सुत्केरी गाईभैँसीलाई नगद दुई हजार रुपियाँका दरले भत्ता वितरण
सिन्धुलीमाढी: सिन्धुलीको कमलामाई नगरपालिकाले एक वर्षमा ७५० वटा ब्याएका गाईभैँसीलाई सुत्केरी भत्ता वितरण गरेको छ ।
नगरपालिकाले गत आर्थिक वर्ष ०७९/०८० मा पौष्टिक आहारा स्वरूप ब्याएका गाईभैँसीलाई उक्त भत्ता वितरण गरेको हो ।
नगरपालिकाले सुत्केरी खाद्यान्न सहयोग स्वरूप ब्याएका गाईभैँसीलाई नगद दुई हजार रुपियाँका दरले उक्त सहयोग गरेको नगरपालिकाले जनाएको छ ।
एक वर्षमा नगर क्षेत्रभित्र ब्याएका ४६९ वटा भैँसी र २८१ वटा गाईलाई सुत्केरी भत्ता वितरण गरेको नगरपालिकाका पशु विकास शाखाका प्राविधिक मीनबहादुर थापाले जानकारी दिनुभयो । उहाँका अनुसार ब्याएका गाईभैँसीलाई भत्ता स्वरूप एक वर्षमा १५ लाख रुपियाँ पशु धनीलाई वितरण भएको छ ।
