भकारो सुधारले उत्पादन वृद्धि

किसानलाई भैँसी

बलेवा:बागलुङको गलकोट नगरपालिका–९ रिस्मीका पुरुषोत्तम सापकोटाको गोठ अहिले चिटिक्क देखिन्छ । भकारो सुधारका कारण छ गोठमा बाँधेका भैँसी पनि पुष्ट देखिन्छन् । खेती किसानी गरेर परिवार पाल्दै आउनुभएका उहाँले बस्तुभाउ पाल्न थालेको पनि धेरै भयो । बाउबाजेका पालादेखि नै सापकोटाको परिवार कृषिमा निर्भर थियो । खेतीपातीसँगै बस्तुभाउ पाल्दै आउनुभएका उहाँहरुलाई थाहा थिएन कि भकारो सुधार पनि गर्न सकिन्छ भनेर ।

भेटेरीनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्रले सहयोग गरेपछि उहाँको गोठको स्वरुप नै फेरियो । गोबरमै लत्पतिने भैँसी अहिले चम्किला देखिन्छन् । घरकै आँगनमा डङ्गुर देखिने भकारो अहिले उहाँको मात्रै होइन रिस्मी गाउँका तीस किसानको पनि भकारो व्यवस्थित भएको छ ।

भकारो सुधार भएसँगै गोबर मल र भैँसीको मूत्र सङ्कलनमा पनि सहज भएको छ । किसानले खेर गइरहेको मलमूत्र बालीमा प्रयोग गर्ने गरेकाले उत्पादन पनि वृद्धि भएको छ । भकारो सुधारका लागि भेटेरीनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्दले गलकोट कृषि सहकारी संस्थामार्फत् रु आठ लाख अनुदान उपलव्ध गराएको थियो ।
केन्द्रले ३० किसानका लागि रु २५ हजारका दरले रु सात लाख ५० हजार भकारो सुधारमा खर्चेको थियो।

बाँकी रहेको रु ५० हजारबाट दूध बोक्ने भाँडा खरिद गरिएको थियो । “यो हामी आफैले गर्नुपर्ने काम थियो, सरकारले सानो भए पनि सहयोग गरेर बाटो देखाइदियो,” सापकोटाले भन्नुभयो “अनुदानको मात्रै भर परेनौँ, किसान आँफैले पनि लगानी थपेर गोठ पक्की गरेका हौँ ।” यो गाउँमा ४८ किसानको बसोबास छ । सहकारीमा आवद्ध किसानले दोस्रो चरणमा भकारो सुधार गर्दैछन् ।

भकारो सुधार भएसँगै किसानले पालेका वस्तुभाउमा रोगको सङ्क्रमण कम हुन उक्त केन्द्रका प्रमुख डा ऋषिराम सापकोटाले बताउनुभयो । हिलोभन्दा ओभानो भकारोमा बसेको बस्तुको दूध पनि बढी दिने उहाँको भनाइ थियोे । ‘मलमूत्रको उपयोगका साथै भकारो सुधारले पशु स्वस्थ्य र सुन्दर हुनाका साथै कृषि उत्पादनका लागिसमेत सहयोगी बनेको छ,’ केन्द्रका प्रमुख डा.सापकोटाले भन्नुभयो, “स्थानीय जातको भैँसी संरक्षण कार्यक्रमअन्तर्गत हामीले रिश्मीका किसानलाई सहयोग गरेका हौँ ।” भकारो सुधारले स्वस्थ दूध उत्पादनमा सहयोग गर्ने उहाँले बताउनुभयो । यहाँका किसानले गोबर मलको सुरक्षाका लागि जस्ताको छानो हालेका छन् ।

पशुमूत्र उपयोगका लागि स–साना पक्की पोखरी छन् । गत वर्ष यो गाउँबाट मात्रै रु ४७ लाखको दूध बिक्री भएको थियो । यो वर्ष पनि दूधको उत्पादन बढ्ने र किसानले गत वर्षभन्दा मूल्य पनि बढी पाउने आशा गरेका छन् । यहाँका किसानले दूध भण्डारका लागि संरचना बनाउने कामसमेत थालेका छन् ।

हिउँद र बर्खा दुवैयाममा घाँस पर्याप्त रहने भएकाले किसानालई पशुजन्य उत्पादन लिन सहज रहेको स्थानीयवासी नारायण सापकोटाले बताउनुभयो । “हरेक गोठमा एक÷दुई वटाभैँसी छन् । हरेक परिवारले धेरै थोरै दूध बिक्री गर्दै आएका पनि छन् । यहाँ अधिकांश स्थानीय जातका भैँसी पालेको देखियो, स्थानीय जातका भैँसीको दूधलाई ब्राण्डिङ गरेर अन्य भंँैसी र गाईको भन्दा मूल्य धेरै पार्नुपर्छ,” प्रमुख डा. सापकोटाले भन्नुभयो,“किसानका लागि सहयोग गर्न हामी तयार छौँ ।”

0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?