सुदूरपश्चिममा ६० प्रतिशत जग्गामा रोपाइँ हुन बाँकी

सुदूरपश्चिम:रोपाइँ गर्न पुग्नेगरी वर्षा नभएपछि असार १५ सम्म सुदूरपश्चिम प्रदेशमा बर्खे धान बालीको खेती गरिने मध्ये ६० प्रतिशत जग्गामा धान रोपाइँ गर्न बाँकी छ ।

आकाशको पानीको भरमा रोपाइँ गर्नुपर्ने खेतमा यस वर्ष अहिलेसम्म पर्याप्त वर्षा नभएपछि धेरै जग्गामा रोपाइँ गर्न ढिलाइ भएको हो ।

कृषि निर्देशनालय दीपायलका निर्देशक यज्ञराज जोशीले असार १५ सम्म प्रदेशमा धान खेती गरिने जग्गामध्ये ४० प्रतिशत जग्गामा रोपाइँ सकिएको जानकारी दिनुभयो ।

पहाडी जिल्ला बैतडी र दार्चुलामा सबैभन्दा बढी ७२ प्रतिशत जग्गामा रोपाइँ भइसकेको छ । प्रदेशमा सबैभन्दा बढी क्षेत्रफलमा धानखेती गरिने कैलालीमा २४ प्रतिशत जग्गामा रोपाइँ हुन सकेको छ ।

“रोपाइँ गर्न पुग्नेगरी वर्षा नभएका ठाउँमा किसानले बोरिङ पम्पिङसेटबाट पानी तानेर पालौपैँचो गरी रोपाइँ धमाधम गरिरहेका छन्”, निर्देशनालयका निर्देशक जोशीले भन्नुभयो, “धान मुख्य खाद्यान्न बाली भएकोले कम्तिमा पनि एक दिन किसानको धान रोपाइँमा सबैले सघाउनु जरुरी भइसकेको छ ।”

सिँचाइको भरपर्दो सुविधा पाउन नसकेका धेरै किसान आकाशको पानीको भरमा धान रोपाइँ गर्ने गर्छन् । प्रदेशमा एक लाख ८१ हजार छ सय चार हेक्टर क्षेत्रफलको जग्गामा धान रोपाइँ हुन्छ । योमध्ये कैलाली जिल्लामा ७१ हजार सात सय हेक्टर र कञ्चनपुरमा ४७ हजार पाँच सय हेक्टर जग्गामा धान रोपाइँ हुने गरेको छ ।

यस्तै डोटीमा १० हजार छ सय ७०, डडेलधुरामा छ हजार एक सय ३६, अछाममा १६ हजार पाँच सय ८०, बाजुरामा तीन हजार तीन सय १०, दार्चुलामा चार हजार चार सय ८०, बैतडीमा नौ हजार र बझाङमा सात हजार एक सय १० हेक्टरमा वर्खे धान खेती हुने गरेको तथ्याङ्क कृषि निर्देशनालयसँग छ । कैलाली र कञ्चनपुर जिल्लाको केही हेक्टर क्षेत्रफलको जग्गामा चैत महिनामा रोपाइँ गरेर ‘चैते धान खेती’ पनि गर्ने गरिन्छ ।

प्रदेशमा ७३ हजार छ सय १७ हेक्टर जग्गामा वर्षभरि सिँचाइ हुने गरेकोमा ३६ हजार चार सय ८३ हेक्टर जग्गामा आंशिक सिँचाइको सुविधा रहेको तथ्याङ्क छ ।

धानको उत्पादन र उत्पादकत्वको दृष्टिमा कैलाली जिल्ला प्रदेशमा पहिलो स्थानमा छ । कृषि ज्ञानकेन्द्र कैलालीका प्रमुख खगेन्द्रप्रसाद शर्मा नेपाली समाजमा धानको महत्त्व सामाजिक, आर्थिक, सांस्कृतिक, धार्मिक क्रियाकलापसँग समेत जोडिएकाले यसको उत्पादन र उत्पादकत्व वृद्धिमा सबैको सक्दो सहयोग खाँचो औँल्याउनुहुन्छ ।

मनसुनी वर्षा सुरु भएपछि रोपाइँ गर्दा धानको उत्पादन र उत्पादकत्व वृद्धि हुने कृषि प्राविधिक बताउँछन् । मनसुन सक्रिय रहे पनि आजसम्म कैलाली र कञ्चनपुरसहितका जिल्लामा ठूलो वर्षा हुन सकेको छैन ।

पहाडी क्षेत्रका जिल्लामा जेठ १५ देखि असार १५ गतेसम्म र तराईका जिल्लामा असार १ देखि १५ गतेसम्मको समयलाई रोपाइँका लागि उपयुक्त मानिन्छ । ढिलो गरी रोपाइँ गरिएको खेतको बालीमा रोगकिराको समस्या देखा पर्नसक्ने कृषि प्राविधिकको भनाइ छ ।

यसै बीच आज कृषि ज्ञानकेन्द्र कैलालीको पहलमा गोदावरी नगरपालिका–१ को बिजौरा गाउँमा २०औँ राष्ट्रिय धान दिवस मनाइएको छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?