लम्पी स्किन : काभ्रेमा खोप अभियान

कञ्चनपुरमा पहिलोपटक पशुमा लम्पी स्किन रोग देखापर्‍यो

काभ्रे:जिल्लाको करिब ३५ हजार पशुमा ‘लम्पी स्किन’ रोगको सङ्क्रमण भएपछि यसविरुद्ध ‘खोप अभियान’ थालिएको छ । गत वैशाख पहिलो साता धुलिखेल नगरस्थित रविगाउँमा पहिलो पटक देखिएको लम्पी स्किन सङ्क्रमण हालसम्म काभ्रेपलाञ्चोकको १३ वटै स्थानीय तहमा फैलिसकेको भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रले जनाएको छ ।

सङ्क्रमण थप फैलिन नदिने उद्देश्यले खोप अभियान सुरु गरिएको केन्द्रका निमित्त प्रमुख डा कार्कीले बताउनुभयो । उहाँका अनुसार जिल्लामा पहिलो पटक धुलिखेल–२ रविगाउँमा देखिएको ‘लम्पी स्किन’को सङ्क्रमण देखिएको थियो । पक्स समूहको काप्रीपक्स भाइरसबाट गाईभैँसीमा लम्पी स्किन रोग लाग्ने डा कार्कीले जानकारी दिनुभयो । उहाँका अनुसार दुई महिनाको अवधिमा जिल्लाका सबै स्थानीय तहमा गरी ३५ हजार पशुमा सङ्क्रमण देखिएको छ ।

नमोबुद्ध नगरपालिका तथा महाभारत र खानीखोला गाउँपालिका बाहेकका स्थानीय तहमा लम्पी स्किन रोगविरुद्ध पशुमा ‘एन–सिल्ड’ नामक खोप लगाउन थालिएको डा कार्कीले जानकारी दिनुभयो । “क्रमशः सबै स्थानीय तहमा खोप लगाउँदै जानेछौँ”, उहाँले भन्नुभयो, “स्वस्थ पशुलाई मात्रै खोप लगाउन मिल्छ ।”

हाल केन्द्रले दश हजार डोज खोप खरिद गरी स्थानीय तहमा वितरण गरेको छ । स्थानीय तहको तथ्याङ्क अनुसार जिल्लामा करिब एक लाख ५२ हजार गाई रहेका छन् । रोगको सङ्क्रण बढे्सँगै स्थानीय पशुपालक किसान चिन्तित बनेका छन् ।

डा कार्कीले उक्त रोगका कारण जिल्लामा हालसम्म ४५ गाई र एक भैँसी मरेको जानकारी दिनुभयो । उहाँका अनुसार ३५ हजार सङ्क्रमित पशुमध्ये दुई हजार भैँसी छन् । “पछिल्ला केही दिनदेखि महाभारत र खानीखोला गाउँपालिकाका अधिकांश पशुमा सङ्क्रमण देखिएको थियो भने हाल बनेपा नगरका पशुमा पनि उक्त रोग देखिन थालेको छ”, उहाँले भन्नुभयो ।

लम्पी स्किन रोग देखिएका पशु राखिएको स्थानभन्दा करिब एक किलोमिटर वरिपरिका पशुलाई खोप नलगाई त्यसभन्दा परका स्वस्थ पशुलाई खोप लगाइएको कार्कीले बताउनुभयो ।

जिल्लामा देखिएको रोगका कारण रू ४५ लाख हाराहारीमा पशुधन क्षति हुनुका साथै रू छ करोड बराबार दूध उत्पादनमा कमी आएको केन्द्रले जनाएको छ । केन्द्रका अनुसार ग्रामीण क्षेत्रमा रोगको सङ्क्रमण बढेको हो ।

जिल्लाका सबै स्थानीय तहमा लम्पी स्किन रोग फैलिएपछि केन्द्रले स्थानीयस्तरमा सचेतानामूलक जानकारी गराउँदै प्रारम्भिक चरणमा प्रत्येक स्थानीय तहलाई तीन सय डोजका दरले खोप पठाइएको डा कार्कीले जानकारी दिनुभयो । केन्द्रले लम्पि स्किन विरुद्धको थप मात्रा खोपका लागि वाग्मती प्रदेश सरकारसँग माग गरिएको उहाँले बताउनुभयो ।

“रोग लागेपछि गाईभैँसीले कचेरा निकाल्ने, सिगान बग्ने, तथा फिँज धेरै निकाल्ने, शरीरका विभिन्न भागमा विशेष गरी घाँटी, पछाडिका खुट्टामा, पेट तथा थुन वरिपरी साना, ठूला गिर्खा तथा फोका देखिन्छ”, डा कार्कीले भन्नुभयो, “रोगका कारण पशुबाट २५ देखि ८० प्रतिशतसम्म दूघ उत्पादन घट्छ भने पशुको गर्भ तुहिने, मृत्युदर कम भए पनि धेरै पशु बिरामी हुने गर्छन् ।”

लम्पी स्किन सङ्क्रमण सन् १८८८ मा अफ्रिकाबाट सुरु भएको थियो । सन् २०१२ पछि मध्य पूर्व, दक्षिण पूर्वी युरोप, रसिया, काजकिस्तान र बङ्गलादेश हुँदै विसं २०७७ असारमा नेपालको मोरङ जिल्लामा पहिलो पटक देखिएको थियो ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?