भारतीय बजारमा नेपालको गोलभेँडाको माग उच्च

भैरहवा:  भारत सरकारले नेपाली टमाटरको आयातमा अनुमति दिएसँगै भैरहवा भन्सार हुँदै नेपालको गोलभेँडा भारतीय बजारमा पुग्न थालेको छ ।

भैरहवा नाकाबाट नेपाली गोलभेँडा आधिकारिक रूपमा भारत निकासी भएको यो नै पहिलो पटक हो । डायमन्ड इन्टरनेसनल सिद्धार्थनगरले नेपाली गोलभेँडा भारत उत्तर प्रदेशको त्रिसागर फर्मर प्रोड्युसर कम्पनी लिमिटेडलाई उपलब्ध गराई निर्यातको सुरुवात गरेको हो । 

नेपाली टमाटर भारत निकासी हुँदा सीमावर्ती भारतको भन्सारमा बिनामहसुल निकासी हुने गरेको छ । नेपाली भन्सारमा पनि यसको निकासीमा कुनै शुल्क लाग्दैन ।

डायमन्ड इन्टरनेसनल सिद्धार्थनगरका सञ्चालक सोनु खानले भैरहवामा आउने गरेको सल्यानको कपुरकोटमा उत्पादित नेपाली गोलभेँडा भैरहवादेखि भारत निकासी गरिएको बताउनुभयो । “भारतबाट माग भए अनुरूप नेपाली गोलभेँडा उपलब्ध गराउनै सकिएको छैन,” खानले भन्नुभयो, “यति बेला लखनउ, गोरखपुरका व्यापारीले नेपाली गोलभेँडाको माग गरेका छन् तर माग गरे अनुरूप उपलब्ध गराउन सकिएको छैन ।”

उहाँका अनुसार नेपाली गोलभेँडा भारतमा भारु एक सय रुपियाँमा बिक्री हुने गरेको छ । यसअघि भारतले नेपालबाट आयात गर्न प्रतिबन्ध लगाएको सूचीमा गोलभेँडा पनि समावेश गरेको थियो । भारतमा गोलभेँडाको अभाव र आयातमा प्रतिबन्ध रहेको अवस्थामा महँगोमा बिक्री हुने भएकाले सीमावर्ती नेपालबाट अवैध तरिकाबाट नेपाली गोलभेँडा भारत जाने गर्दथ्यो ।

भैरहवा भन्सार कार्यालयका अनुसार गत साउन २८ गतेदेखि नेपाली गोलभेँडा भैरहवा नाकाबाट भारत जान थालेको हो । भैरहवा भन्सार कार्यालयका सूचना अधिकृत युवराज भट्टराईले एक सातामा भैरहवा नाकाबाट तीन पटक गरेर सात मेट्रिक टन नेपाली गोलभेँडा भारत निकासी भएको बताउनुभयो । 

नेपाली गोलभेँडा भारत निकासी हुँदा सीमानाकामा रहेको नेपाली क्वारेन्टाइन कार्यालयबाट रोग, किरा नभएको प्रमाणित गर्नुपर्ने प्रावधान छ । “यस नाकाबाट औपचारिक रूपमा नेपाली गोलभेँडा भारत निकासी हुन थालेको यो पहिलो पटक हो,” प्लान्ट क्वारेन्टाइन बेलहिया रुपन्देहीका प्रमुख कुलदीप घिमिरेले भन्नुभयो ।

केही दिनअगाडि दुई वटा पिकअप गाडीमा नेपाली गोलभेँडा अवैध रूपमा भारत आयात भएको विषयलाई लिएर केही भारतीय कर्मचारीमाथि त्यहाँको सरकारले कारबाही गरेको थियो ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments