातको मौरी पाल्न थाल्नुभएका उहाँले राम्रै आम्दानी गरी घरखर्च र बैकको किस्ता तिर्नसमेत सहज भएको बताउनुभयो ।

यतिबेला किसान मगरकोे फार्ममा एक सयका हाराहारीमा मौरीका घार छन् । मौरीपालनबाट आफू सन्तुष्ट रहेको बताउँदै उहाँले स्वदेशमै बसेर परिश्रम गर्न सक्ने हो भने पैसा कमाउन विदेशिनु पर्दैन भन्नुभयो।
सदरमुकाम दमौलीमा करिब पन्ध्रवर्ष फर्निचरको शोरुम राखेर व्यापार गर्नुभएका कृषक मगर खासै उपलव्धि नभएपछि उक्त व्यवसाय छाडेर वैकल्पिक पेसाको रुपमा मौरीपालनतर्फ लाग्नुभएको हो ।

मौरीपालन व्यवसायमा काम गर्न सजिलो हुने, थोरै लगानी भए पुग्ने, शारीरिक कसरत गर्न नपर्ने र थोरै जनशक्तिले काम गर्न सकिनेजस्ता कार्यले आफू यसतर्फ आर्कर्षित भएर लागेको उहाँले बताउनुभयो । यसवर्ष लक्ष्यअनुसारको आम्दानी गर्न सफल भएको छु, किसान मगरले भन्नुभयो,“आगामी बर्ष अझ यस व्यवसायलाई व्यवस्थित गर्दै आम्दानीको स्रोत बढाउने योजनामा लागेको छु ।”

मौरीपालन व्यवसायमा घरपरिवारले पनि साथ दिँदा काम गर्न सहज हुनाका साथै अघि बढ्न थप हौसला मिलेको उहाँले जानकारी दिनुभयो । आफूले व्यवसाय थालेको तीन वर्ष वितिसक्दा पनि कुनै पनि निकायबाट अनुदान पाउन नसकेको हुँदा किसानलाई टिकाउन स्थानीय सरकारले अनुदान कार्यक्रमलाई प्राथामिकता दिनुपर्ने किसान मगरको गुनासो थियो ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?