खाद्यान्नमा आत्मनिर्भर नहुँदा बाहिरबाट आयात गर्नुपर्ने अवस्था

लकडाउन लम्बिँदै जाँदा नेपालगञ्जमा अत्यावश्यक वस्तुको मूल्यवृद्धि

मध्यविन्दु: नवलपरासी (बर्दघाट सुस्तापूर्व) कृषिमा आत्मनिर्भर नहुँदा बाहिरबाट खाद्यान्न आयात गर्नुपरेको छ । उत्पादित खाद्यान्नले जिल्लावासीलाई नै खान पुग्दैन ।

जिल्लामा रहेका आठवटै पालिकाले कृषिलाई प्राथमिकतामा राखे पनि जिल्लावासीलाई खान पुग्ने अन्नबालीसमेत जिल्लामै उत्पादन हुन नसकेको तथ्याङ्क देखिएको छ  । जिल्लामा उत्पादित खाद्यान्न अपुग भएपछि बाह्य क्षेत्रबाट खरिद गर्नुपर्ने अवस्था छ । जिल्लामा मुख्यगरी धान, गहुँ, मकै, कोदो, जौँ र फापरको उत्पादन हुँदै आएको छ । कृषि ज्ञान केन्द्र नवलपुरका प्रमुख गोपाल लामिछानेका अनुसार जिल्लामा उत्पादित खाद्यान्न बालीले जिल्लालाई नै थेग्न सक्दैन ।

प्रतिव्यक्ति प्रतिवर्ष एक सय ८१ किलोग्राम खाद्यान्न आवश्यक पर्छ । केन्द्रको तथ्याङ्कअनुसार आर्थिक वर्ष २०७९/८० मा धान, गहुँ, मकै, कोदो, जौँ र फापर गरी खानयोग्य ६२ हजार ४५ मेट्रिक टन खाद्यबाली उत्पादन भएको प्रमुख लामिछानेले बताए ।

कृषि खाद्यान्न बालीमा आत्मनिर्भर हुनका लागि जिल्लामा एक वर्षमा ६८ हजार नौ सय ८० मेट्रिक टन आवश्यक पर्छ । जिल्लामा बसोबास गर्ने तीन लाख ८१ हजार एक सय पाँच जनसङ्ख्यालाई यहाँको उत्पादनले नपुग्ने गरेको उनले बताए ।

“जिल्लामा आव २०७९/८० मा ८३ हजार एक सय २७ मेट्रिक टन धान उत्पादन भएको थियो, त्यसमा खानका लागि योग्य धान ४२ हजार ९९ दशमलव ६४ मेट्रिक टन रहेको छ”, उनले भने, “उत्पादित धानमध्ये एक हजार एक दशमलव नौ मेट्रिक टन बीउको रुपमा प्रयोग भएको छ, पशुपक्षी आहारमा आठ सय ५९ मेट्रिक टन धान प्रयोग हुने गरेको छ ।”

त्यस्तै गहुँ २१ हजार दुई सय १८ मेट्रिक टन उत्पादन भएकामा खानका लागि योग्य १४ हजार चार सय ४९ मेट्रिक टन मात्र रहेको कृषि ज्ञान केन्द्र नवलपुरका सूचना अधिकारी शङ्कर पौडेलले बताए । “उत्पादितमध्ये दुई सय ९४ मेट्रिक टन पशुपक्षीको आहारका रूपमा प्रयोग हुने गरेकोे छ, बीउको रुपमा आठ सय ९३ मेट्रिक टन प्रयोग हुने गरेको छ”, उनले भने, “मकै १३ हजार पाँच सय २० मेट्रिक टन उत्पादन भएको थियो, त्यसमा खानका लागि योग्य मकै पाँच हजार आठ सय ४७ मेट्रिक टन रहेको छ, उत्पादित मकैमध्ये बीउका लागि एक सय ३७ मेट्रिक टन प्रयोग हुने गरेको छ, त्यस्तै पशुपक्षी आहारमा तीन हजार नौ सय ९८ मेट्रिक टन मकै प्रयोग हुने गरेको छ ।”

जिल्लामा कोदो उत्पादन निकै कम हुने गरेको छ । अघिल्लो आवमा दुई सय ८५ मेट्रिक टन कोदो उत्पादन हुँदा १० प्रतिशतमात्रै भण्डारण गरिने गरेको र अझै १४ दशमलव ३८ मेट्रिक टन अपुग हुने गरेको कृषि ज्ञान केन्द्रका प्रमुख लामिछानेले बताए । फापरको उत्पादन ९५ मेट्रिक टन हुँदा खानका लागि योग्य फापर २३ मेट्रिक टन रहेको छ भने जिल्लामा जौँ खेती भने हुन छाडेको उनले बताए ।

जिल्लामा दलहन र तेलहन बाली पनि अपुग हुने गरेको प्रमुख लामिछानेले बताए । “दलहन बाली उत्पादन कम हुँदा आव २०७९/८० मा चार हजार नौ सय आठ हेक्टर क्षेत्रफलमा दलहन खेती गरिएको थियो”, उनले भने, “त्यसमा उत्पादन पाँच हजार पाँच सय २६ मेट्रिक टन रहेको छ, उत्पादनमध्ये खानका लागि योग्य दलहन चार हजार आठ सय पाँच दशमलव ५३ मेट्रिक टन रहेको छ ।” तथ्याङ्कअनुसार जिल्लामा ६१ दशमलव ७९ मेट्रिक टन दलहनको कमी रहेको छ । त्यस्तै जिल्लामा तेलहनको उत्पादन पनि दुई हजार चार सय ४६ दशमलव ५२ मेट्रिक टन कम हुने गरेको प्रमुख लामिछानेले बताए । रासस

0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?