काभ्रेमा लम्पी स्किन रोकथामका लागि खोप अभियान

धुलिखेल: लम्पी स्किन रोगको सङ्क्रमणबाट पशु मर्न थालेपछि काभ्रेपलाञ्चोकका स्थानीय तहले खोप अभियान सुरु गरेका छन् । सङ्क्रमण भएका गाईवस्तुलाई औषधि उपचारसँगै निःशुल्क रुपमा खोप अभियान सञ्चालन गरिएको हो ।

बेथानचोक गाउँपालिकाले सङ्क्रमण फैलिन नदिन निःशुल्क खोप अभियान सुरु गरेको गाउँपालिका अध्यक्ष भगवान अधिकारीले जानकारी दिनुभयो । “विशेष गरी लम्पी स्किन सङ्क्रमणबाट गाई मर्न थालेको जानकारी पाएपछि पशु प्राविधिक खटाएर खोप लगाउन अनुरोध गरेका थियौँ”, उहाँले भन्नुभयो, “त्यसले नधान्ने अवस्था भएपछि तत्काल विपद् कोषबाट बजेट व्यवस्थापन गरी निःशुल्क खोप लगाउने काम गरिरहेका छौँ ।” यस गाउँपालिकामा मात्रै हालसम्म लम्पी स्किनको सङ्क्रमणबाट २१ वटा गाई मरेका छन् ।

पालिकाका ६ वटा वडामध्ये १ र ६ मा अभियान सञ्चालन भइरहेको र अन्य वडामा सम्पन्न भइसकेको पालिकाले जनाएको छ । पालिकाले सुरुमा पाँच सय डोज खोप खरिद गरेकोमा अपुग भएपछि थप एक हजार पाँच सय डोज खरिद गरिएको अध्यक्ष अधिकारीले जानकारी दिनुभयो ।

बनेपा नगरपालिका प्रमुख शान्तिरत्न शाक्यले दैनिकजसो लम्पी स्किन रोग नियन्त्रणका लागि छलफल भइरहेको भन्दै उपायको खोजीमा किसानलाई साथ दिँदै आएको बताउनुभयो । नगरपालिकाले वडा नं १ र २ बाट खोप अभियान सुरु गरिसकेको जनाएको छ । नगरपालिकाले निःशुल्क रुपमा खोप र औषधि वडा वडामा पठाइसकेकाले किसानलाई आफ्नो वडाको पशु प्राविधिकलाई सम्पर्क गरेर सेवा लिन नगरपालिकाले आग्रह गरेको छ ।

यो रोगको सङ्क्रमणबाट हालसम्म बनेपा नगरपालिकाको वडा नंं १ मा २१ वटा, वडा नं २ नम्बरमा ३० वटा गाई र वडा नं ३ नम्बरमा ३६ वटा पशु मरेको विवरण नगर प्रमुख शाक्यले जानकारी दिनुभयो । बाँकी वडामा पनि विवरण सङ्कलन गरिसकेपछि थप कसरी अगाडि बढ्ने भन्ने विषयमा नगरपालिकाले योजना बनाउने उहाँको भनाइ छ । नगरपालिका अन्तर्गतका करिब सात हजार छ सय गाईमा लम्पी स्किन रोग सङ्क्रमण भएको नगरपालिकाको भनाइ छ ।

पाँचखाल नगरपालिकाले भने खोप लगाउनका लागि ५० प्रतिशत अनुदानमा दिने जनाएको छ । नगरपालिकाले सूचना जारी गरी पशुपालक किसानकोसमेत सहभागिता गराउने गरी खोपमा ५० प्रतिशत अनुदान उपलब्ध गराउने बताएको छ । नगरपालिकाले पशु प्राविधिकलाई किसानले नै सेवा शुल्क उपलब्ध गराउन भनेको छ ।

पहिलो चरणमा खरिद गरिएको खोप अपुग भएपछि थप खोप खरिदका लागि नगरको स्रोत कम भएकाले किसानलाई ५० प्रतिशत मात्रै अनुदान दिइएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिृकत सूर्यप्रसाद गौतमले बताउनुभयो ।

खोप लगाउन प्राविधिक जनशक्ति कम हुँदा निजीस्तरको पशु प्राविधिकलाई साथ लिनुपर्ने अवस्था आएको र एउटा पशुलाई खोप लगाउन तिर्नुपर्ने रु ५० पनि पशुपालक किसानले नै बेहोर्नुपर्ने नगरपालिकाको भनाइ छ ।

रोशी गाउँपालिकामा पनि खोप अभियान सञ्चालन भइरहेको छ । यसअघि पनि खोप चलाइसकेको गाउँपालिकाले पछिल्लो चरणमा नौ सय ५० गाईवस्तुका लागि निःशुल्क खोप उपलब्ध गराएको गाउँपालिका अन्तर्गतको पशुपक्षी शाखाका प्राविधिक सहायक रघुनी शाहले बताउनुभयो ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?