बर्सातमा बाढीको त्रास, हिउँदमा सिँचाइ अभाव

दोधारा चाँदनी:महेन्द्रनगरस्थित महाकाली नदीमा चार लेनको पक्की पुल बनेपछि पनि दोधारा चाँदनीका बासिन्दाले अनेकन समस्यासित सङ्घर्ष गर्नुपरेको छ ।

महाकाली नदीमा पक्की पुल बन्नुअघि यहाँ झोलुङ्गे पुलबाट दुईपाङ्ग्रे सवारी मात्रै आवतजावत हुन्थ्यो । पछिल्लो समय भएका व्यवस्था परिर्वतनसँगै दोधारा चाँदनीले विकासमा गति लिए पनि हिउँदमा सिँचाइ अभाव र वर्षामा बाढीको मुख्य समस्या झेल्दै आउनुपरेको स्थानीयवासीको दुखेसो छ । दोधारा चाँदनीतर्फको तीन हजार पाँच सय हेक्टर क्षेत्रफल सिँचाइका लागि महाकाली नदीबाट पाउनुपर्ने पानी भारतीय बेवास्ताका कारण पाइएको छैन ।

विसं २०२२ देखि दोधारा चाँदनीमा बसोबास गर्दै आएका राजबहादुर थापामगरले सिँचाइ नहुँदा तरकारीसम्म फलाउन कठिन हुने गरेको बताउनुभयो । “दोधारा चाँदनी अन्न उत्पादनका लागि उर्वर भूमि मानीन्छ तर यहाँ सिँचाइ सुविधा छैन”, उहाँले भन्नुभयो, “नेताहरु चुनावमा मात्रै हामी गर्छौँ भन्नुहुन्छ त्यसपछि वास्ता गर्नुहुन्न ।” यहाँ सिँचाइ सुविधा उपलब्ध भए अन्न बालीसँगै बेमौसमी तरकारी फलाउन सकिने उहाँले बताउनुभयो ।

विसं २०२४ देखि कुतियाकवरमा बस्दै आएका मायादेवी सुनारले यहाँ हरेक वर्ष बाढीले क्षति पुर्याउने गरेको बताउनुभयो । “तीनतिर जोगबुडा नदी र एकतर्फ महाकाली नदीले घेरेको छ”, सुनारले भन्नुभयो, “यहाँ डुबान र कटान धेरै हुन्छ बाढीकै कारण यहाँबाट धेरै अन्यत्र बसाइसरी गइसके ।” गत वर्ष बाढीले बेसार र तरकारी खेती बगरमा परिणत गरिदिएको उहाँले दुखेसो पोख्नुभयो । ४९ परिवारको बसोबास रहेको यो बस्तीमा तरकारी उत्पादन गरेर जीविकोपार्जन गर्ने गर्दछन् ।

स्थानीय वसन्ती साउदले दोधारा चाँदनीमा उत्पादन धेरै हुने भए पनि सिँचाइ अभाव रहेको बताउनुभयो । “हिउँदमा सिँचाइ अभाव हुन्छ बर्सातमा बाढीको त्रास ।” उहाँले भन्नुभयो, “बाढीले यहाँको बिघौँ जग्गा बगरमा परिणत गरेको छ ।”

दोधारा चाँदनीमा बेसार, तरकारी, धान, गहुँ र तोरीको उत्पादन राम्रो छ । बर्खामा बाढीले खेतमा नोक्सानी गर्ने गरेको छ भने हिउँदमा अन्न भित्र्याउन निकै समस्या झेल्नुपर्ने स्थानीय टेकबहादुर सुनारले बताउनुभयो । “हामीले जहिल्यै त्रासमा जीवन बिताउनुपर्छ”, सुनारले भन्नुभयो, “बर्खा लागे बाढीको त्रास हिउँदमा अन्न भित्र्याउन चिन्ता ।”

0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?