‘लम्पी स्किन’को प्रकोपले ४० प्रतिशत दूधको उत्पादन घट्यो

मलेखु: देशभर फैलिएको ‘लम्पी स्किन’को प्रत्यक्ष असर धादिङका दुग्ध उत्पादक किसानमा परेको छ । दूध बेचेरै जीविका चलाउँदै आएका किसानका गाई भँैसीमा सो रोग देखिएसँगै दूधको उत्पादन घटेको किसानले बताएका छन् ।

भेटेनरी अस्पताल तथा पशु विज्ञ केन्द्रको तथ्याङ्अनुसार लम्पी स्किनको प्रकोप देखिनुअघि दैनिक एक सय १४ मेट्रिकटन दूध उत्पादन हुँदै आएकामा अहिले ३० देखि ४० प्रतिशतले उत्पादन घटेको छ । रोगका कारण दुहुना गाई र भैँसी बिरामी पर्ने र मर्ने समस्याले दूध बेचेर घरायसी खर्च चलाउँदै आएका किसानको आम्दानीको स्रोत नै बन्द भएजस्तै बनेको छ ।

“रोग फैलिनुअघि दैनिक एक लाख लिटर दूध उत्पादन हुने अनुमानित तथ्याङ्क थियो, तर अहिले थोरैमा ३० प्रतिशत र बढीमा ४० प्रतिशतसम्म दूधको उत्पादन घटेको अनुमान लगाउन सकिन्छ”, पशु विकास अधिकृत डा सन्दिप सिलवाल भन्नुहुन्छ, “रोगको सङ्क्रमण बढ्नेक्रम नरोकिएकाले दूधको उत्पादन अझ घट्न सक्छ ।”

भेटेरिनरी अस्पतालमा सङ्कलन भएको तथ्याङ्कअनुसार हालसम्म धादिङ जिल्लामा आठ हजारभन्दा बढी गाईभैँसीमा लम्पी स्किनको सङ्क्रमण देखिएको छ । त्यसमध्ये ७० प्रतिशतभन्दा बढी सङ्क्रमण दुधालु गाई, भैँसीमा देखिएको सिलवालले जानकारी दिनुभयो । गाउँगाउँमा खटिएका प्राविधिकले पनि दूधको उत्पादनमा ५० प्रतिशतभन्दा बढीले घटेको बताएका छन् ।

गोरुभन्दा गाईमा नै सङ्क्रमण बढी देखिएको नीलकण्ठ नगरपालिका–८ का पशु स्वयंसेवक इशु तामाङले बताउनुभयो । “म जहाँ पुगेको छु त्यहाँ दुधालु पशु नै धेरै मरेको पाएको छु, सङ्क्रमणको दर बराबर जस्तै भए पनि असर दुधालु पशुमा नै देखिएको छ”, तामाङ भन्नुभयो, “दूध दिइरहेका र ब्याउने बेला भएका गाईमा रोगको सङ्क्रमण देखिए पनि किसान चिन्तामा छन् ।”

स्थानीय तहले समयमै जानकारी नदिँदा जिल्लाको एकीन तथ्याङ्क आउन नसकेको पशु विकास अधिकृत डा सिलवालले बताउनुभयो । जिल्लामा भएका १३ वटै स्थानीय तहले भेटेरिनरी अस्पताललाई जानकारी गर्नुपर्ने भए पनि स्थानीय तहबाट तथ्याङ्क लिनै कठिन भइरहेको उहाँको भनाइ छ ।

स्थानीय तहहरुले रोग नियन्त्रणका लागि गाउँगाउँमा प्राविधिक परिचालन गरिरहेको भने पनि रोग नियन्त्रण हुन सकेको छैन । विगत तीन महिनादेखि रोग देखा परे पनि हालसम्म यसको सङ्क्रमण बढ्दो नै छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?