गोरखामा पढ्दै कमाउँदै विद्यार्थी

गोरखा: गोरखाको बारपाक सुलिकोट गाउँपालिकास्थित बारपाक बहुप्राविधिक विद्यालय अध्ययनरत विद्यार्थीले पढाइसँगै आम्दानीसमेत गर्न थालेका छन् ।

शिक्षालयमा पढ्ने विद्यार्थीलाई उत्पादनसँग जोड्न गाउँपालिकाले ‘सिक, कमाउ र तिर कार्यक्रम’ लागू गरेपछि कृषि उत्पादन गरी बिक्री वितरण गरेर विद्यार्थीले आम्दानी गर्न थालेका गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत तुलसीराम आर्चायले जानकारी दिनुभयो ।

प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद्को आङ्गिक शिक्षालयको रुपमा वडा नं ४ स्थित सौरपानीमा रहेको प्राविधिक शिक्षालयमा कृषि बाली विज्ञानमा अध्ययनरत विद्याथीले आलु, प्याज, गोलभेडा र च्याउ खेती तथा फलफूल खेती गरेर आयआर्जन गर्न थालेको उहाँले बताउनुभयो ।

शिक्षालयमा अहिले कृषि बाली विज्ञान र पशु विज्ञान कार्यक्रमअन्तर्गत पढाइ हुँदै आएको छ । आचार्यले भन्नुभयो, “हाल शिक्षालयमा एक सय २४ विद्यार्थी अध्ययनरत छन्, उनीहरुले पढ्दै कमाउँदै गर्न थालेका छन् ।” बोलेर भन्दा पनि गरेर खान सिकाउने उद्देश्यले शिक्षालयमा सिक, कमाउ र तिर’ कार्यक्रम चालु आर्थिक वर्षदेखि सुरु भएको हो ।

गत वर्ष मङ्सिरदेखि शिक्षालयमा सिक, कमाउ र तिर कार्यक्रम लागू भएको हो । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यान्व्यन इकाइ गोरखा र शिक्षालयको साझेदारीमा शिक्षालयअन्तर्गत टनेल निर्माण गरिएको छ । उहाँले भन्नुभयो, ‘अहिले एउटामा गोलभेँडा उत्पादन भइरहेको छ । अर्कोमा बोडी उत्पादन गरी बिक्री गर्न थालिएको छ ।”

शिक्षालयमा विद्यार्थी आफैले पनि टनेल निर्माण गरी काँक्रो, लौका, फर्सी, घिरौला, करेलालगायत तरकारी उत्पादन गरी बिक्री गरिरहेको उहाँले बताउनुभयो । “विद्यार्थी आफैले च्याउ उत्पादन गर्दै आएका छन्”, प्रमुख प्रशासकीय अधिकृत आर्चायले भन्नुभयो, “कुखुरापालन गरी मासु बिक्री गर्ने गरिएको छ ।” कार्यक्रमअन्तर्गत नै गाउँपालिकाले भाडामा उपलब्ध गराएको करिब २३ रोपनी जमिनमध्ये १३ रोपनीमा रोपाइँ गरिएको छ । बाँकी जमिनमा छिट्टै रोपाईँ गर्ने तयारी विद्यार्थीले गरिरहेका छन् ।
गाउँपालिकाले यही साउनदेखि लागू हुनेगरी १० वर्षका लागि २३ रोपनी खेतीयोग्य जमिन शिक्षालयलाई भाडामा उपलब्ध गराएको हो । भैसी गोठ निर्माण तथा तारवार लगाउन गाउँपालिकाले आगामी आर्थिक वर्षमा सहयोग गर्ने प्रतिबद्धता जनाएको छ । उहाँले भन्नुभयो, “उत्पादनबाट गरिने आम्दानीको ८० प्रतिशत विद्यार्थी र २० प्रतिशत शिक्षालयले लिने गरेका छन् ।”

गाउँपालिकाले शिक्षालयमा आगामी आर्थिक वर्ष २०८०÷८१ मा माछापालन गर्ने, खोर निर्माण गरी बाख्रा तथा भेडापालन सुरु गर्ने, भैँसीको गोठ निर्माण गरी गाईभँैसीपालन गरी दुग्ध उद्योग सुरु गर्ने योजना बनाएको छ । शिक्षालयमा लेयर्स जातको कुखुराको पालन गरी अण्डा उत्पादन, बुंगुरको खोर निर्माण गरी बंगुरपालन, च्याउको आधुनीक घर निर्माण गरी बाह्रै महिना च्याउ उत्पादन, नर्सरीबाट विभिन्न फलफुल, तरकारी तथा डाले घाँसका बिरुवा उत्पादन गरी बिक्री वितरण गर्ने लक्ष्य रहेको रहेको प्रमुख प्रशासकीय अधिकृत आर्चायले जानकारी दिनभयो ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?