घरेलु मदिरा ‘ब्रान्डिङ’ गर्दै मानेभञ्ज्याङ

ओखलढुङ्गा: ओखलढुङ्गाको मानेभञ्ज्याङ गाउँपालिकाले घरेलु मदिरालाई ‘ब्रान्डिङ’ गर्ने भएको छ । गाउँपालिकाले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा घरेलु मदिरालाई ब्रान्डिङ गर्ने कार्यक्रम ल्याएको छ ।

घरेलु लोकल रक्सीको बजारीकरणका लागि कानुन निर्माण गर्दै यसलाई ब्रान्डिङ गर्ने नीति तथा कार्यक्रम ल्याइएको गाउँपालिका अध्यक्ष ज्ञानेन्द्र रुम्दालीले बताउनुभयो । घरेलु मदिरालाई ‘ब्यान्ड (प्रतिबन्ध) होइन ब्रान्ड’ बनाइनुपर्ने अवधारणाअनुसार आर्थिक वर्ष २०८०/८१ को वार्षिक नीति तथा कार्यक्रममा मौलिक संस्कृति तथा परम्परागत सीपसँग जोडिएका घरेलु उत्पादनको स्तरीकरण, ब्रान्डिङ गर्ने योजना समावेश गरिएको गाउँपालिका अध्यक्ष रुम्दालीको भनाइ छ ।

नेपाली मौलिक सीप र कौशल प्रयोग गर्दै स्थानीय कच्चापदार्थ कोदोबाट घरेलु मदिराको उत्पादन र उपभोग भइरहेको परिप्रेक्ष्यमा यस्ता उत्पादनलाई प्रोत्साहन गर्दै बजारीकरण गरेको खण्डमा कृषि उत्पादन वृद्धि, रोजगारी सृजना, गरिबी न्यूनीकरण, आयात प्रतिस्थापन तथा निर्यात प्रवर्द्धन गर्न सकिने विश्वास लिइएको छ । अर्थतन्त्रमा समेत सकारात्मक प्रभाव पार्ने सम्भावनालाई दृष्टिगत गर्दै लोकल रक्सीलाई स्तरोन्नति गरी ब्रान्डिङ गर्ने योजना बनाइएको अध्यक्ष रुम्दालीले बताउनुभयो ।

“घरेलु उत्पादनलाई प्रवर्द्धन गर्दै समृद्धिसँग जोड्ने र रोजगारी सिर्जना गर्ने लक्ष्यअनुसार लोकल रक्सीलाई ‘ब्रान्ड’ बनाउने नीति अघि सारिएको हो”, अध्यक्ष रुम्दालीले भन्नुभयो, “स्थानीयवासीको आर्थिक अवस्था सुधार्न पनि यसले निकै मद्दत पुग्छ । जनजातिको बाहुल्यता रहेकाले यहाँ यो नीति कार्यान्वयनमा समस्या हुँदैन ।”

राष्ट्रिय तथा प्रादेशिकस्तरमा लोकल रक्सीको ब्रान्डिङका सवालहरु उठे पनि ठोस काम हुन नसकेको अवस्थामा मानेभञ्ज्याङले आफैँ नीति ल्याएर काम थाल्ने भएको हो । घरेलु मदिरालाई ब्रान्डिङ, बजारीकरण तथा प्रवर्द्धन गर्ने नीति तथ कार्यक्रम ल्याए पनि गाउँपालकाले अनुमति बिना मदिरा बिक्री वितरणमा भने रोक लगाउने भएको छ । मानेभञ्ज्याङ गाउँपालिकाले सुर्ती र गाँजा खेतीलाई समेत प्रवर्द्धन गर्ने नीति ल्याएको छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?